दसैंमा घर जानेहरूको यात्रा सहज हुन्छ कि बाटोका कारण सास्ती झेल्नु पर्छ?



शुक्र गिरी
२०८१ भदौ ३१ गते ०९:२४ | Sep 16, 2024
दसैंमा घर जानेहरूको यात्रा सहज हुन्छ कि बाटोका कारण सास्ती झेल्नु पर्छ?

काठमाडौं। मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका आइ विभिन्न पेसा व्यवसाय गरी बसेकाहरूको दसैंताकाको साझा चिन्ता हो- घर कसरी जाने? बाटो कस्तो होला? गाडीको टिकट भनेजस्तो पाइन्छ/पाइँदैन? सडकका कारण गाडी चल्छ/चल्दैन?

Tata
GBIME
Zonsen

वर्षाले मुलुकका प्रमुख राजमार्ग मात्रै नभइ सहायक र शाखा सडकहरू पनि थिलथिलो बनाएको छ। अझ सडक विस्तार गर्ने भनेर भत्काइएका ठूला राजमार्ग बिजोग अवस्थामा छाडिएका छन्। राजमार्ग हुँदै यात्रा गर्नेहरूले ठूलै समस्या भोग्नु परेको छ। बिग्रिएका सडककै कारण सवारी दुर्घटना भइरहेका छन्। त्यसैले दसैंमा घर जाने योजना बनाएका सर्वसाधारणमा सरकारले बाटो मर्मत गर्छ कि गर्दैन भन्ने चासो छ।

सरकारले सर्वसाधारणको यात्रा सहज बनाउन आवश्यकताअनुसार सडक मर्मतको काम सुरु गरेको भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा बताउँछन्। ‘अहिले पनि काम भइरहेको छ। ठेक्का लगाउने ठाउँमा ठेक्का लगाएर काम भइरहेको छ। अहिले पानी नपर्दा काम गर्ने गरिएको छ। यो हप्ता त्यसको केही रिजल्ट आउँछ,’ उनले भने।

उनले बाटो राम्रो बनाउन सडक डिभिजन, आयोजना, हेभी इक्विपमेन्ट विभागलगायतलाई निर्देशन दिएको जानकारी दिए। ‘सडक बोर्डले पनि बजेट व्यवस्थापन गरेर वर्षाले बिगारेका सडक अहिले मर्मत गर्न सुरु गरेको छ,’ उनले भने।

असोज १७ गते घटास्थापना भएकाले त्यो भन्दा अगाडि सबै सडक मर्मत गरेर सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको उनी बताउँछन्।   

यो वर्ष बाढी पहिरोले ३५ वटा ठूला राजमार्ग क्षतिग्रस्त बन्न पुगे। ५९५ स्थानमा सडक बिग्रिन पुग्यो। ३०७ स्थानमा अझै पनि एकतर्फीरुपमा मात्रै यातायात सेवा चलेको छ। १३ स्थानमा बाटो अवरुद्ध नै छ। ६ वटा पुलमा क्षति भएको छ।

अहिले बन्द रहेका सडकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सडक विभागको सम्भार महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए। 

‘विभाग अन्तर्गतका मुख्य राजमार्ग मर्मत गर्न ठेक्का लगाउन लगाउने काम सम्पन्न भएको छ। यस्तै बाटो बन्द भएका स्थानमा स्ट्यान्ड बाई रहेका म्यानपावरले काम गरिरहेका छन्,’ उनले भने, ‘काम गर्न बजेट अभाव छैन। बरु म्यानपावरको अभाव हुन सक्छ। सबै डिभिजन, आयोजना र स्थानीय तहलाई कामदार बढाउन परिपत्र गरिएको छ।’

विभागले क्षतिको अवस्था यकिन गरेर प्राथमिकता निर्धारण गरेको छ। ‘हामीले अहिले दुई वटा विकल्पमा काम गरिरहेका छौं। इमर्जेन्सीका लागि इक्विपमेन्टसहित म्यानपावर खटाइएको छ। जसले बाढी पहिरो आए तत्काल सडक संचालन गर्न काम गर्छन्,’ उनले भने, ‘यस्तै बिग्रेका सडक मर्मत गर्न अलग्गै व्यवस्था मिलाइएको छ।’

मर्मत असोज १० सम्म

संघीय सरकार मातहत ५ हजार किलोमिटर सडक मर्मतको काम अघि बढेको छ। यसका लागि करिब ५ अर्ब ६२ करोड रुपैयाँ बजेट छुट्याइएको सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए।

उनका अनुसार तत्कालका लागि १ अर्ब ८६ करोड रुपैयाँ बजेट निकासा भइसकेको छ। ‘हामीले सम्बन्धित निकाय सबैलाई सडक असोज १० सम्म मर्मत सम्भार सम्पन्न गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘हामीले बजेट पनि निकासा गरिसकेका छौं। दसैं अगाडि नै खाल्डाखुल्डी पुर्न निर्देशन गरिएको छ।’

सडक डिभिजन काठमाडौंका इन्जिनियर महानन्द जोशीले उपत्यकाका सबै सडक असोज पहिलो हप्तासम्म मर्मत गर्ने गरी काम भइरहेको बताए।

‘दसैंलाई लक्षित गर्दै मर्मत सम्भारको काम अहिले भइरहेको छ। उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले नागढुंगा, कलंकी, साँखु-जोरपाटी, सोह्रखुट्टे-लैनचौर जस्ता सडक मर्मत गर्ने काम भइरहेको छ।’ 

उनका अनुसार नयाँ बजार र कमलादीमा सडक मर्मत गर्न ठेक्का लगाइएको छ। पानी लिकेज भएका स्थानमा भने खानेपानीले काम गरेपछि मात्रै आफूहरूले काम गर्न मिल्ने उनको भनाइ छ।

त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुंगा खण्डको सुरुङमार्गमा खसेको लेदोसहितको पहिरोमा फसेको स्कर्पियो । तस्बिर : शंकर श्रेष्ठ/रासस

कुन सडक कस्तो अवस्थामा ? 

अहिले बझाङको खोड्पे-चैनपुर सडकको बालुवाटार र जलेबगर, तमोर करिडोरको चतरा पुलदेखि बराहक्षेत्रसम्म, सुर्खेत तल्लो जुम्ला सडकमा पर्ने कालिकोट हुल्म, मदन भण्डारी राजमार्गको सल्यानमा पर्ने जलुखोला, साँफेबगर-मार्तडी कोल्टीमा पर्ने बाजुराको बल्दे, कर्णाली राजमार्गमा हुम्लाको खच्चा, साँफेबगर-बाजुराको बल्दे र घट्टेखोलामा सडक बन्द अवस्थामा छन्।

पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर-चित्रे, सिलसिले, ओयाम, रिजालभीर, सेरेजा र बानियाँडाँडामा एकतर्फी रुपमा सडक संचालन भइरहेको छ।

साँफेबगर-मार्तडी-कोल्टीको अछाममा बुडाबगर राक्सेमा, तानसेन-रिडी-कोरला मुस्ताङको घासबगर खहरे खोला, म्याग्दीको रुप्से झरना, पुष्पलाल राजमार्गको उदयपुरमा घुर्मी, बिपी राजमार्गको बर्दिबास-सिन्धुली-खुर्कोट-धुलिखेलअन्तर्गत काभ्रेको कालढुंगा, कालीगण्डकी करिडोर स्याङ्ग्जाको जोगिमारा, तानसेन-रिडी-कोरला-गुल्मी खण्डमा बरत्वा, साँफेबगर-मार्तडी-कोल्टी अछाम खण्डमा बुढाबगर, पुष्पलाल राजमार्गको पाँचथर दारिम्बामा सडक एकतर्फी रुपमा संचालनमा छन्। 

यसैगरी अरनिको राजमार्गको काठमाडौं-धुलिखेल, दोलालघाट, खाडीचौर-कोदारी सिन्धुपाल्चोकमा पर्ने जुरे, तानसेन रिडी कोरलामा पर्ने म्याग्दीको बैसरी, सिरुबारी तथा औनुबगर, पुष्पलाल राजमार्गको बागलुङ खण्डमा दरमखोला-गल्कोट, बाँसखोला गल्कोट, गल्याङ, बडागाउँ, दरबार, भालुपाइले गल्कोट, उल्लोखोला, काउछै गल्कोट, गाइघाट तथा घोडाबाँधेमा अहिले एकतर्फी रुपमा मात्रै सडक संचालनमा छन्।

साथै तानसेन-रिडी-कोरलाअन्तर्गतको गुल्मी खण्डमा पर्ने राक्से, मूल्का, कनोटा तथा बरत्वा, म्याग्दीको गुकेपानी, पर्वतको लस्ति, गुल्मीको कनौटा र उर्लेनी, म्याग्दीको सिरुबारी, बैसेरी, राक्से बरत्वा, गुल्मीको अर्बेनी, म्याग्दीको गुँइठे तथा रुप्से सडक अहिले पनि एकतर्फी रुपमा मात्रै संचालन भइरहेका छन्।

साँफेबगर मार्तडी कोल्टी अन्तर्गतको बाजुरा रिला, तानसेन रिडी कोरला सडकको म्याग्दीमा पर्ने नौनेबगर, सिद्धार्थ राजमार्गमा पर्ने बेलहिया-भैरहवा-बुटवल-पोखरा अन्तर्गतको पाल्पा कालीमाटी र बर्तुङ, बर्तुंङ-तानसेन-रिडी-बामीटक्सार-खर्वाङ, पाल्पाको अर्गेली, मालमुल, अरनिको राजमार्गको सिन्धुपाल्चोक ११० किलो, कोदारी तथा उदयपुरको घुर्मी सडकमा अहिले पनि सवारी आवागमन एकतर्फी रुपमा संचालनमा छ।

पुष्पलाल राजमार्गमा पर्ने बागलुङको खर्बाङ, खुर्कोट-मन्थलीमा पर्ने रामेछापको सेलेघाट, कर्णाली राजमार्गको कालीकोटमा पर्ने गगनखोला, छेका, झाम्लाखोला तथा हुल्म, तौलिहवा-गोरुसिंगे-सन्धिखर्कमा पर्ने अर्घाखाँचीको नरपानी/फुदबाग, कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबास,  मदनभण्डारी राजमार्गको पाल्पामा पीपलडाँडा, भेडेटार-रबि-राँके सडकको धनकुटामा पर्ने ओख्रे, पुष्पलालको खोटाङमा पर्ने छापडाँडा, मुस्ताङमा पर्ने मार्फा खोला, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन पोखरा खण्डको धादिङ जुवाङ खोला,  कर्णाली राजमार्गको दैलेखमा बार्बरेभिर, कालीकोटमा मोफ्ला बजार, तनहुँ खण्डमा अहिले पनि सडक एकतर्फी संचालनमा आएका छन्।  

पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको चोरखोला, भेरी करिडोरको जाजरकोट रादिज्युला पारी, राडीबजार जोड्ने झोलुंगे पुल, चमेखेत तथा छेपेका, पश्चिम रुकुमको चिसापानी रिठाखोला तथा भलमा खोला, अरिनिको राजमार्गको सिन्धुपाल्चोक खग्डल, दाक्लङमा अहिले पनि सडक एकतर्फी रुपमा संचालन भइरहेका छन्।

अन्य सडकहरू भने अहिले दुईतर्फी यातायात संचालन भइरहेका छन्। जसमा मर्मत सम्भारको काम चलिरहेको सडक विभागले जनाएको छ।