काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर ५ रुपैयाँसम्म घटेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर ४ र डिजेलको मूल्य प्रति लिटर ५ रुपैयाँ घटाएको हो।
निगमले भाउ घटाएसँगै पेट्रोलको मूल्य प्रति लिटर १५९ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर १४९ रुपैयाँ कायम भएको छ। यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको भाउ घटाएको निगमका अधिकारीहरुले बताएका छन्।
भारतबाट पेट्रोल र डिजेल दुवैको मूल्य घटेर आएको छ। त्यही कारण निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।
गत वर्ष असोज २८ मा पेट्रोल लिटरमा ११ रुपैयाँ र डिजेल लिटरमा ५ रुपैयाँ घटेको थियो। त्यसयता डिजेलको भाउ प्रति लिटर ५ रुपैयाँ घटेको यसपटक हो। गत साउन ३१ मा पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले सस्तिएको थियो।
पछिल्लो ६ महिनामा अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य २१ प्रतिशतले घटेको छ।