सि-चेक गरेर ल्याइएको एनएसीको जहाजमा कैफियत, उपकरण नहुँदा लोड पेनाल्टीमा उडान 



वसन्तराज उप्रेती
२०८१ भदौ २८ गते २२:४२ | Sep 13, 2024
सि-चेक गरेर ल्याइएको एनएसीको जहाजमा कैफियत, उपकरण नहुँदा लोड पेनाल्टीमा उडान 

काठमाडौं। सि-चेक गरेर अढाई महिनापछि बिहीबार मात्र काठमाडौं ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा जडित पाटपुर्जा नै बिग्रिएको पाइएको छ। केही पाटपुर्जा काम नगर्ने अवस्थाको पाइएसँगै निगमले शुक्रबार रातिको काठमाडौं नारिता ‘लोड पेनाल्टी’मा गर्नुपर्ने भएको छ।

Tata
GBIME
Zonsen

‘जहाज इटलीमा एक महिनासम्म बेवारिसे अवस्थामा थियो। यो क्रममा रेखदेख नहुँदा उपकरणमा समस्या आयो,’ निगमका एक कर्मचारीले भने,’एक्जिट डोरको प्यानल नै बिग्रिएको छ। आज काठमाडौं-नारिता ९० जना यात्रु घटाएर लानुपर्ने अवस्था छ।’ 

२७४ सिट क्षमताको वाइडबडी जहाजले यसअघि नारितामा फुल अकुपेन्सीमा उडान गर्दै आएको थियो। शुक्रबार राति हुने उडानमा १८४ यात्रु लान लागेको उनले जानकारी दिए। 

जहाज बिहीबार काठमाडौं अवतरण गरिए पनि क्यानले विविध समस्या देखाएर ग्राउण्डेड गरेको थियो। केही बाँकी उपकरण शनिबार ल्याउने सर्तमा लोड पेनाल्टी अर्थात् यात्रु संख्या घटाएर उडान गर्न क्यानले अनुमति दिएको निगमका ती कर्मचारीले जानकारी दिए। 

उनका अनुसार ९-एन-एएलवाइ कलसाइनको यो जहाजको एउटा प्यानलमै समस्या देखिएकाले अबको ३ महिनामा पुन: ग्राउन्डेड गर्नुपर्ने अवस्था छ। 

इटलीको एटिटेक एसपीए कम्पनीले यो जहाजको सि-चेक गर्ने ठेक्का लिएको हो। तीन साता अगाडि निगमको अर्को वाइडबडी जहाज ९-एन-एएलजेड कल साइनको जहाज सि-चेकका लागि इटली पठाइसकिएको छ।