लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, यसरी मुछिए सहकारी ठगीमा



अनन्तराज न्यौपाने
२०८१ भदौ २७ गते १९:०३ | Sep 12, 2024
लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, यसरी मुछिए सहकारी ठगीमा

विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा रहेको एक सहकारीउपर नियामक निकायले छानबिन गर्न थालेपछि नेकपा एमालेका सांसद् एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल विवादमा तानिएका छन्।

Tata
GBIME
Zonsen

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रतिष्ठान कार्यालयले धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा छानबिन सुरु गरेपछि पोखरेल विवादमा तानिएका हुन्।

बचतकर्ताको बचत र ऋणीले ऋण तिरेपछि पनि धितो फिर्ता गर्न नसकेपछि यो सहकारी क्रमशः संकटग्रस्त हुँदै गयो। ६ महिनादेखि सहकारी बन्द अवस्थामा छ। सहकारीमा लामो समय पोखरेलकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन्। सहकारीको चेकमा एक समय उनको मात्र हस्ताक्षर चल्थ्यो।

प्रदेश सहकारी रजिस्ट्रार हरि खत्रीले उमागौरी कृषि सहकारीमा कार्यालयले छानबिन सुरु गरेको जानकारी दिए। उनले सहकारी सञ्चालककै कारणले संस्था संकटग्रस्त हुँदै हाल बन्द भएको बताए।

‘सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सम्पर्कमा आइरहनु भएको छैन। सञ्चालक समितिका अन्य सदस्यलाई पनि सम्पर्क गर्न गाह्रो भइरहेको छ। अहिलेलाई यति मात्रै भन्नसक्छु– हामी सघन छानबिनमा लागेका छौं। छानबिन सकिएपछि अन्तर्य बाहिर आउने नै छ,’ उनले भने

ऋषिकेशकै अग्रसरतामा खोलिएको थियो सहकारी

सहकारीका सञ्चालक समितिका एक पूर्वसदस्यका अनुसार ऋषिकेशकै अग्रसरतामा २०६८ मा कर्सिया बजारमा उमागौरी कृषि सहकारी संस्था खुलेको थियो। स्थापनाकालदेखि हालसम्मका अध्यक्ष शम्भु ऋषिकेशकै कार्यकर्ता हुन्।

सहकारीमा ऋषिकेशकी पत्नी अञ्जला स्थापनाकालदेखि २०७५ सालसम्म सञ्चालक समिति सदस्य थिइन्। सञ्चालक समितिमा रहुन्जेल चेकमा अञ्जलाकै हस्ताक्षर चल्थ्यो। त्यसबेला बचत सहकारी दर्ता गर्न पाउने नियम थिएन। त्यसैले कृषि सहकारीका नाममा दर्ता गरियो।

कृषि सहकारी भनेर खोलिए पनि बचतको रकम संकलन गरियो। पछि ऐन संशोधन भएर आएपछि यसको उद्देश्यमा बचत थप गरियो।

ऋषिकेश भने आफू राजनीति गर्ने भन्दै सञ्चालक समितिमा बसेनन्।

ठगीको नौलो प्रयोग

प्रदेश सहकारी कार्यालय स्रोतका अनुसार उमागौरीका अध्यक्ष तथा सञ्चालकले ऋणीलाई ठगी गर्ने नयाँ तरिका प्रयोग गरेको देखिएको छ।

नौलो तरिका कस्तो?

ऋणी ऋण माग्न सहकारीमा पुग्छन्। सहकारीका अध्यक्ष शम्भुले जग्गा धितो लिएर ऋणीलाई ऋण दिने सहमति पनि गर्छन्। तर, ऋणीलाई २ थरी कागजातमा सहीछाप गराउँछन्। एउटा कागज सहकारीकै हुन्छ, अर्को कागज बैंकको।

धितो पनि बैंकमै राख्ने गरी कागज गरिएको हुन्छ। यस्तो कागज बनाएपछि सहकारी सञ्चालक ऋणीको धनीपुर्जा र अन्य सपोर्टिङ कागजात बोकेर बैंक पुग्छन्। धितोका लागि धनीपुर्जा बैंकलाई जिम्मा दिएर ऋणीका नाममा ऋण उठाएर रकम ल्याउँछन्।

तर, गाउँका अशिक्षित ऋणीलाई आफ्ना नाममा बैंकबाट ऋण उठाइएको थाहा हुँदैन। यसपछि सहकारी सञ्चालकले त्यही बैंकबाट ल्याएको रकममध्येबाट सहकारीका नाममा ऋणीलाई ऋण दिन्छन्।

सहकारी सञ्चालकले ऋणीका नाममा बैंकसँग धेरै रकम लिएर ऋणीलाई थोरै दिएको र बाँकी रकम अन्य प्रयोजनमा खर्च गरेको पनि पाइएको छ। कार्यालयले यसमा छानबिन भइरहेको जनाएको छ।

यता ऋणी आफूले सहकारीमा जग्गा धितो राखेर ऋण लिएको बुझाइमा घर फर्कन्छन्। तर, आफ्नो जग्गा धितोको रूपमा बैंकमा पुगेको उनीहरुलाई थाहा हुँदैन।

यसरी सहकारी सञ्चालकको प्रपञ्चलाई स्वीकार गरेर ऋण दिनेमा माछापुच्छ्रे र एक्सल बैंक भएको कार्यालयले जनाएको छ। स्रोतका अनुसार ऋषिकेशको भूमिका यहींनेर देखिएको छ। उनले आफ्नो पहुँच प्रयोग गरेर बैंकबाट ऋण प्रवाह गराएका हुन्।

तर, उनले आफू यससम्बन्धमा अनभिज्ञ रहेको र सहकारीको कुनै कारोबार आफूले नहेरेको दाबी गर्छन्। ‘मलाई सिध्याउन अनेक बितन्डा गरिँदैछ’, उनले बिजमाण्डूसँग भने, ‘सहकारी प्रकरण पनि यहीअनुसार आएको हो। म कुनै सहकारीमा संलग्न छैन।’

पोखरेल यसअघि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा उद्योगीहरुको चाहना अनुसार उनीहरुसँगै बसेर लेखा समितिले गर्ने निर्णयको मस्यौदा गरेर विवादमा तानिएका थिए। समिति बाहिर उद्योगीहरुसँग मिलेर तयार पारेको मस्यौदा बिजमाण्डूले साउन तेस्रो साता सार्वजनिक गरेपछि उनको योजना तुहिन पुगेको थियो।

सहकारीका ऋणी बैंकको कालोसूचीमा

अब ऋणीतिर जाऊँ। ऋणीहरुले सहकारीले दिएको भाकाअनुसारको समयमा ऋण तिर्दै जान्छन्। अन्तमा चुक्ता गरेरै छाड्छन्। यसपछि उनीहरु अध्यक्ष शम्भुसँग आफ्नो धनीपुर्जा माग्छन्। तर, सहकारीसँग भए पो! धनीपुर्जा बैंकसँग हुन्छ। किनकि धनीपुर्जा राखेर सहकारीले बैंकसँग ऋण लिएको हुन्छ।

स्रोतका अनुसार सहकारीले ऋणीका नाममा उसैको धनीपुर्जा राखेर बैंकसँग छलपूर्वक लिएको ऋणको किस्ता तिरिदिएको छैन। त्यही कारण दर्जनभन्दा धेरै ऋणी अहिले बैंकको कालोसूचीमा परेका छन्।

उनीहरुले प्रदेश सहकारी रजिस्ट्रार तथा प्रतिष्ठान कार्यालयमा उजुरी दिएका छन्। क–कसले उजुरी दिएका हुन् भन्ने विषय कार्यालयले गोप्य राखेको छ।

गाउँका सोझासाझा र अशिक्षित ऋणीले बैंकलाई तिर्नुपर्ने रकमको सावाँ मात्र १२ करोडभन्दा बढी हुने बताइएको छ। अध्यक्ष शम्भुले ऋणीका नाममा बैंकसँग लिएको ऋण त फर्स्योट भएको छैन नै, उनले साना किसान बैंक, आरएमडीसी, आरएसडीसी जस्ता लघुवित्तबाट पनि सहकारीका नाममा थोक कर्जा उठाएका छन्। यस्तो कर्जा पनि फर्स्योट भएको छैन।

लेखा समितिका सभापति ऋषिकेशले ती लघुवित्तबाट थोक कर्जा दिलाउन पनि भूमिका निर्वाह गरेको सहकारीका एक पूर्वसञ्चालकको भनाइ छ।

त्यस्तै सहकारीले बचतकर्ताको २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ फिर्ता गर्न सकेको छैन। बचतकर्ताले बचत रकम फिर्ता मागेपछि अध्यक्ष शम्भु सहकारीको कार्यालय बन्द गरेर अर्धभूमिगत भएका छन्। सहकारीको कार्यालयमा अहिले ताल्चा लागेको छ।

उमागौरी कृषि सहकारीको ६ महिनादेखि बन्द कार्यालय

सहकारी रजिस्ट्रार तथा प्रतिष्ठान कार्यालयका एक अधिकारीका अनुसार सहकारीको साधारण सभाको निर्णय, लेखापरीक्षण रिपोर्ट लगायत कागजात गायब पारिएको छ।

२०६८ मा तदर्थ समिति बनेको कागजात भेटिन्छ। त्यसपछि १० वर्षसम्म अर्थात् २०७८ सम्मका कुनै कागजात र अभिलेख छैनन्। ‘ऋषिकेशकी पत्नी जहिलेसम्म सहकारीमा संलग्न र सक्रिय हुनुहुन्थ्यो त्यस बेलासम्मका कुनैपनि कागजात प्रतिष्ठान कार्यालयमा छैनन्’, सहकारीका एक पूर्वसञ्चालकले भने, ‘यसमा राजनीतिक पहुँचको प्रयोग भएन भनेर कसरी भन्न सकिन्छ?’

सहकारीका अध्यक्ष शम्भु भने आफूले नियमअनुसार कार्यालयमा सम्पूर्ण निर्णय, कागजात र अभिलेखहरू बुझाउँदै आएको जिकिर गर्छन्। ‘मैले अहिलेसम्म सबै कागजातहरू कार्यालयमा बुझाएको छु’, उनले बिजमाण्डूसँग भने, ‘कार्यालयबाट नै कागजात गायब हुन्छन् भने मेरो यसमा के दोष हुन्छ?’

उनले अहिले आफू डेंगु लागेर बेडरेस्टमा रहेकाले थप कुरा गर्न नसक्ने बताए।

मेरा कुरा सामाजिक सञ्जालमा पढ्नू

लेखा समितिका सभापति पोखरेलले आफ्ना कुरा फेसबुक प्रोफाइल खोलेर पढ्न आग्रह गर्दै थप केही नबोल्ने उत्तर दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा केही भ्रष्ट र बिचौलियाहरूले केही सञ्चारमाध्यमको प्रयोग गरी अमूक सहकारीसँग जोडी इमानको चरित्र हत्या गर्न गरिएको भ्रामक दुष्प्रचार भनेका छन्।

शिक्षण पेशा गर्ने ऋषिकेशकी पत्नीले आफू सहकारीमा केही समय रहेको तर सबै काम अध्यक्षले गरेको हुँदा जे सोध्नुछ, उहाँलाई नै सोध्नु भन्दै फोन काटिन्।