आइफोन १६ सिरिज लन्च, फिचर थपिएर आएका ग्याजेट्सहरुको मूल्य कति?

बिजमाण्डू
२०८१ भदौ २५ गते ०८:०८ | Sep 10, 2024
आइफोन १६ सिरिज लन्च, फिचर थपिएर आएका ग्याजेट्सहरुको मूल्य कति?
तस्विर: एप्पल


काठमाडौं । टेक जायन्ट एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ। सोमबार मध्यरातमा एप्पलले आइफोन १६ सिरिजसहितका अन्य ग्याजेट सार्वजनिक गरेको हो। यसअघिका आइफोन सिरिजहरु भन्दा अझ बढी ‘अपडेट’ गरेर आइफोन १६ सार्वजनिक गरिएको दाबी कम्पनीको छ।

Tata
GBIME
NLIC

एप्पलले १० दिनपछि आफ्ना स्टोरहरुबाट आइफोन १६ र १६ प्रो म्याक्स प्रि-अर्डर गर्न सकिने जनाएको छ। तर, नेपालको हकमा भने अझै कुर्नुपर्ने हुन्छ। कम्पनीले आइफोनसहित एयरपड्स ४ र एप्पल वाच १० पनि सार्वजनिक गरेको छ।

आइफोन १६

एप्पलले आइफोन १६ पर्पोस बिल्टका लागि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स भएको पहिलो मोडल रहेको जनाएको छ। जसले प्रयोगकर्ताहरुलाई न्याचुरल ल्याङ्वेज प्रम्प्टको प्रयोग गरेर टेक्स्ट र फोटो सिर्जना गर्न सहज बनाउँछ।

आइफोन १६ मा क्यामरा कन्ट्रोल बटनसहित नयाँ फिचर ल्याइएको छ। फोनको छेउमा बटन राखिएको छ। प्रयोगकर्ताहरुले यसको सहायतामा भिज्वल इन्टेलिजेन्स प्रयोग गर्न सक्छन्।

उदाहरणका लागि क्यामरा कन्ट्रोलको बटन थिचेर कुनै रेस्टुरेन्टको फोटो खिच्ने, त्यसपछि आइफोन १६ ले त्यो रेस्टुरेन्टको रिभ्यूसहितका महत्त्वपूर्ण जानकारी दिनेछ। त्यहाँको मेन्यूसहितका विवरण त्यही बटनको सहायतामा पाइने एप्पलले जनाएको छ।  

आइफोन १६ मा ‘सिरी’लाई समेत अप्ग्रेड गरिएको छ। प्रयोगकर्ताहरुको टेक्स्ट मेसेजमा भएका महत्त्वपूर्ण जानकारी सिरीले प्रयोगकर्तालाई सम्झाउने छ।

तस्विर: एप्पल

‘उदाहरणका लागि सिरीलाई आफ्नो साथीलाई शनिबार गरिएको बार्बिक्यू पार्टीको फोटो पठाउन भन्ने। सिरीले अटोम्याटिकल्ली आफूले चाहेकै व्यक्तिलाई ती फोटो पठाइदिन्छ,’ एप्पलको सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फेडेरिजीले भने।

एप्पलले आइफोन १६ नयाँ रङहरुमा समेत सार्वजनिक गरेको छ। सेतो, कालो, टेयल, अल्ट्रामरिन र पिंक रंगमा स्मार्टफोन उपलब्ध छ। सँगै स्मार्टफोनको आकार पनि दुईवटामा ल्याइएको छ। ६.१ इन्चमा आइफोन १६ र ६.७ इन्चमा आइफोन १६ प्लस। फोनमा नयाँ क्यामरा कन्ट्रोल स्लाइडर जडान गरिएको छ।

आइफोन १६ मा एप्पल इन्टेलिजेन्स सहजरुपमा चलाउन कम्पनीले सिस्टम मेमोरी ब्यान्डविथ १७ प्रतिशतले वृद्धि गरेको छ। ग्लास सेरामिक स्क्रिन जडित फोन अघिल्लो वर्षको आइफोन १५ मोडल भन्दा ५० प्रतिशत बलियो र ४० प्रतिशत तीव्र जीपीयू रहेको दाबी कम्पनीको छ।

एप्पलले आइफोन १६ को मूल्य बढाएको छैन। आइफोन १६ को मूल्य ८०० अमेरिकी डलरबाट र आइफोन १६ प्लसको मूल्य ९०० अमेरिकी डलरबाट सुरु हुने एप्पलले जनाएको छ।

आइफोन १६ प्रो

आइफोन १६ प्रोको स्क्रिनको आकार बढाइएको छ। गत वर्षको मोडलभन्दा आइफोन १६ प्रो ०.२ इन्च बढी हो। इन्ट्री लेभलको आइफोन १६ प्रो ६.३ इन्च र प्रो म्याक्स ६.९ इन्च रहेको छ। एप्पलका अनुसार स्मार्टफोनमा एकदमै मसिनो बोर्डर डिजाइन गरिएको छ।

कम्पनीले यो मोडलमा ब्याट्रीको लाइफ एकदमै लामो टिक्ने दाबी गरेको छ। चारवटा रंगमा फोन उपलब्ध हुनेछ। ह्वाइट टाइटेनियम, डार्कर टाइटेनियम, न्याचुरल टाइटेनियम र ब्राउन रंगको डेजर्ट टाइटेनियम।

एप्पलका अनुसार हाइ-एन्ड आइफोन १६ ले १२० फ्रेम्स् प्रति सेकेन्डमा फोरके रिजोलुसन भिडियो खिच्न दिन्छ। कम्पनीले अडियो रेकर्डिङमा पनि व्यापक सुधार गरेको जनाएको छ। पृष्ठभूमिका अनावश्यक आवाजलाई फिल्टर गर्दै प्रयोगकर्ताको चाहनाअनुसारका अडियो फोनले रेकर्ड गर्न सघाउँछ।

एप्पलले आइफोन १६ प्रोको मूल्य एक हजार अमेरिकी डलर र आइफोन १६ प्रो म्याक्सको १ हजार २०० डलर पर्ने घोषणा गरेको छ।

एयरपड्स

एप्पलले सार्वजनिक गरेको एयरपड्सलाई अहिलेसम्म ‘मोस्ट कम्फर्टेबल’ भनेर दाबी गरिएको छ। एयरपड्स प्रोमा जडान गरिएको ‘हेयरिङ एड’ फिचर भने अहिलेसम्म नियामकीय स्वीकृति पर्खेर बसेको कम्पनीले जनाएको छ।

एप्पलले एयरपड्स नयाँ फिचर सेप र फिचरसहित सार्वजनिक गरेको छ। एयरबड्समा पनि युएसबी-सी चार्जिङ केस उपलब्ध हुनेछ।

एयरपड्स ४ को मूल्य १२९ डलर र एक्टिभ नोइज क्यान्सिलेसन फिचरसहितको एयरपड्स ४ को भाउ भने १७९ डलर तोकिएको छ।

एप्पल वाच १०

एप्पल वाच १० अहिलेसम्मकै सबैभन्दा पातलो घडी भएको कम्पनीले जनाएको छ। यसका साथै यसअघिका मोडलभन्दा एप्पल वाच १० को स्क्रिन डिस्प्ले ३० प्रतिशत ठूलो छ।

नयाँ लुकमा सार्वजनिक गरिएको एप्पल वाचमा प्रयोगकर्ताको निन्द्रा ट्रयाक गर्ने प्रविधि विकास गरिएको छ। निन्द्रमै सास रोकिएको खण्डमा एप्पल वाचले डिटेक्ट गर्नेछ। तर, अमेरिकी सरकारले यसलाई स्वीकृति दिन भने बाँकी छ। कम्पनीमा अनुसार यो फिचर १५० भन्दा बढी देशहरुमा उपलब्ध हुनेछ।

एप्पल वाच ३० मिनेटमा ८० प्रतिशत चार्ज र ब्याट्री लाइफ १८ घण्टा हुनेछ। यो २० फिट पानीमुनीसम्म डुब्न सक्नेछ। कम्पनीले एप्पल वाच १० को मूल्य ४ सय डलरबाट सुरु हुने घोषणा गरेको छ।