१६ वर्षअघि बुद्धले ल्याएको त्यो जहाज, अब उड्ने छैन आकाशमा, यसरी गरिँदैछ बिदाई



वसन्तराज उप्रेती
२०८१ भदौ २५ गते ०६:२३ | Sep 10, 2024
१६ वर्षअघि बुद्धले ल्याएको त्यो जहाज, अब उड्ने छैन आकाशमा, यसरी गरिँदैछ बिदाई

काठमाडौं। सडक यातायात होस् वा हवाई सेवा, गाडी मात्र होइन जहाजको पनि प्रयोगका लागि निश्चित आयु तोकिएको हुन्छ। हवाई सेवामा त अझ उडानको आयु सकिन लाग्दा कम्पनी चनाखो हुन्छन्। सानो घटनाले कम्पनीको साखमा असर पर्ने भएकाले त्यस्ता जहाज हटाइन्छ। विश्व उड्डयन उद्योगमा प्रयोग भएर आयु सकिएका औसत जहाज स्क्रयापमा पठाइँदै आएको छ।

Tata
GBIME
Zonsen

एयरबस, बोइङ, इम्ब्रेरर, डी हेभिल्याण्ड लगायत विभिन्न जहाज उत्पादक कम्पनीले विकास गरेर आयु सकिएका जहाजलाई स्क्रयापका लागि मरुभूमिमा लाने गरिएको छ। विश्वका अधिकांश मुलुकले यस्तो गर्दै आएका छन्। सीमित मुलुकका वायुसेवाले मात्र आफूले प्रयोग गरेका जहाजलाई सधैं आफ्नो सामु रहने गरी व्यवस्थापन गर्दै आएका छन्।

नेपालमा यही किसिमको अभ्यास पहिलोपटक बुद्ध एयरले गर्ने भएको छ। सन् १९९७ अक्टोबर ११ मा विचक्राफ्ट जहाजबाट व्यावसायिक उडान सुरु गरेको यो कम्पनीले आफूसँग भएको दुईवटै विचक्राफ्टको बिदाई गरिसकेको छ।

कम्पनीले आफूसँग भएको एउटा एटीआर-४२ सिरिजको जहाजलाई मंगलबार बिदाईको तयारी गरेको छ। तर यसपटकको बिदाई शैली भने भिन्न प्रकारको छ। बुद्धको विचक्राफ्ट पछि भित्र्याइएको पहिलो एटीआर-४२ हो नाइन एन-एआइएन। कम्पनीले यो जहाजलाई एउटा सवारीसाधनका रुपमा मात्र नभइ विशेष रुपमा राख्न लागेको छ। जहाजका पार्टपुर्जा बाहेक संरचना नेपालमै रहनेछ।

कम्पनीले जहाज बिक्री गरेर बाहिर नपठाउने भएको छ। यसको कारण हो बुद्धको व्यावसायिक हवाई सेवा यात्रामा उक्त जहाजको उल्लेख्य भूमिका। यो जहाज बुद्धले उपयोग गरेको १६ वर्ष भएको छ। यसले कम्पनीलाई मात्र नभइ यात्रु सेवा सुविधालाई यहाँसम्म ल्याइ पुर्‍याउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीले यो जहाज विमानस्थल परिसरमै रहने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई हस्तान्तरण गर्ने भएको छ। जहाजमा भएका आवश्यक उपकरण सदुपयोग गर्ने र बाँकी संरचना ‘बाहिरी आवरण’ फायर फाइटिङ अभ्यासका लागि दिने कम्पनीको तयारी छ।

दुर्घटना उद्धार प्रयासअन्तर्गत ‘मोकअप’ को रुपमा यो जहाज प्रयोग गर्ने क्यानको तयारी छ।        

यो जहाज सन् २००८ मा नेपाल आइपुगेको हो। यो नै बुद्धको पहिलो एटीआर थियो। हाल कम्पनीसँग १८ वटा जहाज छन्। यो सिरिजको जहाजलाई ‘बेस्ट इकोनोमी डिजाइन’ अर्थात आर्थिक हिसाबले फलदायी अवधारणामा आविष्कार गरिएको मानिएको छ।

टर्बोप्रोप अन्तर्गतको यो जहाजलाई बुद्धले पहिलो पटक ‘माउन्टेन फ्लाइट’ मा उपयोग गरेको थियो। सोमबार माउन्टेन फ्लाइट गरेपछि यो जहाजको व्यावसायिक उडानमा पूर्णविराम लागेको छ। कुल ७० हजार फ्लाइङ साइकल रहेको यो जहाजमा अब २० साइकल बाँकी छ। मंगलबार नै यो जहाज फेज आउट हुँदै छ।

कम्पनीले यो जहाजको इन्जिन भने पुनः प्रयोगमा ल्याउने योजना बनाएको छ। एयरबसको एटीआर ‘एयर ट्रान्सपोर्ट रिजनल’ सिरिजको यो जहाज प्रोपेलर अन्तर्गतको हो। एयरबसले अहिले जेट इन्जिन जहाज निर्माण गर्दै आएको छ।

एटीआरमार्फत बुद्धले थालेको व्यावसायिक उडान अन्य कम्पनीका लागि अनुकरणीय त बन्यो नै, मुलुकको आन्तरिक उडानमा विश्वसनीयता समेत बढाएको छ। त्यसैले नाइन एन-एआइएन कलसाइनको जहाज नेपाली हवाई सेवाको व्यवसायिक विकासका दृष्टिले निकै खास छ।

सन् १९९७ बाट एयर क्यालिडोनमार्फत व्यावसायिक उडान सुरु गरेको बुद्धको नाइन एन-एआइएन कलसाइनको जहाज सन् २००८ जनवरीबाट एट्रियम क्यापिटलले प्रयोग गरेको थियो। त्यसको ठिक ७ महिनापछि बुद्ध एयरले यो जहाज व्यावसायिक उडानमा प्रयोग गर्‍यो। एटीआरले यो जहाज सन् १९९५ अगस्ट २९ मा आविष्कार गरेको हो।

बुद्धका बाँकी दुईवटा एटीआर ४२-३२० सिरिजको जहाजको पनि फ्लाइङ साइकल घट्दै छ। दुई वर्षभित्र ती दुई जहाज पनि फेजआउट हुने चरणमा छन्।

काठमाडौं-भरतपुरतर्फ बुद्धले मात्र नियमित व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले भरतपुरमा दैनिक ८ वटाभन्दा बढी नियमित उडान गर्दै आएको छ। कम्पनीले एटीआर-४२ सँगै निकट भविष्यमा एटीआर-७२ सिरिजको जहाजमार्फत भरतपुरमा उडान गर्न प्रक्रिया सुरु गरिसकेको छ।

कम्पनीसँग अहिले एटीआर-७२ सिरिजका १५ वटा र एटीआर-४२ सिरिजका ३ वटा जहाज छन्। जसमध्ये एउटा एटीआर मंगलबारबाट सधैंका लागि बिदाई हुँदै छ।

आयु सकिएको जहाज व्‍यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यास  

एयरक्राफ्ट फ्लिट रिसाइक्लिङ एसोसिएसन (एफ्रा) का अनुसार निष्क्रिय चरणमा पुगेको जहाजको ९० प्रतिशत पाटपुर्जा पुनर्प्रयोग गर्न सकिन्छ। पुरानो जहाजको सिट ४ सय ५० देखि पाँच हजार अमेरिकी डलरसम्म बिक्री हुन्छ।

हवाई जहाजमा प्रयोग हुने आल्मुनियमलाई पुनर्प्रयोग गर्न सकिन्छ।

अमेरिकी वातावरण संरक्षण संस्थाले हवाई जहाज पुनर्प्रयोगले दिगो अर्थतन्त्रका लागि थप टेवा पुग्ने जनाएको छ। संस्थाका अनुसार आल्मुनियम पुनर्प्रयोग गर्दा ऊर्जा ९५ प्रतिशत बचत हुन्छ भने कच्चा पदार्थको खपत ९० प्रतिशत कम हुन्छ। साथै वायु र जल प्रदूषण ८१ प्रतिशतले कम हुने संस्थाले जनाएको छ।