पल्सर स्पोर्ट्स अवार्डको चार विधामा क्रिकेटको वर्चस्व, मनोनयनमा को को परे ?



बिजमाण्डू
२०८१ भदौ २४ गते १७:२० | Sep 9, 2024
पल्सर स्पोर्ट्स अवार्डको चार विधामा क्रिकेटको वर्चस्व, मनोनयनमा को को परे ?

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरि चार विधाका मनोनयन सार्वजनिक भएको छ।

Tata
GBIME
Zonsen

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार २१औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो।

चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । वर्ष पुरुष खेलाडीतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेख, आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन्।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार उनीहरुलाई मनोनयनमा समावेश गरिएको मञ्चले जनाएको छ।

मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो।

यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन्।

त्यस्तै, उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन्।

अवार्ड आगामी भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन्।

यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ। पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

सदाझैं यस वर्ष पनि पल्सर स्पोटर्टस अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकल रहेको छ। मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो।

सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन्।