काठमाडौं। वीरगंज सुक्खा बन्दरगाहमा रहेका खाली कन्टेनर फिर्ता लैजान भारतीय कम्पनी सहमत भएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सोमबार भएको छलफलमा कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कर) खाली कन्टेनर सक्दो चाँडो लैजान सहमत भएको हो।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहमा खाली कन्टेनरका कारण पार्किङ तथा कार्गो ह्याण्डलिङमा समस्या भएको बताए। खाली कन्टेनर यथाशिघ्र लैजाने व्यवस्था मिलाउन कन्करका उप-महाप्रबन्धक सुमंत बेहेरासँग आग्रह गरे।
वीरगंज सुक्खा बन्दरगाहमा हाल ११२० वटा खाली कन्टेनर रहेकामा तीमध्ये ५५१ वटा कन्करका हुन्। खाली कन्टेनर फिर्ता लैजान कन्कर सकारात्मक भएको समितिले सवमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
समितिका अनुसार कन्करका उप-महाप्रबन्धक बेहेराले कन्टेनर लैजाने प्रक्रिया यथाशिघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। समिति र कन्करबीच वीरगंज सुक्खा बन्दरगाहमा कर्गो रेल सञ्चालनलाई निरन्तरता दिने सहमति भएको छ।