काठमाडौं। साताको दोस्रो दिन सुन तोलामा एक सय र चाँदी ५ रुपैयाँ बढेको छ। सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा तोलामा १ हजार २ सय रुपैयाँ घट्दा आइतबार सुनको कारोबार मूल्य १ लाख ५२ हजार १ सय रुपैयाँ थियो। शुक्रबार हालसम्मकै उच्च मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चालु महिनाको प्रारम्भका तुलनामा सोमबार कायम मूल्य तोलामा ४ सय रुपैयाँ घटी हो। भदौ २ गते कारोबार मूल्य १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो। चालु महिना घट्दा पनि सुन तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँभन्दा सस्तिएको छैन।
सोमबार चाँदी तोलाको १ हजार ७ सय ५५ रुपैयाँ भएको छ। आइतबार प्रति तोला ११ हजार ७ सय ५० रुपैयाँ थियो। सोमबार कायम मूल्य चालु महिनाको सुरुवातका तुलनामा ५५ रुपैयाँले सस्तो हो। भदौ २ गते चाँदीको कारोबार मूल्य तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २४९७.३९ डलर रहेको सुन सोमबार झिनो वृद्धिसहित २४९८.०३ डलर छ। चाँदी प्रति औंस २७.९३ डलरबाट बढेर २८.०२ डलर भएको छ।