काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले पारा ओलम्पिकमा तेक्वान्दोमा नेपाललाई काँस्य पदक दिलाएकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ। महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।
महासंघले प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो।
गोवर्धन पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका सदस्य र निजी क्षेत्रलाई खेल क्षेत्रलाई सहयोग बढाउन आग्रह गरे।
‘नेपाली युवाहरू प्रतिभावान् छन्,’ ढकालले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ।’
गोवर्धनले आफ्नो सफलताले खेलाडीहरूलाई प्रेरित गर्ने बताइन्। गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई पराजित गर्दै काँस्य पदक हात पारेकी थिइन्।