टिकटकमाथिको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरलाई एनटीएको निर्देशन



बिजमाण्डू
२०८१ भदौ २१ गते १३:४२ | Sep 6, 2024
टिकटकमाथिको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरलाई एनटीएको निर्देशन

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ।

Tata
GBIME
Zonsen

सञ्चार मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकको प्रयोग तथा पहुँचमा लगाइएको रोक हटाउन पत्राचार गरेको हो।

भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। तर, टिकटक त्यसपछि पनि सर्वसाधारणहरुको स्मार्टफोनमा चलेको थिएन।

स्मार्टफोनमा चल्नु अघि टिकटकलाई नेपाल सरकारले सर्त पालना गर्ने सहमतिसहित आउन भनेपछि टिकटक त्यसमा तयार भएको थियो। सर्त पालना गर्न टिकटकका प्रतिनिधि राजी भएपछि सञ्चार मन्त्रालयले बिहीबार टिकटक प्राविधिकरुपमा खुलाउन सहजीकरण गरेको थियो।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै गएको कात्तिक २७ गते चिनियाँ भिडियो सेयरिङ प्लाटफर्म टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रचण्ड नेतृत्वको सरकार हटेर केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाइएको हो।