
काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको ब्याजदर २७ महिनायताकै न्यून विन्दुमा झरेको छ। २०७८ माघमा १०.५९ प्रतिशत रहेको यस्तो कर्जाको ब्याजदर त्यसपछि १४.५९ प्रतिशतशसम्म पुगेकामा अहिले १०.५८ प्रतिशतमा झरेको हो।
सेयर धितो कर्जाको ब्याजदर निरन्तर बढेर २०७९ माघमा १४.५९ प्रतिशत पुगेको थियो। त्यसयता निरन्तर घट्न थालेको ब्याजदर २०८१ असार मसान्तमा १०.५० प्रतिशतमा झरेको छ।
आर्थिक गतिविधि सुस्त भई कर्जाको माग बढ्न नसकेपछि घटेको निक्षेपले आधार दर कम हुँदै कर्जाको ब्याजदर सस्तिन थालेको हो।
ब्याजदर ४ प्रतिशत विन्दुले घट्दा पनि सेयर धितोमा जाने कर्जा खासै बढ्न सकेको छैन। पछिल्लो एक वर्षमा यस क्षेत्रमा जाने कर्जा १३ अर्ब ७८ करोड रुपैयाँ वृद्धि भएको छ। कुल २ खर्ब ८७ अर्ब कर्जा वृद्धि हुँदा सेयर कर्जा १३ अर्ब ७८ करोड मात्र प्रवाह भएको हो।
चालु आर्थिक वर्ष पछिल्लाे डेढ महिनामा सेयर बजार करिब साढे ६ सय अंकले वृद्धि भइ एकैदिन २९ अर्ब ९५ करोडको काराेबार भएको छ।
अधिक तरलता, घट्दो ब्याजदर र काराेबारमा बढोत्तरी हुँदा समेत सेयर धिताे कर्जा किन उल्लेख्य बढ्न सकिरहेको छैन त?
नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवली मार्जिन कर्जा केही बढ्न थालेपनि उत्साहजनक नरहेको बताउँछन्। उनका अनुसार बजारमा देखिएको उच्च उतारचढावले लगानीकर्ता कर्जा लिएर लगानी गर्न हच्किएका हुन्।
‘अघिल्लो दिन १२७ अंकले बढेको बजार भोलिपल्ट ८०/९० अंकले घटिरहेको छ,‘ उनले भने, ‘त्यसैले लगानीकर्ता ऋण लिएरै पैसा हालौं भन्ने अवस्थामा नपुगेको देखिन्छ।‘
पूर्वबैंकर अनलराज भट्टराई ब्याजदर घट्दा पनि सेयर धितो कर्जा लिने र दिनेमा खासै उत्साह नदेखिएको बताउँछन्। ‘मार्केट स्थिर हुन्छ/हुँदैन भन्ने अन्योलका कारण ब्याजदर घटेपनि कर्जा दिने र लिनेमा अन्योलता देखिएको हो,’ उनले भने।
कर्जा लगानी बढ्न नसकेर तरलता थुप्रिए पनि केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने र संस्थागत लगानीको सीमा हटाउनेबाहेक काम नगरेकाले पनि लगानीकर्ताले ऋण लिन आँट नगरेको उनको बुझाइ छ।
‘अहिले बैंकहरुले फाइनान्सियल डिटेल लिएर कर्जा दिन थालेका छन्। यो पोजेटिभ पाटो हो। तर, सम्रगमा उपभोक्ताको उत्साह बढेको देखिएन,‘ उनले भने, ‘बजार माथि जान्छ जाँदैन भन्ने अन्योल लगानीकर्तामा देखिन्छ। त्यो अन्योलले पनि ऋण लिन हिच्किचाए।’
यस्तै बैंक तथा वित्तीय संस्था आकर्षक खालको लाभांश दिने अवस्थामा नरहेकाले पनि लगानीकर्ता ऋण लिएर लगानी गर्ने हिच्किचाइरहेको जानकारहरुको बुझाइ छ।
‘बैंकहरुले दिने औसत रिर्टन भन्दा कर्जाको ब्याजदर बढी भएकाले पनि लगानीकर्तामा ऋण लिएर इन्भेष्ट गर्ने कन्फिडेन्ट छैन,’ भट्टराईले भने, ‘फाइनान्सियल सेक्टरबाट औसत रिर्टन ५ प्रतिशत पनि नआउने भएपछि कर्जा लिएर लगानी गर्न लगानीकर्ता मनोवैज्ञानिक रुपमा हच्किएका हुन्।‘
लगानीकर्ता छोटेलाल रैनियार पनि भट्टराईको भनाइसँग सहमत छन्। कम्पनीहरुको रिर्टन क्षमताभन्दा ब्याजदर धेरै भएकाले लगानीकर्ताले कर्जा लिएर लगानी गर्ने जोखिम उठाउन नचाहेको रौनियार बताउँछन्।
‘ब्याजदर घटेपनि कर्जा बढ्न नसक्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु हो,’ उनले भने।