टिकटक आज बेलुकादेखि पूर्ण रुपमा संचालनमा आउँदै, दूरसञ्चारलाई पत्र लेख्दै सञ्चार मन्त्रालय



उन्नत सापकोटा
२०८१ भदौ २० गते १४:५५ | Sep 5, 2024
टिकटक आज बेलुकादेखि पूर्ण रुपमा संचालनमा आउँदै, दूरसञ्चारलाई पत्र लेख्दै सञ्चार मन्त्रालय

काठमाडौं । आज बेलुकादेखि भिडियो सेयरिङ प्लेटफर्म टिकटक पूर्णरुपमा संचालनमा आउने भएको छ। टिकटकको माउ कम्पनी बाइटडान्सले नेपाल सरकारले राखेका सबै सर्त मान्न तयार भएसँगै टिकटक पूर्ण रुपमा संचालन हुने भएको हो।

Tata
GBIME
Zonsen

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आज बेलुकाबाटै टिकटक संचालनमा आउने जानकारी दिए। सञ्चार मन्त्रालयले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक खुलाउन निर्देशन दिँदैछ।

‘प्रतिबन्ध खुलाउन मन्त्रालयले पत्र तयार गरिरहेको छ। आजै यो पत्र दूरसञ्चार प्राधिकरणमार्फत सबै सेवा प्रदायककोमा पुग्नेछ,’ ठाकुरले भने।

मन्त्रालयबाट पत्र प्राप्त भएपछि दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिनेछ। सरकारले गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

केही दिन अघि सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। तर, सरकारले राखेको सर्तहरु सबै पूरा गरेमात्रै टिकटक पूर्णरुपमा संचालनमा ल्याउने नेपाली पक्षले अडान राखेका थिए।

सम्बन्धित समाचार : टिकटक प्रतिबन्ध हटाउने निर्णय भए पनि तत्कालै नचल्ने, ‘सर्त पूरा नगरेसम्म चल्दैन’

सरकारले प्रतिबन्ध हटाउने निर्णय गरे पनि सरकारले तोकेका सर्त पूरा गर्न लिखित सम्झौता नगरेसम्म भने प्रयोगकर्ताको स्मार्टफोनमा टिकटक नचल्ने भएको थियो। त्यसयता टिकटक सामान्य रुपमा चले पछि पूर्ण रुपमा भने संचालनमा आएको थिएन।

टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय पछि बाइट डान्सका प्रतिनिधिहरु काठमाडौंमा राजनीतिक भेटघाटमा सक्रिय थिए। सरकारले राखेको सर्तहरु मान्ने लगातयका प्राविधिक कामका लागि उनीहरु सञ्चार मन्त्रालयसँग सम्पर्कमा थिए।

सरकारले टिकटकलाई नेपालको पर्यटन प्रवर्धनमा सघाउनुपर्ने सर्त राखेको छ। त्यस्तै, नेपालको डिजिटल सुरक्षा र साक्षरतामा टिकटकले नेपालमा लगानी गर्नुपर्ने भनिएको छ।

टिकटकले नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र सूचना प्रविधि क्षेत्रको विकासमा काम गर्नुपर्ने सर्त तोकिएको छ। नेपाली भाषा र नेपालमा बोलिने मातृभाषालाई प्राथमिकता दिनुपर्ने सर्त पालना गर्न सरकारले निर्देशन दिएको छ।