
काठमाडौं। सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरे पनि तुरुन्तै भने नचल्ने भएको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै गएको कात्तिक २७ गतेदेखि बन्द गरेको चिनियाँ भिडियो सेयरिङ प्लाटफर्म टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
प्रतिबन्ध हटाउने निर्णय गरे पनि सरकारले तोकेका सर्त पूरा गर्न लिखित सम्झौता नगरेसम्म भने प्रयोगकर्ताको स्मार्टफोनमा टिकटक चल्ने छैन। अर्थात् टिकटकले सरकारले तोकेका सर्त पूरा गर्न लिखित सहमति गरेपछि मात्रै सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन पत्राचार गर्नेछ।
त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिनेछ। त्यसपछि मात्रै नेपालमा टिकटक सहजरुपमा सञ्चालनमा आउनेछ। सरकारले प्रतिबन्ध हटाउने निर्णय गरे पनि टिकटक कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने यकिन छैन।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेका सर्त पूरा गरे मात्रै सञ्चालन हुने बताएका छन्।
‘सर्त पूरा गर्न टिकटकले मौखिकरुपमा सहमति जनाइसकेको छ। तर, टिकटक सहजरुपमा सञ्चालनमा आउन भने उनीहरुले हाम्रा सर्त पूरा गर्नुपर्छ। त्यतिञ्जेल चल्दैन। उनीहरुले सरकारसँग सर्त पूरा गर्ने सम्बन्धमा एग्रिमेन्ट गर्नुपर्यो नि त,’ गुरुङले भने।
टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका बमोजिम सूचीकरण गर्न मौखिकरुपमा राजी भइसकेको सन्देश सरकारलाई दिइसकेको छ।
‘सूचीकरण भएपछि टिकटकले नेपालका लागि पोइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ। त्यसपछि सोहीमार्फत सरकारले तय गरेका कानुन तथा सर्तअनुसार टिकटक सञ्चालन गर्नुपर्छ,’ मन्त्री गुरुङले भने।
निर्देशिकाले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
सरकारले टिकटकलाई नेपालको पर्यटन प्रवर्द्धनमा सघाउनुपर्ने सर्त राखेको छ। त्यस्तै, नेपालको डिजिटल सुरक्षा र साक्षरतामा टिकटकले नेपालमा लगानी गर्नुपर्ने छ। टिकटकले नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र सूचना प्रविधि क्षेत्रको विकासमा काम गर्नुपर्ने सर्त तोकिएको छ। नेपाली भाषा र नेपालमा बोलिने मातृभाषालाई प्राथमिकता दिनुपर्ने सर्त पालना गर्न सरकारले निर्देशन दिएको छ।
सामाजिक सद्भाव भड्काउने काम गरेको आरोपमा प्रतिबन्ध लगाइएको स्मरण गराउँदै मन्त्री गुरुङले टिकटकलाई मात्रै नभइ सबै सामाजिक सञ्जालहरुले नेपालको कानुनअनुसार चल्नुपर्ने बताएका छन्।
‘सामाजिक सञ्जालमार्फत कस्तो कस्तो भाषा प्रयोग गर्न पाउने हो। त्यो फिल्टरिङ हुनुपर्छ। सामाजिक सद्भाव बिथोल्ने, अरुलाई गाली गर्ने, सामाजिक अपराध बढाउने काम रोकिनुपर्छ। यो चारवटा सर्त पालना गरेको दिनदेखि मात्रै टिकटक चल्छ। नीतिगतरुपमा त प्रतिबन्ध आजबाटै खुल्यो। यी सर्त अरु सामाजिक सञ्जालले पनि पूरा गर्नुपर्छ,’ मन्त्री गुरुङले भने।
दूरसञ्चार प्राधिकरणका एक अधिकारीले सरकारले गरेको निर्णय औपचारिकरुपमा सञ्चार मन्त्रालयमार्फत प्राधिकरणमा नआएकाले टिकटकको सम्बन्धमा के गर्ने हो स्पष्ट नभइसकेको बताए। सञ्चार मन्त्रालयबाट लिखित निर्देशन आएपछि मात्रै आगामी कदम तय हुने ती अधिकारीले जानकारी दिए।