शक्ति केन्द्रको प्रयोग असफल: ५ लाख सेयर बेचेर २६ करोड कमाउने ज्ञानेन्द्रलाल परिवारमाथि मुद्दा



बिजमाण्डू
२०८१ भदौ २० गते ०९:३२ | Sep 5, 2024
शक्ति केन्द्रको प्रयोग असफल: ५ लाख सेयर बेचेर २६ करोड कमाउने ज्ञानेन्द्रलाल परिवारमाथि मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (एनएचडीएल) मा भएको ‘इन्साइडर ट्रेडिङ’ सम्बन्धी आफ्नो विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदै ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान र उनको परिवारलाई ५२ करोड रुपैयाँ जरिवानासहित मुद्दा हाल्न सिफारिस गरेको छ।

Tata
GBIME
Zonsen

अनुसन्धानमा एनएचडीएलका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र उनका परिवारका सदस्यहरूले कम्पनीको ५ लाख ११ हजार ५६२ कित्ता सेयर बिक्री गरी २६.३३ करोड रुपैयाँभन्दा बढी अवैध लाभ आर्जन गरेको खुलेको छ।

सेयर बिक्री

  • विमला श्रेष्ठ- ३,६६,५८० कित्ता, औसत मूल्य ५०४.८६ रुपैयाँ
  • चेतन प्रधान- ७०,४३४ कित्ता, औसत मूल्य ५७२.६८ रुपैयाँ
  • निमिता प्रधान- ६३,५२१ कित्ता, औसत मूल्य ५५२.२२ रुपैयाँ

सेयर बिक्रीबाट प्राप्त रकम ज्ञानेन्द्रले आफ्ना विभिन्न कम्पनीहरूमा लगानी गरेका छन्। साथै अन्य उद्योगहरुमा पनि प्रयोग गरेको पाइएको छ। सेयर बिक्री २०७८ साल आसपासमा भएको छ, जुन समयमा कम्पनीको सेयर मूल्य असामान्य रूपमा बढेको थियो। त्यसपछि क्रमशः घट्दै गएको पाइएको छ।

‘हाम्रो अनुसन्धानले यो स्पष्ट रूपमा इन्साइडर ट्रेडिङको मामला भएको देखाएको छ। हामी यस प्रकरणमा संलग्न सबै व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध छौं,’ विभाग स्रोतले भन्यो।

सरकारी वकिल कार्यालयले विभागको प्रतिवेदनमा थप अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्ने छ। अदालतबाट दोषी ठहरिएमा आरोपीहरूले गम्भीर आर्थिक अपराध अन्तर्गत कठोर सजाय र जरिवानाको सामना गर्नुपर्ने हुन्छ।

यो घटनाले नेपालको सेयर बजार र कर्पोरेट क्षेत्रमा व्यापक चासो जगाएको छ। यसअघि इन्साइडर ट्रेडिङकै मामलामा गुरुप्रसाद न्यौपानेमाथि पनि विभागले छानबिन गरेको थियो। उनी अदालतबाट पनि दोषि प्रमाणित भइसकेका छन्।

प्रधान र न्यौपानेमाथि एकै समयमा अनुसन्धान थालिए पनि न्यौपानेको मात्र मुद्दा अगाडि बढेको थियो। प्रधानले केही पहुँचदार व्यवसायीहरुको सहयोगमा शक्ति केन्द्र लगाएर मुद्दा अगाडि बढाउन रोकिरहेका थिए। विभागका उच्च अधिकारीहरुले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रधानमाथि भइरहेको अनुसन्धानमा उनी दोषी देखिएको बताएपछि मुद्दा अगाडि बढेको हो।

‘हामीले इन्साइडर ट्रेडिङको मामलामा संलग्न सबै व्यक्तिहरूको विस्तृत वित्तीय विवरण र लेनदेनको अध्ययन गरेका छौं र यो गैरकानुनी गतिविधि भएको निष्कर्षमा पुगेका छौं,’ विभाग स्रोतले भन्यो।