काठमाडौं। नेपाल टेलिकमले उपभोक्तामाथि खेलाँची गर्दै २२ लाख ग्राहक बढ्दा एउटा पनि टावर नथपेको पाइएको छ।
टावर नथपेकैले टेलिकमको सेवा झन् विग्रिँदै गएको हो। तुरुन्तै फोन नलाग्ने, बोल्दा बोल्दै फोन काटिने, फोरजी नचल्ने समस्या निकै बढेको छ। फोरजी समस्या उस्तै छ। कम्पनीले नयाँ सिमकार्ड निरन्तर बिक्री गरिरहेको छ।
मुख्यत: एसईई परीक्षा दिएका विद्यार्थीसहित नयाँ नागरिकता बनाउनेहरुले नयाँ सिमकार्ड किन्छन्। अथवा अर्को अपरेटरको सेवा छोडेर टेलिकमको सिमकार्ड लिने पनि हुन्छन्। विदेशी पर्यटक वा अन्य कामकाजले नेपाल आउनेलेसमेत सिमकार्ड खरिद गर्छन्। यी कारणले पनि कम्पनीको ग्राहक संख्या निरन्तर बढाउँदै लैजान्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार (२०८० चैतसम्म) टेलिकमको जीएसएम ग्राहक संख्या २ करोड १९ लाख नाघेको छ। त्यसको डेढ वर्षअघि अर्थात् २०७९ असोजमा टेलिकमका जीएसएम प्रयोगकर्ता २ करोड थियो। यो अवधिमा १९ लाख बढ्दा साउनसम्म आइपुग्दा त्यसमा थप वृद्धि भएको छ।
डेढ वर्षमा २० देखि २५ लाख ग्राहक वृद्धि भएको मान्दा त्यसको ८० प्रतिशत काठमाडौं उपत्यका र बाँकी भूभागमा २० प्रतिशत बढेको टेलिकम स्रोतले जानकारी दिएको छ। औसतमा साढे २२ लाख ग्राहक बढ्दा त्यसको ८० प्रतिशत भनेको १८ लाख हुन्छ। १८ लाख ग्राहक बढेपनि टेलिकमले काठमाडौंमा एउटा टावर पनि थपेको छैन।
पछिल्लो समय भ्वाइसभन्दा डेटा प्रयोग अधिक हुन थालेको छ। जसका कारण टावरको क्षमता विस्तार गर्दै थप्नुपर्नेमा टेलिकम व्यवस्थापनले कुनै ध्यान दिएको छैन। ब्यान्डविथ क्षमता बढाउँदै डेटाको गुणस्तरलाई सुधार्नुपर्नेमा फिटिक्कै चिन्तित छैन।
ग्राहक संख्या निरन्तर उकालो लाग्ने तर टेलिकमको नेटवर्क क्षमता (टावर), रेडियो उपकरण नबढ्दा भएकै पूर्वाधारले गुणस्तर धान्न सक्दैन।
उदाहरणका लागि टेलिकमको एउटा प्रयोगकर्ता नयाँ बानेश्वर क्षेत्रको एउटा टावरको क्षमता १ हजारलाई धान्ने छ तर, १५ सय ग्राहक त्यहाँ सक्रिय छन् भने ५ सय जनाले पालो कुर्नुपर्छ। अर्थात् ती ५ सय जनाको फोन काटिन सक्छ, डेटा नचल्न सक्छ। ग्राहक रहेको स्थानभन्दा अलि परको टावरमा नेटवर्क पुग्यो भने फोन ‘फोर्सफुल्ली’ काटिन सक्छ। न इन्टरनेट चल्छ न त एसएमएस नै जान्छ।
स्रोतका अनुसार अहिलेको व्यवस्थापनले ग्राहक संख्या बढ्दासमेत क्षमता विस्तार गर्न नसक्दा टेलिकमको सेवा झन् झुर हुँदै गइरहेको छ। सामान्यतया टेलिकम कम्पनीहरुले आफ्नो क्षमताभन्दा थप २० प्रतिशत स्पेस ‘नेटवर्क कन्जेसन’ नहोस् भनेर राखेका हुन्छन्। तर, टेलिकमको अहिलेको आवश्यकताअनुसार निकै कम संख्यामा नेटर्वक बिछ्याइएको छ।
‘अतिरिक्त स्पेस राख्नाले यदि कुनै कारण कुनै क्षेत्रमा प्रयोगकर्ताको संख्या अचानक बढ्यो भने सञ्चार सेवा सहजरुपमा सञ्चालन होस् भन्नलाई हो। त्यो अपरेटरको दायित्व पनि हो। ग्राहक संख्या बढ्दा डेटा खपत र च्यानल स्वाभाविकरुपमा बढ्छ। ब्यान्डविथको क्षमता बढेको छैन। अनि कहाँबाट चल्छ राम्रो डेटा। अनि किन मोबाइल डेटामा भरपर्ने, जहाँ गएपनि वाईफाई छ भनेर सोध्नुपर्ने बाध्यता छ,’ स्रोतले भन्यो।
क्षमता विस्तारका लागि आवश्यक उपकरण आयात गर्न भेन्डर तयार भएर बसेपनि टेलिकमको व्यवस्थापकीय कमजोरीका कारण सेवाको गुणस्तर ओइलाउँदै गएको छ। टेलिकमको स्टोरमै टावरहरु थन्किएर बसेका छन्। जसलाई नयाँ ठाउँ खोजेर उपयोग गर्ने सुरसार नै छैन।
काठमाडौंका घरहरुमा टावर राख्न दिएनन् भनेर टेलिकम व्यवस्थापन लामो समयदेखि पन्छिंदै आएको छ। विकसित प्रविधिअनुसार फोरजीलाई आवश्यक पर्ने नेटवर्क पोलमा राख्न मिल्ने आइसकेको छ। घरको छत खोज्दै हिड्नुपर्ने बाध्यता केही हदसम्म हराइसकेको छ।
‘अहिले पोलमा राखेरै फोरजीको नेटवर्क बनाउन मिल्ने प्रविधि आइसक्यो। विद्युत प्राधिकरण वा आफैंले पोल गाडेर नेटवर्क विस्तार गर्न सकिन्छ। सडक विभाग वा अन्य निकायसँग समन्वय गरेर यो काम तत्काल गर्न सकिन्छ। गाह्रो काम होइन। घर पाइन टावर राख्नलाई भनेर टेलिकम जस्तो संस्था पन्छिन मिल्छ?,’ टेलिकमकै एक पूर्वइन्जिनियरले बिजमाण्डूसँग भने।
ग्राहक संख्यामा भइरहेको वृद्धि, कुन क्षेत्रमा नेटवर्कको चाप र कस्तो शैली छ भन्ने प्राविधिक जानकारी टेलिकमका अधिकारीले बसेरै नियाल्न सक्छन्। कहाँ कसरी नेटवर्क चाप परेको छ भन्ने समस्या व्यवस्थापन गर्न निकै सहज रहेको भन्दै उनले कहाँ कति टावर थप्नुपर्छ भन्ने सहजै परिमाण यकिन गर्न सकिने बताए।