चिनियाँ इभीको दबदबा हुने नाडामा आउँदैछन् भारतीय अटो जायन्ट कम्पनीहरुको टोली

बिजमाण्डू
२०८१ भदौ १० गते १५:०९ | Aug 26, 2024
चिनियाँ इभीको दबदबा हुने नाडामा आउँदैछन् भारतीय अटो जायन्ट कम्पनीहरुको टोली


काठमाडौं । मंगलबारबाट नाडा अटो शो सुरु हुँदैछ। चिनियाँ विद्युती गाडी (इभी) को दबदबा रहने अटो शोमा भारतीय अटो जायन्टहरु आउने भएका छन्।

Tata
GBIME
NLIC

नाडा अटो शोको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अनुसार प्राय सबै भारतीय अटो जायन्टका प्रतिनिधि नेपाल आउन लागेका छन्। यसरी ठूलो संख्यामा उनीहरु नेपाल आउनुको कारण हो चिनियाँ इभी गाडीहरु।

नेपालमा हाल भित्रिसकेको धेरै चिनियाँ ब्रान्ड भारतीय बजारमा छैन। निकट भविष्यमा पनि ती ब्रान्डहरु भारत पुग्ने सम्भावना कम छ। त्यसैले पनि चिनियाँ ब्रान्डबारे बुझ्न भारतीय प्रतिनिधिको टोली नै नाडा अटो शोमा आउन लागेको नाडाका एक प्रतिनिधले बताए।

नाडाले अटो शोमा सहभागी हुन भारतीय कम्पनीहरुलाई निम्तो पनि दिएको थियो।

अटो शोमा सोसाइटी अफ इन्डियन अटोमोबाइल्स म्यानुफ्याक्चर्स (सायम) बाट प्रतिनिधिहरु आउने कार्यक्रम रहेको छ। यो संस्था पनि नेपालको नाडा जस्तै भारतीय गाडी उत्पादक तथा गाडी बिक्रेताहरुको साझा संगठन हो।

सायमबाट चारजना प्रतिनिधिहरु आउने तय भइसकेको छ। जसमा सायमका उपकार्यकारी निर्देशक अतनु गांगुली, उपनिर्देशक कार्तिके कर्वाल, सहनिर्देशक रुबी गंगुली र कार्यकारी अधिकृत कनिश्का चाना रहेका छन्।

यस्तै, टाटा मोटर्स इन्डियाबाट पनि टाटा मोटर्सका चिफ स्ट्राटेजी अफिसर एण्ड भाइस प्रेसिडेन्ट- इन्टरनेशनल बालजी राजन, टाटा मोटर्सका जेनरल म्यानेजर (इन्टरनेशनल बिजनेस प्यासेन्जर भेहिकल) मयन्क बाल्दी र डेप्युटी जेनरल म्यानेजर निशा यादव (ट्रक्स एण्ड बसेस) नेपाल आइसकेका छन्।

अशोक लेल्यान्डका उपाध्यक्ष (कर्पोरेट अफियर्स) यश पल सचार, हुन्डाई मोटर इन्डियाको एक्सपर्ट सेल्स जेनरल म्यानेजर हमेन्द्रा सिंह, बजाज अटोका डिभिजनल म्यानेजर समिर मर्दिकार, टीभीएस मोटर कम्पनीका सिनियर जेनरल म्यानेजर (आरएण्डडी) एमएस आनान्दकुमार, एथर इनर्जीका हेड अफ प्रोडक्ट इकोसिस्टम विग्नेश रविराज पनि अटो शोका लागि नेपाल आउने योजना रहेको नाडाले जनाएको छ।

यस्तै महिन्द्रा एण्ड महिन्द्राबाट नेपाल, भुटान एण्ड बंगलादेशका देशीय निर्देशक चैतन्या रविन्द्र कगल्कार, रेनो निसान टेक्नोलोजी एण्ड बिजनेस सेन्टर इन्डियाका जेनरल म्यानेजर आयोकी कन्सुई, रोयल इन्फिल्डका जोनल बिजनेस हेड नितिन शर्मा पनि नेपाल आउँदैछन्।

भीई कमर्सियल भेहिकलका नेपाल सेल्स म्यानेजर स्मित साइनी, इसुजु मोटर्स इन्डियाका सिनियर म्यानेजर कुवर विक्रम सिंह, अशोक लेल्यान्डका डेप्युटी जेनरल म्यानेजर मुथुकुमार नटराजन, अशोक लेल्यान्डका नेपाल निर्देशक विप्लव पल पनि नाडा अटो शोका लागि आउने योजनामा छन्।

यसका साथै हुन्डाई मोटर इन्डियाका देशीय निर्देशक रजत कार्ला, रेनो इन्डियाका टेक्निकल म्यानेजर तथा डेप्युटी म्यानेजरहरु आउने योजना रहेको नाडाले जनाएको छ।