लन्च भयो फिचर लोडेड चिनियाँ ब्रान्ड नामी : टाटा पन्च र बीवाइडी डल्फिनको प्रतिस्पर्धी

शुक्र गिरी
२०८१ भदौ ६ गते २०:५१ | Aug 22, 2024
लन्च भयो फिचर लोडेड चिनियाँ ब्रान्ड नामी : टाटा पन्च र बीवाइडी डल्फिनको प्रतिस्पर्धी


काठमाडौं। नेपाली बजारमा चिनियाँ ब्रान्ड ‘नामी’ भित्रिएको छ। एमएडब्लु वृद्धि अटोकर्पले बिहीबार एक कार्यक्रम आयोजना गर्दै नामी ब्रान्ड लन्च गरेको हो।

Tata
GBIME
NLIC

कार्यक्रममा चीनको डङ्फेङ मोटर कर्पोरेसनका प्रतिनिधि पनि सहभागी थिए। कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले आफूहरुले अटो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भन्दै नामीले नेपाली बजारमा सफलता हात पार्ने विश्वास व्यक्त गरे।

नामी अहिले नेपालमा उपलब्ध सेग्मेन्टमा ‘बेस्ट इन क्लास’ हुने अग्रवालको दाबी छ। उनले यो गाडीको बडी स्ट्रक्चर र फिचर लोडेड भएका कारण नेपालमा सफल हुने बताए।

यस्तै, एमएडब्लु वृद्धि अटोकर्पका एमडी विवेक सिकारियाले ‘डङ्फेङ’सँग भएको साझेदारीले नेपालको अटो क्षेत्रमा एउटा ‘हाइप क्रियट’ गर्ने बताए। कम्पनीले नामीका ३ वटा भेरियन्ट ई-१, ई-२ र ई-३ ल्याएको छ। नामी ई-१ को २९ लाख ९९ हजार, ई-२ को ३१ लाख ९९ हजार र ई-३ को ३४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ।

बजारमा नामीले टाटा पन्च इभी र बीवाइडी डल्फिनसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। यी तीनवटै गाडीको फिचर, पावरट्रेन र सेफ्टी मेजर उही खालको छ। नामीमा भने अटो पार्किङ फिचर थप पाइन्छ। जसले गर्दा ड्राइभरले अटो पार्किङ सेट गरेपछि गाडी आफै पार्किङ हुन्छ।

डल्फिन र नामी चिनियाँ उत्पादन हुन् भने पन्च इभी भारतीय गाडी हो। टाटा पन्च इभी भदौ ११ गते सुरु हुने नाडा अटो शोमा लन्च गरिंदैछ। डल्फिन नेपाली बजारमा भित्रिएको एक वर्ष भएको छ। डल्फिन नेपाली बजारमा धेरै रुचाइएको गाडीमा पर्छ।

यी तीन वटै गाडीको लम्बाई उही खालको छ। लम्बाई पन्च इभीको ३.८ मिटर तथा डल्फिन र नामीको ४ मिटर छ। यस्तै टायर ह्वील पनि उस्तै छ। ह्वील कुनैको १६ इन्च छ भने कुनैको १७ इन्च छ।

टच स्क्रिनमा पनि तीन वटै मोडलमा २ इन्च मात्रै फरक छ। टाटा पन्चको १०.२ तथा नामी र डल्फिनको १२.८ इन्चको छ। नामी र डल्फिनमा भएका केही फिचर टाटा पन्च इभीमा उपलब्ध छैनन्।

नामी चीनको डङफेङ मोटर्सले उत्पादन गरेको हो। यो कम्पनी विश्वका टप ५०० कम्पनीको सूचीमा १८८ औं स्थानमा पर्छ। अहिले यो कम्पनीका गाडी १०० भन्दा धेरै देशमा उपलब्ध छन्।

पावरट्रेन

नामीमा ७० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। यसले १६० एनएम टर्क उत्पादन गर्न सक्छ। यस्तै यसमा दुई वटा ब्याट्री उपलब्ध छन्।

३१.४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्रीले फुल चार्जमा सीएलटीसी ३३० किलोमिटर र डब्लुएलटीपी २३७ किलोमिटर रेन्ज दिन्छ। ४२.३ किलोवाट आवर क्षमताको ब्याट्रीले फुल चार्जमा सीएलटीसी ४३० किलोमिटर र डब्लुएलटीपी ३१४ किलोमिटर रेन्ज दिन्छ।

स्पेसिफिकेसनटाटा पन्च इभीनामी बक्सडल्फिन
ब्याट्री पावर२५/३५ किलोवाट आवर३१/४२ किलोवाट आवर४४.९ किलोवाट
मोटर पावर९० किलोवाट७० किलोवाट७० किलोवाट
ग्राउन्ड क्लियरेन्स१९० एमएम१७५ एमएम१७५ एमएम
मूल्य४०/२४ लाख (घटबढ हुन सक्ने)३०/३२/३५ लाख ४१.१५ लाख
डाइमेन्सन३.८ मिटर लम्बाई४ मिटर लम्बाई४.२ मिटर
फुल चार्ज रेन्ज४२१ किलोमिटर४३० किलोमिटर३४० किलोमिटर
चार्जिङ टाइम(एसी/फाष्ट)५ घन्टा/ ५६ मिनेटमा फुल ३ घन्टा/५३ मिनेटमा फुल८ घन्टा/४९ मिनेटमा फुल
०-१०० किलोमिटर प्रति घन्टा९.५ सेकेन्डमा१०.६ सेकेन्डमा१२.३ सेकेन्डमा
टर्क पावर१९० एनएम१६० एनएम१८० एनएम
टायर ह्वील१६ इन्च१७ इन्च१६ इन्च
स्क्रिन१०.२ इन्च१२.८ इन्च१२.८ इन्च

फिचर

नामीमा वेलकमिङ सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ लगायत सुविधा छन्। यस्तै लेभल टु अडास सेफ्टी फिचर पनि उपलब्ध छ।

भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्च टचस्क्रिन इन्फोटनमेन्ट सिस्टम, १७ इन्चको ह्वील, ३६० डिग्री क्यामेरा, एडप्टिभ क्रुज कन्ट्रोल सिस्टम, स्टार लाइट क्राइस्टल एलईडी हेड ल्याम्प, अटो डिमिङ फिचर, मल्टी कलर एम्बियन्ट लाइट पनि नामीमा रहेको विशेषता हो।

यसमा इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन/स्नो मोड, अटोमेटिक हाइबिम र ल्यो बिम हेडलाइट, सिमलेस पावर अन जस्ता फिचर पनि समावेश छ।

सेफ्टी फिचर

अडास लेबल टुमा एडप्टिभ क्रुज कन्ट्रोल, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, लेन डिपार्चर वार्निङ र ट्राफिक साइन रिकग्निसन रहेका छन्। अडास लेभल टु सेफ्टी फिचरका लागि अहिले उत्कृष्ट मानिन्छ। यो गाडीले एनक्याप सेफ्टी टेस्टमा ५ स्टार रेटिङ पाएको छ। यस्तै मल्टिलेयर थ्रीडी सेक्युरीटी प्रोटेक्सन पनि यसमा छ।

एन्टि लक ब्रेकिङ सिस्टम, ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल स्टार्ट असिस्ट, इलेक्ट्रिक स्टेकिलीटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्रयाकसन कन्ट्रोलहरु पनि सेफ्टीका लागि राम्रो फिचर यसमा उपलब्ध छन्।

डाइमेन्सन र इन्टेरियर

यो गाडी ४ मिटर लामो छ भने २.६ मिटरको ह्वीलबेस छ। यसको डिजाइन स्लिक, मोडर्न र स्मुथ लाइन्सहरुका साथै डाइनामिक प्रोफाइलका रुपमा तयार पारिएको छ। यो गाडी ५ वटा रंगमा उपलब्ध छन्। निलो, सेतो, हरियो, पर्पलका साथै डबल टोन विकल्पमा दिइएको छ।

यसको इन्टेरियरमा सुपर कोजी केबिन, हाइ क्वालिटी लेदर भएको स्टक्चर, प्रिमियम लेदर सिट, आर्मरेस्ट, वायरलेस चार्जिङ, ५ इन्च टीएफटी फुल कलर एलसीडी डिस्प्ले, प्यासेन्जरको लागि एम्पल लेगरुम र हेडरुम, ३२ कलर एम्बियन्ट लाइटिङ र ग्लबबक्स छ।

इन्टेरियर कलर ब्लाक एण्ड ह्वाइट र ब्लाक एण्ड ग्रेमा उपलब्ध छ।

यस्तै नर्मल, इको र स्पोर्ट गरि ३ वटा ड्राइभिङ मोड यसमा उपलब्ध छ। यसमा बुट स्पेस ३२६ लिटर जसलाई बढाएर ९४५ लिटरसम्म बनाउन सकिन्छ।