
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमण सकाएर काठमाडौं फर्किएकी छन्।
आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताइन्।
नयाँ दिल्ली बसाइको क्रममा भारत सरकारले आरजुलाई महत्व दिएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहितको टोली उपस्थित थियो।

यस्तै, उनी हरियाणा र बिहारलाई नेपालबाट थप विद्युत निर्यात गर्नेुका साथै क्रिकेटमा सहकार्य बढाउनेबारे पनि छलफल भएक थियो। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा विभिन्न द्विपक्षीय छलफल भए।
आरजुले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्।

‘नेपाल र भारत बीच सद्भाव बढाउन भूमिका खेल्नेछ। भ्रमणले उच्च स्तरमा सम्बन्ध बढाउन तथा सहयोग अभिवृद्धि गर्नेछ,’ आरजुले काठमाडौं फर्किएपछि भनिन्।
उनले आफूलाई नयाँ दिल्लीमा गरिएको स्वागत नेपाललाई नै स्वागत भएको प्रतिक्रिया दिएकी छन्।

पछिल्लो समय भारतले छिमेकी देशलाई प्राथमिकतममा राख्दै कूटनीतिलाई चलायमान बनाइरहेको छ। आरजुले आफ्नो भ्रमणका क्रममा भारतले नेपाललाई नजिकको छिमेकी ठानेको महसुस गरेको बताएकी छन्।