काठमाडौंं। नेपाल विद्युत प्राधिकरणले नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएको जनाएको छ। प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ।
१८ स्थानीय तहमा प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन सकेको छैन। राष्ट्रिय प्रसारण ग्रिड नपुगेपनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन्।
प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांक अनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको जिकिर गरेको छ।
विद्युतका ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ। विद्युतको पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत उपभोग गरिरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने प्रतिवद्धता जनाए।
कुन प्रदेशमा कति प्रतिशत विद्युतीकरण भयो?
७ प्रदेशमध्ये मधेशमा शतप्रतिशत विद्युतीकरण भएको छ। कोसीमा ९९.३० प्रतिशत, बाग्मतीमा ९९.९७ प्रतिशत, गण्डकी ९९.४० प्रतिशत र लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युतीकरण गरिएको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ७४.३८ प्रतिशत मात्र विद्युतीकरण छ। सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत विद्युतीकरण गरिएको छ।
७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन। हुम्लामा लघु जलविद्युत, सौर्य ऊर्जा लगायतका विद्युत् आपूर्ति भइरहेको छ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन बाँकी स्थानीय तहमा विद्युत् पुर्याउन राम्रो काम भइरहेको जानकारी दिए।