‘बन्धु मिलियन डलर इन्भेस्ट गर्छु, स्मार्ट स्कुल बनाउँछु।’ सुन्दै महत्त्वाकांक्षी लाग्ने योजना सुनाउनुको कारण सुझाउँथे – ‘मजस्ता दृष्टिविहीनलाई शिक्षाको ज्योतिले संसार देखाउनु छ।’
ठूलो लगानीबाट ठूलै लक्ष्य प्राप्तिको सपना थियो प्रकाश तिमल्सिनाको। आफ्नो गायकीबाट परिचित प्रकाश सपना सपनै रहँदै संसारबाट बिदा भए।
उनको अवसानपछि जटिल मनस्थितिमा छु म। त्यसैले सुरुवात कहाँबाट गरौं?
असमन्जसमा छु। स्मृतिमा यस्ता पलहरु छन् जसलाई भुल्न गाह्रो हुन्छ। समकालीनमात्र होइन, धेरै पलहरु सँगै बिताएकाले पनि कठिन छ शब्दहरु जोड्न। ती क्षण त झन् झल्झली भइरहेका छन् जसलाई बिदाइ गर्न झन् कठिन छ।
गत साताको एउटा रात अबेरसम्म रिसर्च पेपर लेखेर बिहानतिर मात्र सुतेको थिएँ। ब्युँझिएर फेसबुक ब्राउज गर्दा देखेँ -अप्रत्यासित समाचार। गायक प्रकाश तिमिल्सिना सधैंका लागि बिदा भए। ललितपुर-१९ भैंसेपाटीस्थित कोठामा ३५ वर्षीय तिमल्सिना सुतेकै खाटमा मृत भेटिएको खबर थियो।
तत्काल पत्यार लागेन। उनको फेसबुक प्रोफाइल चहारेँ। भित्ताभरि श्रद्धान्जलीका शब्दहरु ट्याग रहेछन्। अलि तल उनकै प्रोफाइलमा कसैले ट्याग गरेको समाचार फेला पर्यो। नचाहँदा नचाहँदै पत्याउन बाध्य भएँ।
धेरै होइन,केही दिनअघि बिहानीपख म्यासेन्जरमा प्रकाशसँग वार्तालाप भएको थियो।
‘बन्धु कहिले आउने हो? आएपछि यसो रमझम गर्नुपर्छ,’ उनले भनेका थिए। म त यही दसैं छेकोमा फर्किन्छु। प्रकाश भने नभेटिने र नफर्किने गरी बिदा भइसकेका छन्।
मेरो उनीसँग चितवन हुँदादेखिको दोस्ती। काठमाडौंमा अल्छी लाग्यो कि ‘बन्धु म चितवन आउँदै छु’ भन्दै आउँथे।
पछि म काठमाडौं आएँ। हाम्रो भेट पुरानै शैलीमा चलिरह्यो।
‘बन्धु कता हो? तपाईँकोमा आउँदै छु।’
उसको बोली कानमा गुन्जिरहेको छ। अब त्यो बोली मैले सुन्न पाउने छैन।
+++
मुलुकमा दृष्टिविहीनका लागि सामाजिक र आर्थिक जीवन सहज छैन। शिक्षा आर्जन नै सहज नभएपछि सामाजिक र आर्थिक हैसियत परिवर्तन हुन कुनै खास प्रकारका प्रतिभा वा चमत्कार जरुरी हुन्छ। फरक क्षमता भएकाहरुका लागि सरकारले अपेक्षाकृत रूपमा लगानी बढाउन ध्यान दिएको छैन।
अशक्तताका अवस्थाअनुसार परिचयपत्र र भत्ताको व्यवस्था गरे पनि जीवन दीर्घकालसम्म सहज कसरी बनाइदिने भन्ने योजनामा सरकारी प्रयास निकै कमजोर छ।
स्कुल, कलेज, कार्यालय, सहर-बजार अपांगतामैत्री संरचना हुनुपर्छ भन्ने चेत आए पनि मैत्रीपूर्ण बन्नै बाँकी छ। यस्तोमा हुर्किएका युवकको सपना अनौठो पनि थिएन। स्मार्ट कक्षाका लागि धेरै लगानी र बृहत् योजना चाहिन्छ। व्यक्तिले इच्छा गर्दैमा झट्ट पुरा गर्न सकिँदैन। तर, उसको सपनाले लागतको हिसाब निकालेको थिएन। स्मार्ट स्कुलका फाइदा पाउनेका जीवन कति सहज हुनुपर्छ भन्ने लख काटेको थियो।
+++
प्रकाशले मसँग अनेक सपनाको व्याख्या गरेका थिए। उनका साना-ठूला सपना, कुनै त अजिबोगरिब पनि हुने।
‘बन्धु एक रात चिहानमा मध्यरातमा मदहोस हुन मन छ।’
पाँच वर्ष अगाडि दसैंको छेकोमा बुटवल जाँदा उनले यस्तै हर्कत गरे पनि।
‘बन्धु कहाँ हो?’
घरतिर छु।
‘बन्धु म बुटवल छु। लिन आउनुस्।’
उनले बोलाइरहँदा साथीभाइ जम्मा भएर जंगलमा हामी पिकनिक गर्दै थियौं। प्रकाशलाई मैले पिकनिक पोइन्टमा पुर्याएँ।
पिकनिक गर्ने ठाउँभन्दा केही वरै जंगलमै एउटा चिहान छ। बौद्ध धर्मालम्बीहरुको त्यही अन्त्येष्टि गरिन्छ।
प्रकाश यहाँ चिहान छ नि – मैले सुनाएँ।
‘हो र?’
उनको आवाजमा डरभन्दा उत्साह सुनियो।
‘बन्धु, यो चिहानमा मध्यरातमा मदहोस भएर बस्न कति आनन्द आउँदो हो है?’
एउटा सोच्दै नसोचेको प्रतिक्रिया।
फर्किँदा चिहान नजिक उनले एउटा प्रस्ताव राखे।
‘बन्धु म फेरि आउँछु। आज त मिल्दैन। त्यतिबेला तपाइँले मध्यरात १२ बजे मलाई यहाँ ल्याइदिएर छाड्नुपर्छ। दुई-चार चुरोट अनि केही ‘प्याक’सहित। अनि एक दुई स्टिक पनि। तपाईँ छाडेर जानु अनि एक घण्टा पछि लिन आउनु। म पनि चिहानकी परी देख्न चाहन्छु। त्यो कमलेले कसरी देख्यो होला त चिहान की परी?’
भनेँ -हुन्छ नि बन्धु।अर्को पटक आउँदा पक्कै पनि यो चाहना पुरा हुनेछ।
त्यो अर्कोपटक कहिल्यै आएन। आउने पनि छैन।
जिउँदै हुँदा चिहानकी परी भेट्ने चाहना प्रकाशको पूरा भएन।
+++
सानैमा दृष्टि गुमाएका उनी संसारलाई आफ्नै आँखाले हेर्ने चाहन्थे। त्यसका लागि पैसा जम्मा गर्दै थिए। सम्भावना छ भन्थे डाक्टरहरु। विदेशी डाक्टरलाई पनि देखाइसकेका थिए।
संसाद देख्ने उत्कट चाहना त थियो नै, बालपनमा फर्किने अनौठो चाहना पनि थियो उनको।
‘बन्धु म नदेखी नदेखी पनि संसरलाई नजिकबाट महसुस गरिरहेको छु। तपाइँ कतै नजिकै आउनु भयो भने पनि तपाइँको उपस्थिति सहजै महसुस गरेर चिन्न सक्छु।’
उनमा चिन्ता पनि थियो। त्यो महसुस गर्ने क्षमता हेर्ने क्षमता भएसँगै गुम्ने त होइन?
‘तपाइँलाई मैले आँखाले चिन्न सकिन भने के गर्ने?’ उनको प्रश्न थियो।
यस्तै अजिबोगरिब प्रश्न तेर्स्याउँथे। फेरि हास्न थाल्थे मन खोलेर। अब यस्ता प्रश्नहरु मेरासामुन्ने आउने छैनन्। महसुस गरेरै चिन्ने प्रकाश अस्ताएको छ।
आँखाले देख्ने रहर एकातिर थियो तर उनमा पीर अर्कै थियो।
‘बन्धु मैले आँखा देख्न थालेँ भने त म अनपढ हुन्छु होला है?’
कक्षा १२ सम्म पढेका उनले त्यसभन्दा अगाडि बढाउन सकेनन्। गीतसंगीतमा लागे। त्यतै भुले। पढाइ रोकियो। बेलाबेलामा उच्च शिक्षा हासिल गर्ने रहर सुनाउँथे। तर,बाटो सहज थिएन।
ब्रेललिपिबाट पढे उनले। बीबीसीका अंग्रेजी समाचार सुनेर भाषा तिखारे। उनलाई चिन्ता थियो- आँखा देख्ने भएपछि मैले बीबीसी पढ्न सक्दिन होला है?
कखरा र एबीसीडी फेरि सुरुदेखि पढ्नुपर्ने चिन्ता सुनाउँथे।
मलाई भन्थे –’बन्धु बिहे गर्नुस्। छोराछोरी पाउनुस्। म भतिज भतिजीसँगै कखरा र एबीसीसीडी सिक्ने हो।’
+++
‘बन्धु एउटा विकिपिडियामा अंग्रेजी प्रोफाइल बनाउनुपर्यो।’
उनले बेलाबेलामा झक्झकाइरहेका हुन्थे।
‘बन्धु हुन्छ हुन्छ।’
मैले प्रोफाइल बनाएर अपडेट गरेको पनि थिएँ। तर, विकिपेडियाले रेफरेन्स पुगेन भन्दै ड्राफ्टमा हुर्याइदियो। अनि मैले भने, ‘बन्धु तपाइँलाई विकिपेडियाले नचिने र के भो त सारा नेपालीले त चिनेका छन् नि।’
‘त्यस्तो होइन के संसारले चिन्नुपर्छ। अमेरिका गएर १ मिलियन डलर जितेर आउने हो। त्यसका लागि यसो प्रोफाइल देखाउनु पनि त पर्यो नि।’
उनलाई रहर थियो -अमेरिकन गट ट्यालेन्टमा गएर क्यालिफोर्निया गाउने। १ मिलियन जित्ने।
‘बन्धु एक मिलियन जिते पछि के गर्ने त?’
‘अलिकति त आँखा देख्नका लागि आफैंलाई छुट्याउने हो। अनि बाँकी अरुलाई आँखा देख्न सक्ने बनाउने हो। गाउँगाउँमा दृष्टिविहीनका लागि टेक्नोलोजीमा आधारित कक्षा बनाउने हो। म केही गर्न चाहन्छु।’
नश्वर शरीरसहित मिलियन डलरको सपना धुवाँमा उड्यो।
+++
केही पहिले म्यासेन्जरमा कल आयो। रिसिभ गरेँ। चिनियाँ गीत गाउन थाले प्रकाशले।
‘बन्धु तपाइँको नेपाली गीत गाउने र तपाइँलाई हिट लिरिसिस्ट बनाउने चाहना त्यस्तै भइरहेको छ।’
उनले बेला-बेला यही वाक्य दोहोर्याउँथे। २०७५/७६ तिरैबाट उनले एउटा चाहना राखेका थिए- एउटा गीत गाउने जसमा मेरो शब्द होस्।
काठमाडौंको बुद्धनगरमा मेरो फ्ल्याट। शुक्रबार नजिकिँदै गर्दा मलाई फोन गरिहाल्थे उनी।
‘आज तपाईँकोमा बस्ने है।’
‘हुन्छ।’
गितार लिएर बानेश्वर आइपुग्थे। अनी कयौं रात मेरो डेरामा उनको एकल साँझ चल्थ्यो। कतिसम्म भने घरबेटीले फोन गरेर ‘भाइ ३ बज्यो। अब त सुत्ने होला नि’ भन्थे।
‘तपाइँसँग भए म सुरक्षित छु। घरमा मेडमलाई पनि बन्धुसँग छु भने पछि ढुक्कै। कतिपटक त म बन्धुसँग छु भनेर अर्कै साथीकहाँ बिताएको छु।’
तिनैमध्येको एक साँझ मेरो एउटा गजलमा गितार हान्दै गुनगुनाए।
‘यसलाई एउटा खतरा गीत बनाउनुपर्छ। कम्पोज मेरो श्वर मेरो, शब्द तपाइँको। नेपाली संगीतमा राज गर्ने हो।’ बेला-बेलामा पैसा जम्मा गर्दैगरेको सुनाउँथे। म्युजिक भिडियो बनाउने रहर थियो। स्टोरी पनि फुरिसकेको थियो त्यसका लागि।
नजर जुध्दा अलिकति लजाएकी थियौं।
मेरै निम्ति आफैंलाई सजाएकी थियौं।।
‘सर यो गीतमा मैले नै नजर जुधाउने हो। म आखाँ देख्ने भएर आएपछि त यसमा मोडलिङ त मै गर्ने हो।’
हुन्छ हुन्छ।
उनले गीतका लागि एक हजार रुपैयाँ दिए।
‘पेस्की हो सर। यो शब्द अब मेरा लागि। यसलाई कतै लेखेको छ भने पनि डिलिट मार्नुस्। यो मसँगै रहन्छ।’
उसका अपूरा सपनाहरुको शृंखलाको साक्षी हुँ म। उनको अवसानसँगै उसका सपनाहरु पनि सपनामै बिलाएका छन्। दृष्टिविहीनहरुका लागि मिलियन डलरको स्मार्ट कक्षा बनाउने उसको सपना। अब कसले बनाइदेला प्रकाश?