प्राइम र सांग्रिला डेभलपमेन्ट बैंकको एकअर्काको एटीएमबाट बिनाकार्ड पैसा निकाल्न सकिने



बिजमाण्डू
२०८१ साउन ३० गते १८:१४ | Aug 14, 2024
प्राइम र सांग्रिला डेभलपमेन्ट बैंकको एकअर्काको एटीएमबाट बिनाकार्ड पैसा निकाल्न सकिने

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विथड्रल सेवा सुरु गरेको छ।

Tata
GBIME
Zonsen

यस सेवामा आबद्ध बैंकहरूका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिनाकार्ड मोबाइल बैंकिङ वा कनेक्टआइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको एनसीएचएलले जनाएको छ। अब दुवै बैंकका ग्राहकहरूले यस सेवाको सुरूवातपश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ।

हालका लागि ग्राहकहरूले एनसीएचएलले संचालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्।
ग्राहकले कनेक्टआइपीएस मोबाइल एपमा लग इन गरी कार्डलेस विथड्रल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्छ।

त्यसपछि कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा ओटीपी आउँछ। सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपी प्रयोग गरी नगद झिक्न सकिने एनसीएचएलले बताएको छ।

एनसीएचएलका अनुसार हाल यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रुपमा थप अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा पनि विस्तार गर्ने योजना रहेको छ।

अहिले बैंकका ग्राहकहरूले कार्डलेस विथड्रल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था छ। यो नयाँ सेवाको सुरूवातपश्चात् ग्राहकहरूले सजिलै अर्काे बैंकको एटीएम मेसिनबाट समेत बिनाकार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ।