हवाई दुर्घटनाबारे संसद्‍मा छलफल हुने, रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव



बिजमाण्डू
२०८१ साउन २९ गते १७:०९ | Aug 13, 2024
हवाई दुर्घटनाबारे संसद्‍मा छलफल हुने, रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
सभामुख देवराज घिमिरेलाई जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव बुझाउँदै रास्वपाका सांसदहरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले बारम्बार भइरहेका हवाई दुर्घटनाबारे संसद्‍मा छलफल गराउन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ।

Tata
GBIME
Zonsen

रास्वपा सांसद सोबिता गौतमले मंगलबार संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएकी हुन्। ‘एकातिर ईयूको कालोसूचीमा निरन्तर समावेश भइरहनु, अर्कोतिर निरन्तर हवाई दुर्घटना हुनु कुनै संयोग होइन, यो नेपालको हवाई क्षेत्रको ठूलो असफलता र जिम्मेवार निकायको अकर्मण्यता हो,’ प्रस्तावमा भनिएको छ।

प्रस्तावमा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन नहुने अवस्था अन्त्य गराउनुपर्ने उल्लेख छ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिका किन फितलो भएको हो?,’ प्रस्तावमा भनिएको छ, ‘नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्न, हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थामा सम्बन्धित अधिकारीहरूलाई जिम्मेवार बनाउन आवश्यक छ।’

प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्नका लागि पहल लिन पनि संसद‍्मा छलफल गराउनुपर्ने गौतमको माग छ। ‘प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायकको रुपमा विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमन कार्यलाई प्रभावकारी बनाउन र सेवा प्रदायकहरूको सेवालाई समेत व्यवस्थित गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सिफारिस किन लागू नभएको हो भन्नेबारे छलफल गर्न आवश्यक देखियो,’ गौतमको भनाइ छ।

प्रस्तावमा १३ रास्वपाका १३ सांसदले समर्थन जनाएका छन्।