काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफा वृद्धि गरेको छ। कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो वर्षभन्दा ३०.८१ प्रतिशतले धेरै हो। कम्पनीले २०७९/८० मा ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद बीमा शुल्क आर्जन र लगानीबाट हुने आम्दानी वृद्धि हुँदा कम्पनीको नाफामा सुधार देखिएको हो। २०७९/८० मा ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको नेपाल लाइफले गत वर्ष ९.८६ प्रतिशतले वृद्धि गरेर ४० अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ।
कम्पनीको लगानीबाट हुने आम्दानी अघिल्लो वर्षभन्दा १८.९७ प्रतिशतले बढेर १५ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
प्रति सेयर आम्दानी ६.२६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ।