चिनियाँ जुत्ताचप्पलको आयात घट्दै, व्यवसायीले बिक्री गर्न थाले स्वदेशी उत्पादन



सरला सुवेदी
२०८१ साउन २९ गते ०६:३२ | Aug 13, 2024
चिनियाँ जुत्ताचप्पलको आयात घट्दै, व्यवसायीले बिक्री गर्न थाले स्वदेशी उत्पादन

काठमाडौं । चिनियाँ जुत्ताचप्पलको आयात घट्न थालेको छ। लागत महँगो भएपछि चिनियाँ जुत्ताचप्पलको आयात कम भएको छ भने स्वदेशी उत्पादनको प्रयोग बढेको व्यवसायीहरुले बताएका छन्।

Tata
GBIME
Zonsen

अघिल्ला वर्ष चिनियाँ सामान सस्तो पर्ने भएकाले धेरै व्यवसायीले आयात गर्ने गर्थे। थोक बजारमा पनि चिनियाँ जुत्ताचप्पल धेरै हुन्थ्यो। दैनिक रुपमा प्रयोग हुने जुत्ताचप्पल चिनियाँ बढी हुने भए पनि पछिल्लो समय बजारमा स्वदेशी उत्पादन प्रयोग धेरै हुन थालेको पाइएको छ।

जुत्ता आयात गर्दा ४० प्रतिशत भन्सार लाग्छ। यसमा पनि स्पोट्स सुज, बुट, अन्य कपडाको जुताहरु पर्छन्। चप्पलको भन्सार दर जुत्ताभन्दा कम हुन्छ। जुत्ताचप्पलको भन्सार मूल्यांकनका कारण पनि आयात कम हुँदै गएको छ।

हाल बजारमा स्वदेशी उत्पादनले ६० प्रतिशत र आयातित जुत्ताचप्पलले ४० प्रतिशत बजार लिने गरेको व्यवसायीहरुको भनाइ छ।

पछिल्लो चिनियाँ जुत्ताचप्पल थोक खरिदमै महँगो पर्न थालेको आयातकर्तामध्येका रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार हाल बजारमा जुत्ताचप्पलको माग पहिलेभन्दा कम छ।

‘गत वर्षसम्म दसैंका लागि एक करोड रुपैयाँसम्मको जुत्ताचप्पल आयात हुन्थ्यो,’ उनले भने, ‘अहिले ४० देखि ५० लाख रुपैयाँको बराबरको सामान आयात भइरहेको छ।’

यतिबेला धेरै व्यवसायीले स्वदेशी उद्योगद्वारा उत्पादित जुत्ताचप्पल नै बिक्री गर्न थालेको उनले बताए। ‘भन्सार तिरेर ल्याउनु भन्दा यहीँ बनेको जुत्ताचप्पल बिक्री गर्न सहज छ,’ श्रेष्ठले भने। चाडपर्वका लागि पनि चीनबाट पहिले भन्दा कम परिमाणमा सामान आयात गरेको उनले जानकारी दिए।

४० प्रतिशत भन्सार तिरेर जुत्ता आयात गर्दा लागत बढी पर्न थालेको फुटवेयर व्यवसायी सूर्य चौलागाईँले बताए। ‘दसैंका लागि स्पोर्ट्स जुत्ताहरु ग्राहकले खोज्छन्। उच्च भन्सार दरले लागत उठाउन पनि गाह्रो भइसक्यो,’ उनले भने।

तुलनात्मकरूपमा चीनमा सामान महँगो नभए पनि ढुवानी र भन्सार दरले महँगो हुने उनले बताए। ‘बजारमा आइपुग्दासम्म बढी मूल्य हुन्छ,’ उनले भने, ‘बिक्री नै घटेको छ।’

उनका अनुसार स्वदेशी उद्योगका लागि पनि स्थिति सहज छैन। जुत्ताचप्पलका उद्योग चलाउनका लागि कच्चा पदार्थ चीन र कालीगढ भारतदेखि ल्याउनु पर्छ। ‘जसरी पनि देशको पैसा सबै बाहिर जान्छ। आयात गर्न पनि भन्सार शुल्क बढेर सामान महँगो भएपछि आयात पनि पहिले भन्दा आधा घटेको छ,’ उनले भने, ‘जुत्ताप्पलको बिक्री ३० प्रतिशतको हाराहारीमा छ।’ 

व्यवसायीका अनुसार यति बेला बजारमा उपभोक्ताले सस्तो खालको सामान खोज्ने गरेका छन्। अहिले स्वदेशी उत्पादन पनि प्रयोग हुन्छ। तर, उपभोक्ताको रोजाइ अनुसारको सबै खालका जुत्ता चप्पलहरु यहाँ नपाइने हुनाले व्यवसायीले आयात नै नगरी हुँदैन।

‘आयात नगरी नहुने जुत्ता-चप्पल मात्रै आयात हुँदैछ, चाडपर्वका लागि केही सामान आइसकेको छ, केही आउने क्रममा छ,’ व्यवसायी चौलागाईँले भने।  

व्यवसायी तथा आयातकर्ता नवराज गौतमले चिनियाँ जुत्ताचप्पल निकै कम परिमाणमा आएको बताए। बजारमा स्वदेशी र आयातित जुत्ताहरु बिक्री भइरहेका छन्। ‘पहिलेको तुलनामा बजारमा माग र कारोबार दुवै घटेको छ,’ उनले भने, ‘चिनियाँ जुत्ताहरु २ हजारभन्दा तलको कम मात्रामा पाइन्छ। भन्सारका कारण बजारमा जुत्ताचप्पलको मूल्य बढेको हो।’ चीनमा सस्तो मूल्यमा सामान पाए पनि धेरै ल्याएर बेच्न सक्ने अवस्था नभएको उनले बताए।

फेसनअनुसार चलेका जुत्ता र चप्पलको माग भने बढिरहेको गौतम बताउँछन्। ‘यहाँ उत्पादन गरिएको जुत्ताले मात्र नपुग्ने भएकाले आयात गर्नैपर्ने हुन्छ,’ उनले भने।

उत्तरी नाकाबाट जुत्ताचप्पलको आयात कम हुन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। पहिले चिनियाँ जुत्ताचप्पल धेरै आयात हुने नाकामा पछिल्लो समय घट्दै गएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।

उनका अनुसार उक्त नाकाबाट जुत्ताप्पल बनाउने कच्चा पदार्थको आयात भने बढ्न थालेको छ। स्वदेशी उत्पादन धेरै भएकाले पनि तयारी जुत्ताचप्पलको आयात घटेको हुनुपर्ने उनको ठम्याइ छ।