काठमाडौं। एउटा गाउँका वृद्ध किसानसँग सानो टुक्रा सुन थियो। एक दिन उनले सोचे- यदि यो टुक्रा बीउ जस्तै रोपें भने त मनग्य बाली लाग्छ। उनले सुनको टुक्रा आफ्नो खेतमा गाडे र हरेक दिन पानी हाल्न थाले।
गाउँलेहरूले उनलाई पागल भनेर उडाउन थाले। वृद्ध किसानले कहिल्यै वास्ता गरेनन्। केही महिनापछि, उनको खेतमा सुनका साना-साना टुक्राहरू देखा परे। गाउँले अचम्मित भए।
वास्तवमा ती सुनका टुक्रा वृद्ध किसानका छोराले छरिदिएका थिए- ताकी बाबुले दैनिक पानी हाल्न छाडुन्। सुन फलेको देखेर गाउँका सबैले आफ्नो भएभरका सबै सम्पत्ति बेचेर त्यो जमिन किन्न खोजे। सुनको माग बढ्यो र मूल्य अकासियो।
‘सुनको मूल्य हाम्रो विश्वास र मेहनतमा निहित छ। जति धेरै मानिसहरूले यसलाई चाहन्छन्, त्यति नै मूल्य बढ्छ।’
कथाको सार हो- माग र आपूर्तिको सिद्धान्त सुनमा पनि लागू हुन्छ।
तपाइँ-हामीले थाहा पाएदेखि सुनको मूल्य सायदै घटेको होला। सजिलोका लागि हामी सन् २००० देखिको तथ्यांकलाई हेरौं। सन् २००० मा सुनको मूल्य प्रति औंस लगभग ३०० अमेरिकी डलर थियो। अहिले यो बढेर २४०० डलरभन्दा माथि पुगेको छ।
यो वृद्धिले विश्व अर्थतन्त्रमा सुनको महत्त्वपूर्ण भूमिकालाई मात्र प्रतिबिम्बित गर्दैन, वृद्ध किसानको काल्पनिक कथालाई यथार्थ बनाइदिन्छ।
सन् २००८ को वित्तीय संकट र कोभिड-१९ महामारी जस्ता घटनाले लगानीकर्तालाई सुनले थप आकर्षित गरेको देखिन्छ। विश्वका केन्द्रीय बैंकहरूको विस्तारवादी मौद्रिक नीतिले मुद्रास्फीतिको जोखिम बढाएको छ, जसले गर्दा लगानीकर्ताहरु मूल्य संरक्षणका लागि पनि सुनमा आकर्षित भएका हुन्।
बीचबीचमा अमेरिकी डलरको मूल्यमा आएको गिरावटले सुनको आकर्षण बढाएको देखिन्छ। धेरै देशका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा भण्डारमा विविधीकरण गर्न पनि सुन खरिद गरिरहेका छन्। यसबाहेक विश्वभर राजनीतिक अस्थिरता र संघर्षले सुनको माग बढाएको छ।
सन् २००० ताका बिहे गर्नेहरुले सुन तोलामा ११ हजारका दरले किनेको कथा सुनाउँछन्। तर अहिले सुनको मूल्य एक लाख ५० हजार रुपैयाँसम्म पुगेको छ। घट्दा झिनो अन्तरले घट्ने तर बढ्दा फराकिलो छलाङ लगाउने गरेको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरू सुनको मूल्य भविष्यमा थप बढ्ने बताउँछन्। उनीहरु सन् २०२४ को अन्तिमतिर सुनको मूल्य प्रति औंस ३,००० डलर पुग्ने अनुमान गर्छन्।
सन् २००० देखि २०२४ सम्मको सुनको मूल्य वृद्धिलाई हेर्न सकिन्छ। सन् २०००-२००५ मा सुनको मूल्य वार्षिक १० प्रतिशतका दरले बढ्यो। सन् २००० मा प्रति औंस लगभग २७२ डलरबाट सुरु भएको मूल्य २००५ सम्म आइपुग्दा ४४५ डलर पुग्यो।
२००६-२०११ मा सुनको मूल्य तीव्र दरले बढ्यो। वार्षिक २० प्रतिशतका दरले नै सुनको मूल्य उक्लियो। खासगरी सन् २००८ को वित्तीय संकटपछि मूल्यमा उल्लेखनीय वृद्धि भयो। २०११ मा मूल्य प्रति औंस १,८९६ डलरसम्म पुग्यो।
सन् २०१२-२०१५ का बीचमा गिरावट देखियो। सन् २०१५ मा मूल्य १,०६० डलरसम्म झर्यो। सन् २०१६-२०१९ सुनका लागि पुनरुत्थानको समय बन्यो। २०१९ को अन्त्यसम्म सुनको मूल्य १,५२३ डलरसम्म पुग्यो।
२०२०-२०२४ सुनका लागि उच्च उडान भर्ने समय बनेको छ। अहिले सुनको मूल्य २,४०० डलर हाराहारी छ।
सुन नेपालमा लगानी औजारभन्दा पनि गरगहनाका लागि थुपार्ने चलन रहेकामा पछिल्लो समय लगानीको साधन बन्न थालेको छ। ‘ढिक्काढिक्कै’ सुन उठाएर राख्ने प्रवृत्ति बढेर गएको छ। घटेको सेयर बजार र रियलइस्टेट कारोबारमा छाएको मन्दीले आम लगानीकर्ता सुनतर्फ आकर्षित भएका थिए। व्यावसायिक घरानाहरुले समेत सुनमा लगानी गरे।
‘सुन र सत्यलाई कुनै दागले छुँदैन’ भन्ने नेपाली उखानले सुनको दीर्घकालीन मूल्य र महत्त्वलाई दर्शाउँछ। तर, मूल्य सधैं नबढ्न पनि सक्छ। सन् २०१२ मा सुनको मूल्य घटेको थियो। सन २०२४ मा आउँदा मूल्य घटेको १२ वर्ष पुगेको छ। नेपालीमा उखान छ- १२ वर्षमा खोलो फर्किन्छ।
तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ३,००० डलर नाघ्ने अनुमान गरिरहेका छन्। त्यसो हुँदा नेपालमा तोलामा सुन २ लाख रुपैयाँ नाघ्न सक्छ।