सिमलताल दुर्घटनाको महिनादिन : अझै भेटिएन बस र मानिस, आखिर किन ?



बिजमाण्डू
२०८१ साउन २८ गते १४:४३ | Aug 12, 2024
सिमलताल दुर्घटनाको महिनादिन : अझै भेटिएन बस र मानिस, आखिर किन ?
त्रिशुलीमा सोनार प्रविधि प्रयोग गरेर बस र मानिस खोज्दै गोताखोर ।

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा रात्रि र यात्रु बेपत्ता भएको एक महिना बितिसकेको छ। घटना भएको बिहानै देखि सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेका थिए। तर, अझै पनि बस र यात्रु फेला पर्न सकेको छैन।

Tata
GBIME
Zonsen

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाले अहिले पनि खोजी कार्य जारी राखेको छ। भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोलीले खोजी गर्दा पनि बस र यात्रु भेटिएनन्।

असार २८ गते शुक्रबार वीरगंजबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। केहीको शव फेला परे पनि अधिकांशको अवस्था अज्ञात नै छ।

सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा सो दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको थियो। सो समितिले दुर्घटनाको कारण र हराएको बस भेटिन नसक्नुको कारण सहित प्रतिवेदन बुझाएको छ।

घटना भएपछि उद्धारकर्मी र सुरक्षाकर्मी घटनास्थल पुग्दासम्म नदीको उच्च बहावका कारण बस र त्यसमा सवार यात्रु बगेर कहाँसम्म पुगिसकेको भनी एकीन गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ। खोजी कार्य निरन्तर जारी भए पनि यात्रु र बसको अवस्था अज्ञात रहेको (केही यात्रुको शव घटनास्थलभन्दा १०७ किलोमिटर परबाट समेत भेटिएको) थियो। भारतबाट पनि प्रहरीले दुई वटा शव ल्याएको थियो।

सिमलतालबाट त्रिशूलीमा खसेका दुई बस र यात्रीको खोजी गर्दै सुरक्षाकर्मीहरू। फाइल तस्बिर : कृष्ण आचार्य/रासस

वर्षातको समयमा नदीको उच्च बहाव भएको र धमिलो पानीका कारण स्थिर पानीमा जति खोजी कार्य सहज नहुने र पानीमा प्रयोग गरिने प्रविधिले माटो मुनि पुरिएका वस्तुहरू पत्ता लगाउन नसक्नुका साथै जडित क्यामेराको धमिलो पानीमा रिजोलुसन फरक पर्ने हुँदा प्रविधिको सिमितता रहेको सशस्त्र प्रहरीले जानकरी दिएको छ।

पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा ‘सोनार’ले दिएको संकेत ‘अपरेटर’ले बुझ्न नसक्नु अर्को कारण भएको प्रतिवेदनमा उल्लेख छ। कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोंचमा बस च्यापिने सम्भावना रहेकाले त्यहाँसम्म ‘सोनार’ प्रविधिको पहुँच नपुग्नु पनि अर्को कारण हो।

क्यानिङ सर्भिलेन्स सोनार सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्ने भएता पनि हाल त्रिशूलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको देखिएको छ।

नदीमा ठूला ठूला ‘टाइमिङ वाल’, ‘ह्वोल ह्विर्लपुल’ हरू भई ‘बोट अपरेसन सोनार डिभाइस’हरु प्रयोगमा कठिनाइ भएको थियो।पानीको तीब्र बहाव र ठूला-ठूला खाँचहरू तथा नदीमा बगाएर ल्याएका काठका मुढाहरूले गर्दा गोताखोरहरू परिचालनमा उच्च जोखिम भएको देखिएको समेत रिपोर्टमा उल्लेख छ।

त्रिशुली नदीमा गोताखोरहरु। फाइल तस्विर : रासस

तीब्र बहावको कारण ‘राफ्ट’हरु शंकास्पद स्थानहरूमा स्थिर गरि खोजतलास गर्न कठिनाइ भएको पनि प्रतिवेदनमा उल्लेख छ। नारायणी नदीको देवघाटदेखि दक्षिणतर्फको भागमा मगरगोही जस्ता पानीमा बस्ने हिंस्रक जीवहरू हुन सक्ने कारणले गोताखोर परिचालनमा जोखिम भएको देखिन्छ।

उच्च बहावसहित बग्ने यस प्रकारका नदीहरूमा खोज तथा उद्धार कार्यमा प्रयोग गरिने आधुनिक प्रविधि तथा सञ्चालन गर्ने दक्ष प्राविधिकको पनि सिमितता रहेको प्रतिवेदनमा लेखिएको छ।

त्रिशुली नदीमा करिब १० वर्ष पहिले पूर्व मुख्य सचिव एवम् पूर्व गृह मन्त्री माधव घिमिरे दुर्घटना परेका थिए। सो गाडी पनि हालसम्म पत्ता लागेको छैन। त्यतिमात्रै होइन त्रिशुलीमा खसेर डुबेका ग्यास बोक्ने बुलेट लगायत आठवटा ठुला सवारीहरु आजसम्म पनि फेला परेका छैनन्।