पूर्व अर्थमन्त्री प्रकाशशरण महतले भनेजस्तै नेप्सेका कर्मचारीले इन्साइडर ट्रेडिङ गर्छन् ?



बिजमाण्डू
२०८१ साउन २७ गते १४:२७ | Aug 11, 2024
पूर्व अर्थमन्त्री प्रकाशशरण महतले भनेजस्तै नेप्सेका कर्मचारीले इन्साइडर ट्रेडिङ गर्छन् ?


काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको गम्भीर आरोप लगाएका छन्।

Vigo
GBIME
Tata

अर्थ समितिको बिहीबारको बैठकमा नेप्सेमा सूचीकृत कम्पनीका व्यक्ति नेप्सेका कर्मचारी रहेको र उनीहरुकै सूचनाका आधारमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको दाबी गरेका हुन्।

आफू अर्थमन्त्री भएको समयमा छानबिन समिति बनाएको र सरकार फेरिएपछि अन्योल रहेको समेत धारणा उनले राखेका छन्।

महतले नेप्सेका कर्मचारीमाथि गम्भीर प्रश्न खडा गरेका छन्। तर, के साच्चिकै नेप्सेका कर्मचारीको मिलेमतोमा ‘इन्साइडर ट्रेडिङ’ भइरहेको छ त ?

नेप्से स्रोतका अनुसार कोभिड-१९ को समयमा नेप्सेका दुईजना कर्मचारीको आफन्तले कारोबार गरेको भेटिएको थियो। नेप्सेको आइटी विभागका दुई कर्मचारीमध्ये एकजनाको बहिनी र एकजनाको श्रीमानले २ लाख र ४ लाख रुपैयाँको कारोबार गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो।

नेप्सेकै कर्मचारीबाट परेको सो उजुरीपछि अख्तियारले समेत छानविन अगाडि बढाएको थियो। नेप्सेबाट अख्तियारबाहेक अर्थ मन्त्रालयमा पनि उजुरी परेको थियो।

नेप्से स्रोतका अनुसार नयाँ अर्थमन्त्री र सेबोन अध्यक्ष आउने बित्तिकै त्यस्तो उजुरी परिहाल्छ। त्यही उजुरीका आधारमा डा. महतले इन्साइडर ट्रेडिङको अनुसन्धान गर्न लगाएका थिए।

अनुसन्धानमा एकै घरमा रहेका परिवारका सदस्याले सेयर कारोबार गरेको देखिएको थियो। तर, त्यो कारोबार गर्ने कर्मचारीलाई कारबाही भने भएको छैन।