असला माछालाई ‘ब्राण्ड’ बनाउने गलकोटको प्रयास, तीन महिना माछा मार्न प्रतिबन्ध



बिजमाण्डू
२०८१ साउन २७ गते ०६:५० | Aug 11, 2024
असला माछालाई ‘ब्राण्ड’ बनाउने गलकोटको प्रयास, तीन महिना माछा मार्न प्रतिबन्ध
File Photo

काठमाडौं । गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ। यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो।

Tata
GBIME
Zonsen

गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ। नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो। जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए।

‘गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछाको पर्याप्त पाउन थालेको पाइएको थियो। यस वर्ष पनि तीन महिनाका लागि माछा मार्न रोक लगाइएको हो,’ उनले भने।

रोक लगाएको अवधिमा माछा मारेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ।

नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताए। उनले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने तयारी भइरहेको जानकारी दिए। अनुमतिप्राप्त व्यक्तिले मात्र माछा मार्दा रोजगारी सिर्जना हुने र नगरपालिकालाई राजस्व प्राप्त हुने उनको भनाइ छ।

गलकोट आउने अधिकांक पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायी कौशिला घर्तीले बताउँछन्। असला माछा प्रतिकेजी एक हजार ६०० रुपैयाँसम्म बिक्री हुने उनले बताए। रासस