वालिङ (स्याङ्जा)। वालिङको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख रुपैयाँभन्दा बढीको सागसब्जी बिक्री गरेको छ। वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा ६७ लाख २५ हजार २ सय ९९ रुपैयाँको सागसब्जी बेचेको हो।
सदस्य कृषकहरुले आ–आफ्नो खेतबारीमा फलाएका सागसब्जी सहकारीले संकलन गरी बिक्री गर्दै आएको संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए। ‘यहाँका कृषकले सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ’, उनले भने, ‘सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगेर बिक्री गर्न समन्वय गरिरहेको छ।’
कृषकले उत्पादन गरेका सागसब्जीका लागि बजारको समस्या नभएको रहेको बताउँदै अध्यक्ष अर्यालले सहकारीको सङ्कलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए। ‘कृषकबाट संकलन गरिएका कृषि उपज केन्द्रमा राख्छौं। व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ,’ उनले भने, ‘ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको गाडीमा स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौं।’
कृषकले केन्द्रमा ल्याउने सागसब्जी, फलफूल तथा अन्य कृषि उपजको विवरण कर्मचारीले लिने र बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा जम्मा गरिदिने व्यवस्था गरिएको जानकारी उनले दिए। यसका लागि सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रति किलो तीन रुपैयाँ खर्च कटाउँदै आएको छ।
कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे।
‘सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्याउँदै आएका छौं,’ उनले भने, ‘कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढंगले कृषि कर्जा वितरण गरिरहेका छौं।’
उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताए। गत आव आफूले तीन लाख रुपैयाँभन्दा बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए। ‘१४ रोपनीमा गोलभेँडा, काँक्रा, बोडी, बोडा, घिरौंला, करेला, बन्दा, काउली फलाएर बेच्दै आएको छु,’ उनले भने, ‘सहकारीमार्फत बेच्दा सजिलो छ, एकैमुस्ट पैसा पाइन्छ।’
उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे। ‘हामीले लगेर छोडेको सागसब्जी, फलफूल सहकारीले बिक्री गर्छ,’ उनले भने, ‘आएको पैसा खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ।’
वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जी र फलफूल खेती गर्दै आएका छन्। उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए।
‘सहकारीमा सबैभन्दा बढी कृषि उपज संकलन गरेर पुरस्कृत हुँदै आएको छु,’ कृषक रेग्मीले भने, ‘सागसब्जी र फलफूल खेतीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी हुन्छ। ६ रोपनी जग्गामा मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएको छु।’ उनले गत आवमा तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए।
सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज सङ्कलन गराउने कृषकलाई पुरस्कृत गर्दै आएको छ। उत्पादित सागसब्जी र फलफूल आइतबार, मंगलबार र बिहीबार केन्द्रमा सङ्कलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए। रासस