काठमाडौं। गत सोमबार केन्द्रीय सुरक्षा समिति बैठक बस्यो। बङ्गलादेशमा भएको पछिल्लो राजनीतिक परिवर्तनले नेपालमा हुनसक्ने सुरक्षा चुनौतीमाथि बैठक केन्द्रित थियो। गृहमन्त्री रमेश लेखकले नेपालमा सम्भावित सुरक्षा जोखिमबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिए।
त्यसपछि बङ्गलादेशबाट नजिकको नाका काँकडभिट्टा क्षेत्रमा सुरक्षा तैनाथी बढाइयो। केहीदिन नाका बन्द नै भयो। बिहीबारबाट भने आवतजावत केही सहज बनेको छ।
गृह मन्त्रालयमा बसेको बैठकमा पछिल्लो समय सरकार र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको चिसिएको सम्बन्ध पनि छलफलको विषय बनेको थियो।
कुलमानलाई लक्षित गरी सरकारले कुनै निर्णय गरे त्यसले जनमानसमा आक्रोश फैलिइ ठूलै रुप लिनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने कुरा चल्यो। बैठकले कुनै निर्णय त गरेन, तर कुलमान जोडिने सन्दर्भलाई गहिरो गरी निगरानी गर्नुपर्ने निचोड निकाल्यो।
‘कुलमानसँग अहिले प्रधानमन्त्री चिढिनुभएको छ। लेखा समितिले पनि कुलमानलाई गलत सावित गर्न खोजेजस्तो देखिएको छ। तर, जनमत भने कुलमानको पक्षमा छ। त्यसैले उनीविरुद्ध कुनै कदम चाल्दा जनआक्रोश बढ्न सक्छ कि भन्ने कोणबाट केही कुरा भएको हो,’ बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने।
यतिखेर डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बक्यौतालाई लिएर सरकार र उद्योगी एकातिर तथा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ अर्कातिर जस्तो देखिएका छन्। कुलमान र उद्योगी आमनेसामने हुँदा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋक्षिकेश पोखरेलले उद्योगीको चाहना अनुसार समिति बाहिर बसेर कुलमानलाई कारबाही गराउने निर्णयको मस्यौदा नै तयार पारेको बाहिरिएको छ।
यसको प्रभाव सोसल मिडियामा पनि देखिन थालेको छ। सत्तारुढ नेकपा एमालेका नेता कार्यकर्ता कुलमानविरुद्ध उभिएका छन्। नेपाली कांग्रेस यस विषयमा मुखर भएर आएको छैन।
माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी खुलेरै सरकारको विरोध र कुलमानको समर्थनमा उत्रिएका छन्।
कुलमानलाई अख्तियारदेखि प्रहरीको अनुसन्धानमा तान्नुपर्ने गरी पोखरेलले तयार पारेको मस्यौदा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा सरकारको विरोध बढेको छ। समितिका सभापति पोखरेल एमालेका हुन्। उनले प्रधानमन्त्री ओलीको चाहना अनुसार कुलमानविरोधी निर्णय गराउन खोजेको भन्दै सामाजिक सञ्जालमा विरोध गर्ने कतिपयले आन्दोलनमा उत्रने चेतावनीसम्म दिइरहेका छन्।
शनिबार दिउँसो ३ बजे काठमाडौंमा कुलमानको समर्थनमा शक्ति प्रदर्शनको तयारी छ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको अवस्थालाई पार लगाएका कारण मानिसहरु कुलमानप्रति कृतज्ञ सुनिन्छन्। उनी विवादमुक्त भने होइनन्। यतिखेर सोसल मिडियामा प्रधानमन्त्री ओलीमाथि गालीगलौज र कुलमानको ‘वाहवाही’ जारी छ। फेसबुक, ट्विटर, रिल जस्ता प्लेटफर्ममा आरोप र समर्थनका पोस्ट बढ्दो छ।
कुलमानको पक्षमा उभिनेहरुले सरकारविरुद्ध सडकमा उत्रिएरै प्रदर्शन गर्ने मात्र बताइरहेका छैनन्, बङ्गलादेशको स्थिति ख्याल गर्न चेतावनी दिइरहेका छन्। बङ्गलादेशको जस्तै स्थिति निम्तिने चेतावनीयुक्त अभिव्यक्ति सोसल मिडियाबाट आइरहेको छ।
सरकारको काम गराइबाट चुलिएको असन्तुष्टिमा कुलमानलाई लिएर गरिने निर्णयले ‘फ्युलिङ’को काम गरी सुरक्षा चुनौती बढ्न सक्ने आशंकामा नेपाल प्रहरीले निगरानी बढाएको छ।
‘हामीले सामाजिक सञ्जालमा व्यक्ति भइरहेको अभिव्यक्तिलाई निगरानी गरिरहेका छौं। सेक्युरिटी थ्रेटलाई विश्लेषण गरेर नजिकबाट हेरिरहेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने।
बङ्गलादेशको पछिल्लो परिवर्तनको नेतृत्व युवा-विद्यार्थीले गरेका थिए। यहाँ पनि युवाको सेन्टिमेन्टलाई ध्यानमा राखेर ‘क्लोज वाच’ गरिरहेको प्रहरीले जनाएको छ।
‘कुलमानको सन्दर्भमा सरकार र संसदीय समितिले गर्ने निर्णयले अर्थ राख्छ। कस्तो निर्णय आउँछ? त्यसैअनुसार प्रहरीले स्ट्राटेजी तयार गर्छ,’ एक उच्च पदस्थ प्रहरी अधिकृतले भने।