४५ वर्षमा ४१ वटा हेलिकप्टर दुर्घटना : ९८ जनाको मृत्यु, एयर डाइनेष्टीको चौथो दुर्घटना

सहयोग रञ्जित
२०८१ साउन २३ गते १६:५३ | Aug 7, 2024
४५ वर्षमा ४१ वटा हेलिकप्टर दुर्घटना : ९८ जनाको मृत्यु, एयर डाइनेष्टीको चौथो दुर्घटना
सूर्यचौरको दुर्घटनास्थलमा प्रहरी र सेना

काठमाडौं । आज दिउँसो नुवाकोटको सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भयो। दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित चार जना चिनियाँ नागरिकको निधन भएको छ।

Tata
GBIME

दिउँसो १ बजेर ५२ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर केही बेरमा नै सम्पर्कविहीन भएको थियो। नुवाकोटको शिवपुरी-७ का स्थानीयले आगो बलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको हो।

४१* औं दुर्घटना, ९८ जनाको मृत्यु

आज नुवाकोटमा भएको दुर्घटनासँगै मुलुकमा हालसम्म भएका हेलिकप्टर दुर्घटना ४१ पुगेको छ। पहिलो हेलिकप्टर दुर्घटना भएको ४५ वर्षमा यति संख्या पुगेको हो।

नेपालमा सबैभन्दा पहिलोपटक सन् १९७९ डिसेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो। भीभीआइपी सवार उक्त हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।

सूर्यचौरमा दुर्घटनापछि प्रहरीले ५ वटा शव फेला गरेको छ।

नागरिक उड्डयन प्राधिकरणको एयर सेफ्टी रिपोर्ट सन् २०२३ मा उल्लेख भए अनुसार पछिल्लोपटक सन् २०२३ जुलाई ११ मा सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको थियो। सो दिन मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।

यस्तै, २०८० असोज २७ गते मनाङ एयरकै अर्को हेलिकप्टर दुर्घटनामा परेको थियो। सो दुर्घटनाबारे भने एयर सेफ्टी रिपोर्टमा उल्लेख छैन। सो दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाश कुमार सेढाइको उपचारका क्रममा मृत्यु भएको थियो। लुक्लाबाट लोबुचेतर्फ यात्रु उद्धार उडानका लागि गएको नाइन एन-एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो। यो उडानमा क्याप्टेन सेढाइमात्र थिए।

लुक्ला-लोबुचे उडान क्रममा भएको सो दुर्घटनामा हेलिकप्‍टर आगलागीका कारण उनी घाइते भएका थिए। उपचारका लागि उनलाई मुम्बईको नेसनल बर्न सेन्टरमा लगिएकोमा उपचारका क्रममा निधन भएको थियो।

यस्तै,सन् २०२३ कै मे ५ मा संखुवासभामा सिम्रिक एयरको विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। त्यसअघि सन् २०१९ मा अप्रिल १९ मा लुक्ला विमानस्थलमा मनाङ एयरको विमान दुर्घटना भएको थियो।

कहिले कहिले भयो हेलिकप्टर दुर्घटना

आजको दुर्घटनामा हेलिकप्टरमा सवार क्याप्टेन मल्लसहित ५ जनाकै मृत्यु भएको छ। यससँगै देशभर भएका सबै हेलिकप्टर दुर्घटना मृत्यु हुनेको संख्या ९८ पुगेको छ।

हेलिकप्टर दुर्घटनामा हालसम्म सबैभन्दा बढी मानवीय क्षति सन् २००६ सेप्टेम्बर २३ मा भएको थियो। सो दिन ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एमआइ-१७ हेलिकप्टर दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा इन्जिनियरसहित प्राविधिकसमेत थिए।

एयर डाइनेष्टीको चौथो दुर्घटना

यसअघि सन् २०१९ फेब्रुअरीमा ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो। सो दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ पुगेका थिए। सो दुर्घटनामा यति एयरलाइन्सका संचालक आङछिरिङ शेर्पासमेतको निधन भएको थियो।

ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो। आज पनि काठमाडौंबाट उडेको एयर डाइनेष्टीको हेलिकप्टर ३ मिनेटमै सम्पर्कविहीन भएको थियो।

सूर्यचौरको दुर्घटनास्थलमा खटिएको प्रहरी

त्यसअघि एयर डाइनेष्टी हेलि सर्भिसको रुपमा संचालित कम्पनीको हेलिकप्टर सन् २००५ जनवरी ४ मा रामेछापको थोस्सेमा दुर्घटना भएको थियो। सो दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो।

त्यसको एक वर्ष नबित्दै सन् २००६ को सेप्टेम्बर ३ मा धौलागिरी बेस क्याम्पमा एयर डाइनेष्टी हेलि सर्भिसको हेलिकप्टर दुर्घटना भएको थियो।

* २०८० असोज २७ गते भएको हेलिकप्टर दुर्घटनाको विवरण छुटेकोमा थप गरिएको छ।