बफेटले लिएको त्यो निर्णय जसले विश्वको सेयर बजार सशंकित, ओरालो यात्रा कहिले रोकिएला?

भावना शर्मा
२०८१ साउन २२ गते १९:४२ | Aug 6, 2024
बफेटले लिएको त्यो निर्णय जसले विश्वको सेयर बजार सशंकित, ओरालो यात्रा कहिले रोकिएला?


गत शुक्रबार अमेरिकाले रोजगारसम्बन्धी कमजोर तथ्यांक सार्वजनिक गरेसँगै विश्वभरका सेयर बजार नराम्ररी प्रभावित बन्न पुगे। बजार प्यानिक हुनु त छँदै थियो, विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका मन्दीमा प्रवेश गर्न लागेको आशंकालाई बल पुर्‍याउने गरी आएका तथ्यांकले बजार उथलपुथललाई बढावा दियो।

Tata
GBIME
NLIC

विश्वकै ठूलो अर्थतन्त्रमा बेरोजगारी दर बढ्नुको खतरा र मन्दीको आशंकाका कारण अमेरिकी, युरोपेली र एसियाली सेयर बजार त्रासको शिकार बने। सबैभन्दा बढी प्रभावित बन्यो जापानी सेयर बजार जसमा ३७ वर्षयताकै सबैभन्दा ठूलो क्र्यास भयो।

जुलाईमा अमेरिका जम्मा १ लाख १४ हजार रोजगारी थपिए जुन अपेक्षा गरिएभन्दा निकै कम हो। अर्कातर्फ हाल त्यहाँ बेरोजगारी दर विगत तीन वर्षयताकै उच्च छ। अमेरिकामा बेरोजगारी दर ४.३ प्रतिशत पुगेको छ। गत वर्ष यो दर ३.५ प्रतिशत थियो।

यस्ता तथ्यांकले रोजगारीमा हुनुपर्ने वृद्धि दरको रफ्तार रोकिएको संकेत गर्‍यो। अनि थपियो प्रश्न – ‘अब फेडरल रिजर्भले कहिले र कति मात्रामा ब्याजदर कटौती गर्छ?’

उच्च बरोइङ कस्टका कारण चिन्तित बजारहरु सेयर मूल्यमा देखिएको गिरावटका लक्षणबाट पनि उत्तिकै डराउन पुगे। जसलाई अझ बढावा दियो एआईमा भएको ठूलो लगानीले सोचेजसरी बजारमा प्रतिफल दिन नसकेको तथ्यले। यसका कारण एआई विद्यमान बजारमा ‘हाइप’मात्र हो भन्दै यसप्रति आशावादी भएका लगानीकर्ताको नजरलाई बदल्ने काम पनि एकै समयमा हुन पुग्यो।

यी सबखाले आशंकाले बजारमा त्रासकै प्रतिक्रियास्वरुप सेयर बजार प्यानिक देखिन पुग्यो।

हुन त सोमबार जसरी विश्व सेयर बजारमा प्यानिक अवस्था सिर्जना भएको थियो त्यो अहिले केही सम्हालिएको देखिन्छ। जापानी बेन्चमार्क निक्केइ स्टकमा मंगलबार एकैदिनमा १०.९८ प्रतिशत सुधार भएको छ।

अघिल्लो दिन १२ प्रतिशत गुमाएर सबैभन्दा बढी प्रभावित बनेको बजार एकै दिनमा ३२१७.४६ अंकले बढ्यो। यसलाई सन् १९९० को अक्टोबरकै जस्तो सुधारका रुपमा हेरिएको छ, जतिबेला बजारले सिंगल डे जम्पमा २६७६.५५ अंकको सुधार गरेको थियो।

निक्केइ स्टक एभरेज पनि मंगलबार एक विन्दुमा १०.९८ प्रतिशतले बढ्यो।

अमेरिकी अर्थतन्त्रको मन्दी प्रवेशको आशंका तथा फेडको ब्याजदर कटौतीमा बढ्दो सरोकारसँगै जापानी सेयर बजार ऐतिहासिक ओरालो लागेको थियो। ‘तर बजारको चिन्तालाई हटाउनका लागि आश्वस्त पार्ने गरी तथ्यांक आएपछि त्यसले जापानी सेयर बजारलाई शान्त पार्न सक्यो,’ सिंगापुरस्थित एसएमबीसीका अर्थविद् रेयोटा आबेले भने।

उनका अनुसार यो सुधारले रातारात डलर ऐन दरलाई सच्याउन मद्दत पुग्यो जसले बजारको नोक्सानीलाई केही हदसम्म पूर्ति गर्न मद्दत पुग्यो।

बजार प्यानिक हुँदा जापानमा प्रधानमन्त्री फुमियो किसिदा नै अघि सरेर सम्बोधन गर्नुपर्ने अवस्था आयो। उनले लगानीकर्तालाई आश्वस्त हुने गरी भने- ‘अहिलेको अवस्थालाई शान्त भएर मात्र विश्लेषण गर्नुपर्छ। हामीले बजारलाई निरन्तर अनुगमन गरिरहेका छौं। बैंक अफ जापानसँगको सहकार्यमा आर्थिक र वित्तीय व्यवस्थापन प्रक्रियाहरुमाथि निरन्तर र सचेत रुपमा निगरानी गरिरहेका छौं।’

त्यसो त मंगलबार दक्षिण कोरिया, ताइवान, इन्डोनेसिया र भियतनामका बजार पनि सामान्य बढेरै बन्द भएका छन्। तर, अमेरिकी सेयर बजारमा भने अहिले पनि सन्त्रासको अवस्था कायमै छ। त्यसैले त्यहाँका सेयर बजार रातै भएर बन्द भए।

बजारमा मुख्यगरी तीनवटा सन्त्रास फैलिएको छ।

पहिलो, मन्दीबारेको बढ्दो चिन्ता। दोस्रो अमेरिकी केन्द्रीय बैंक मन्दीको अवस्था आउन सक्ने विषयलाई चाँडै सम्बोधन गर्न असफल भएको आशंका। अनि तेस्रो हो आर्टिफिसियल इन्टेलिजेन्समा भएका लगानीले सोचे अनुसारको परिणाम दिन सक्छ भन्नेमा लगानीकर्ताको विश्वास कमजोर हुँदै जानु।

मन्दीमा प्रवेशको त्रास

खासमा सोमबार विश्वका ठूला बजारमा सन्त्रास फैलिएको अमेरिकी अर्थतन्त्र मन्दीमा प्रवेश गर्न लाग्यो भनेर हो। अमेरिकाको श्रम विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा जुलाई महिनामा जम्मा १ लाख १४ हजार रोजगारी थपिएको देखियो जुन अपेक्षा गरिएभन्दा निकै कम हो। यो तथ्यांकबाट अमेरिकाको बेरोजगारी दर ४.३ प्रतिशत पुगेको देखियो। तथापि यसलाई त्यति खराब भनिहाल्न मिल्दैन। तर, यसले जोखिम बढ्दै गएको भने संकेत गर्‍यो।

अमेरिकी अर्थतन्त्र बलियो नै देखिन्छ। अन्तिम त्रैमासमा यसले अपेक्षा गरेभन्दा धेरै राम्रो वृद्धि हासिल गरेको छ। यसलाई उपभोक्ताको खर्च गर्ने क्षमतामा कमी नआउनाले साथ दिइरहेको छ। तर पनि बेरोजगारी दरमा वृद्धि हुनुले त्यहाँ मन्दीको आशंका गहिरिएको छ। गोल्डम्यान साचका अर्थविद्हरुले त सोमबार मन्दीको खतराको सम्भावना औल्याउँदै आगामी एक वर्षमा त्यसमा प्रवेश गर्न सक्ने अनुमान नै गरिदिए।

बेरोजगारी दरको ‘सीमित’ तथ्यमा मात्र आधारित भएर गरिएको व्याख्या गलत पनि हुनसक्छ किनभने अन्य आर्थिक तथ्यांक बलियो नै देखिन्छ। फेडले पनि २३ वर्षयताकै उच्च रहेको ब्याजदरलाई घटाउन प्रशस्तै लचकता देखाएको छ।

तर, गोल्डम्यान साचका अर्थशास्त्रीहरुले भने यो सम्भावनालाई विगतको भन्दा अझै १० प्रतिशत बढेर गएको दाबी गरिदिए।  उनीहरुले शुक्रबार सार्वजनिक भएको रोजगारीको प्रतिवेदनलाई ‘अझ बढी चिन्ताको विषय’ भएको बताएका छन्।

फेडरल रिजर्भको ढिलासुस्तीको चिन्ता

फेडरल रिजर्भले आफ्नो आक्रमक ब्याजदर वृद्धिलाई रोक्दै अब कटौती गर्ने अनुमानले कर्पोरेट नाफा बढ्ने अपेक्षा थियो। तर, गत साता फेडले अधिकांशले अपेक्षा गरे अनुसारको ब्याजदर कटौती गरेन। बजारले फेडको यो धैर्यतालाई ढिलाइ र गल्तीका रुपमा हेर्‍यो।  

खासमा फेडले ब्याजदर बढाउन र घटाउन चयन गर्ने समयको कुनै भर हुन्न। केही अर्थशास्त्रीहरु फेडले अब चाँडै ब्याजदर घटाउन थाल्ने अनुमान गर्छन्।

फेडका आगामी बैठक सेप्टेम्बर, नोभेम्बर र डिसेम्बरका लागि तय भएका छन्। सिटी ग्रुप र जेपी मोर्गानका विज्ञहरु के अनुमान गर्छन् भने फेडले आगामी दुईवटा बैठकबाट ब्याजदर ०.५ प्रतिशतले कटौती गर्नेछ। तर, त्यो समय अझ ढिला हुनसक्ने र त्यसअघि नै आकस्मिक ब्याजदर कटौती गर्न बाध्यता आइनसक्ने पनि अनुमान गरिएको छ।

ब्याजदर कटौतीले रोजगार बजारलाई सहयोग गर्छ किनभने यसबाट कम्पनीहरुलाई थप रोजगारी सिर्जना गर्न रकमको उपलब्धता सहज हुन्छ।

तर, फेडले पनि निर्णायक तहमा लिनुपर्ने नीतिगत निर्णयका लागि समय लिन्छ। हाल मुद्रास्फीति नाटकीय रुपमा तल झरेको र बेरोजगारी दर वृद्धि भएकाले केही विज्ञको आशंका के पनि छ भने फेडले ब्याजदर घटाउन अझ बढी ढिलाइ गर्नेछ। जसले रोजगारी वृद्धिको सट्टा फेरि रोजगारी कटौती सुरु गर्नुपर्ने बाध्यता आइपर्न सक्छ। यस्ता किसिमका आशंकाले ठाउँ पाउँदा बजार प्रभावित हुन्छ।  

कोभिड महामारीको सुरुवातीताका गरिएको आकस्मिक ब्याजदर कटौती पछि हालसम्म आकस्मिक कटौती गर्नुपरेको छैन।  

एआईप्रतिको आकर्षण घट्यो

दुई वर्षदेखि प्रविधि क्षेत्रका कम्पनीहरुको सेयर मूल्य उच्च रुपमा अकासिएको थियो। लगानीकर्ताहरुमा एआईले अर्को ‘विश्व औद्योगिक क्रान्ति’ ल्याउने अपेक्षा बढेको थियो। जसले एआईमा ठूलो लगानी गरेका प्रविधि क्षेत्रको सेयर मूल्य चुलियो।  

तर, एआईमा गरिएको लगानीका कारण प्राप्त मुनाफा वास्तवममै शून्य वा नदेखिएको अवस्थामा छ। र, एआई प्रविधि क्षेत्रमा आफ्नो ‘प्राइम टाइम’का लागि तयार भइसकेको भन्ने तथ्य पनि प्रमाणित र स्थापित हुन नसकिरहेको अवस्था छ। कतिलाई लाग्न थालेको छ ‘यो कहिल्यै त्यो अवस्थामा पुग्दैन पनि।’ यसकारण लगानीकर्ताहरु एप्पल, एनभिडिया, माइक्रोसफ्ट, मेटा, अमेजन, अल्फाबेटलगायत अन्य टेक स्टकप्रति अनिच्छुक देखिन थालेका छन्। गत वर्षको सुरुवातदेखि नै वृद्धि देखिएको यी कम्पनीका सेयर मूल्य अब बिस्तारै ओरालो लाग्दैछ।

१ ट्रिलियन डलर वा त्योभन्दा बढी बजार मूल्यका ती कम्पनीहरुमा रहेको सेयर बेचेको अवस्थामा बृहद बजारमा त्यसले ठूलो प्रभाव देखिन्छ किनभने ती कम्पनीहरुको एसएण्डपी ५०० मा राम्रै हिस्सा र प्रभाव राख्छन्। त्यसकारण पनि लगानीकर्ताहरु टेक स्टकप्रति आश्वस्त बन्न नसकिरहेको अवस्था छ।

शुक्रबार नै अमेजनको सेयर मूल्य १० प्रतिशतले गुम्यो जबकि उसको व्यापार १० प्रतिशतले वृद्धि भएको पछिल्लो त्रैमासको रिपोर्टले देखाउँछ। इ-कमर्स जायन्ट अमेजन अमेरिकी अर्थतन्त्रको सुस्तताका कारण प्रभावित भएको हुनसक्ने आशंकाले लगानीकर्ता डराए। अमेजनले एआईमा निकै ठूलो खर्च गरे पनि यसको सेयर मूल्य घट्नु लगानीकर्ताका लागि चिन्ताको विषय बन्यो।

इन्टेलको सेयर पनि २७ प्रतिशतभन्दा धेरैले झरेको छ। चिप मेकर इन्टेलले हालैका दिनमा आफ्ना १५ हजारभन्दा बढी कर्मचारी कटौती गरिसकेको छ।

वर्कशायर हाथवेका सीइओ वारेन बफेट जसलाई बजार उत्तेजित हुँदा पनि शान्त रहन सक्ने लगानीकर्ताका रुपमा लिइन्छ उनै बफेटले पनि प्रविधि क्षेत्रमा गरेको लगानीको सेयर बेचे। उनले वर्कशायरको स्वामित्वमा रहेको एप्पलको आधा जति सेयर बेचेपछि अन्य लगानीकर्तामा चिसो पस्यो –’कतै यो भावी दिनमा प्रविधि क्षेत्रमा देखिनसक्ने समस्याको संकेत त होइन?’

त्यसैले यतिबेला लगानीकर्ताहरु सेयर बेचेर नाफा बुक गर्न कुदिरहेका छन्। उनीहरुले तेल, क्रिप्टो र विशेषगरी टेकका सेयर बेचिरहेका छन्। यसको सट्टा उनीहरुले सुरक्षित मानिएका बण्डहरुमा लगानी गरिरहेका छन्।

तर के विश्व सेयर बजारमा यति डराउनु पर्ने अवस्था सिर्जना भएको हो त?

कतिपय अर्थशास्त्रीहरु भन्छन्- ‘विश्व बजारले यतिबिघ्न प्यानिक हुनुपर्ने कारण छैन। यो कुनै मार्केट क्र्यासको अवस्था होइन।’

तर पनि लगानीकर्ताहरु ‘नर्भस’ छन्।

सोमबारको अवस्था फर्किएर हालको स्तरमा नै कायम रहँदा पनि यसलाई सेयर बजार इतिहासको टप १०० खराब दिनको अवस्थामा नपुगेको भनिएको छ। तथापि हालका लागि लगानीकर्तासामु कठिन प्रश्न हो- यो त्रास कहिलेसम्म रहन्छ?

अब के होला?

खासमा विश्व शेयर बजारको यो उथलपुथल अमेरिकामा राष्ट्रपतीय चुनावी अभियानले तातेका बेला देखिएको छ। आगामी दिनमा फेडले लिने निर्णय र गहिरो राजनीतिक दाउपेचबीच फेडले चाल्ने कदमहरुमा सबैको चासो बढेको छ। रिपब्लिकनहरुले हाल ब्याजदर कटौती गर्दा डेमोक्र्याटलाई सहयोग पुग्ने बताइरहेका छन्।

फेडका अधिकारीहरुले भने निरन्तररुपमा ब्याजदरका बारेमा लिने निर्णय राजनीतिबाट प्रभावित नहुने दाबी गर्दै आएका छन्।

जब लसको अवस्थाका कारण मात्र अमेरिका मन्दीमा प्रवेश नगर्ने अक्सफोर्डकी अमेरिकी अर्थशास्त्री न्यान्सी भानडेन हाउटेनले बताइन्। ‘यो प्रतिवदेनले हालका कमजोरीहरुलाई बढाइचढाइ गरेजस्तो देखिएको मात्र हो। हामी बेरोजगारी दरको वृद्धिलाई नकार्दैनौं। तर, अमेरकी अर्थतन्त्र मन्दीमा गएको भने होइन,’ उनले दाबी गरिन्।

क्यापिटल इकोनोमिक्सका चिफ इकोनोमिस्ट निल सियरिङ भन्छन्-‘यदि बजारमा देखिएको अव्यवस्थाको अवस्था गहिरिंदै जान्छ र त्यसले प्रणालीगत रुपमा महत्वपूर्ण रहेका संस्था तथा बृहद वित्तीय स्थिरतामा खलल् पुग्छ भने यस्तो बेला सेयर बजारमा प्यानिकले निरन्तरता पाउँछ।’

खासमा बेरोजगारी दरलाई लिएर मात्र यति धेरै प्यानिक हुनु पर्ने हो त?

यसबारे विभिन्न कोणबाट बहस भइरहँदा अमेरिकी अर्थशास्त्री क्लाउडिया सामले प्रतिपादन गरेको ‘साम रुल’लाई हेर्नुपर्ने हुन्छ।

साम रुलले भन्छ- ‘यदि तीन महिनासम्मको औसत बेरोजगारी दर विगत १२ महिनाको न्युन स्तरको दरभन्दा ०.५ प्रतिशतले मात्र पनि बढी हुन्छ भने त्यो अवस्थालाई मन्दीको सुरुवात मान्न सकिन्छ।’

अमेरिकी बेरोजगारी दर जुलाईमा वृद्धि भयो। यस अनुसार हेर्दा विगत तीन महिनाको औसत बेरोजगारी दर ४.१ प्रतिशत रह्यो। यो गत वर्षको न्यून स्तरको औसत ३.५ सँग तुलना गर्दा वृद्धि ०.५ प्रतिशतभन्दा बढी हो।

रोजगारीतर्फको यो तथ्यांकले अर्थतन्त्रका सबैजसो उपक्षेत्रहरु बिस्तारै तल तल झरिरहेको (टिपिङ डाउनवार्ड)तर्फ नै संकेत गर्छ।  

यही नियमकी प्रतिपादक अनि ह्वाइट हाउस र फेडरल रिजर्भ दुबैमा अर्थशास्त्रीका रुपमा काम गरिसकेकी क्लाउडिया साम अहिलेको अवस्थाबारे के भन्छिन् त?

उनी भन्छिन् –’यही समयको कुरा गर्ने हो भने हामी मन्दीमा छैनौं।’ तर, उनी यसलाई त्यस दिशातर्फ अग्रसर भइरहेको भने मान्छिन्। तथापि उनले फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने प्रशस्तै आधार देखिरहेकी छन्। यसले अमेरिकी अर्थतन्त्र मन्दीमा प्रवेश हुन सक्ने अवस्थालाई रोक्न सकिनेमा उनी आशावादी छन्।  

विश्वभरका नर्भस लगानीकर्ताले भने अझै पनि आफ्ना अनुत्तरित प्रश्नहरुको जवाफ खोजिरहेका छन् जसले विश्व सेयर बजारको उत्साहलाई तत्कालका लागि रोकिदिएको छ।