विराटनगर। भारतले सुनचाँदीको आयात महसुल ६० प्रतिशत घटाएसँगै नेपालको खुला बजारमा भारुको खरिदविक्री मूल्य वृद्धि भएको छ।
यसअघि व्यवसायीले यही साउन ८ गतेसम्म नेपाली १ सय ५७ रुपैयाँ ५० पैसामा भारु १ सय खरिद गरिरहेका थिए। साउन ११ यता नेरु १६१ देखि १६२ पर्न थालेको छ। यसरी भारतीय बजेटका कारण नेपालको खुला बजारमा १ सय भारुको मूल्य एक हप्तामै ५ रुपैयाँले बढेको हो।
जोगबनीस्थित कलकत्ता क्लोथ स्टोरका सञ्चालक कमल तापडिया सिकन्दरका अनुसार अहिले जोगबनीका व्यवसायी भारु १ सयका लागि नेरु १६१ देखि १६२ रुपैयाँसम्म तिरिरहेका छन्। जबकि साउन ११ पहिले नेपाली १५८ रुपैयाँका दरले भारु फालाफाल पाइन्थ्यो।
जोगबनीको किराना पसल मनोज गुप्ता र मोबाइल सिमको रिचार्ज पसल जोगबनी नेटवर्कका सञ्चालक राजु साहले पनि एक हप्तामै भारुको मूल्य सयमा ४ देखि ५ रुपैयाँले बढेको बताए। विराटनगरका सटही काउन्टरले १ सय भारुका लागि नेरु १६२ लिन थालेका छन्।
एक काउन्टर सञ्चालकले भने, ‘१६० मा खरिद गर्न थालेका छौँ। त्यसैले १६२ भन्दा माथि त बेच्नैपर्छ। नभए कसरी खर्च उठ्छ ?’ विराटनगरमा भारुको मुख्य स्रोत रहेका अस्पतालले अब परल मूल्यमै भारु विक्री गर्न थालेका छन्।
रामलाल गोल्छा आँखा अस्पतालका व्यवस्थापक विन्देश्वर महतोले बिजमाण्डूलाई भने, ‘चार–पाँच दिनअघिसम्म भारु १ सयलाई नेपाली १५७ रुपैयाँ ५० पैसामा विक्री गरिरहेका थियौँ। अहिले १६० मै गइरहेको छ। भारु माग्न आउनेको संख्यामा पनि वृद्धि भएको छ।’ विशेषतः विराटनगरका अस्पतालसित सटही काउन्टरले भारु खरिद गर्दै आएका छन्।
आयात महसुलमा के छ अन्तर ?
नेपालमा गत जेठ १५ सम्म सुनको आयात महसुल १५ प्रतिशत थियो। जेठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमा सुनको आयात महसुल २० प्रतिशत बनाए।
भारतमा पनि सुनको आयात महसुल १५ प्रतिशत नै थियो। तर यही साउन ८ को बजेटमा त्यहाँका अर्थमन्त्री निर्मला सीतारमणले उक्त महसुललाई ६० प्रतिशतले घटाउँदै ६ प्रतिशत कायम गरेकी छन्। नेपालमा आयात महसुल २० तर भारतमा ६ प्रतिशत हुँदा नेपालमा भन्दा भारतमा एक तोला सुन १३ देखि १५ हजार रुपैयाँसम्म सस्तो पर्न थालेको छ।
मूल्यको यही ठुलो अन्तरले भारतबाट अनधिकृत रूपमा सुनको आयात बढ्न थालेको छ। र, नेपालबाट भारु बोकेर सुन खरिद गर्न भारत जानेको संख्या बढिरहेको छ। भारुको खरिदविक्रीको मूल्यमा वृद्धि हुनुको कारण यही हो।
भारतमा आयात मूल्य ६ प्रतिशत भएपछि त्यहाँका व्यवसायीले अवैध आयात गर्न पनि छाडेका छन्। सुनको क्यारिङ चार्ज ८ प्रतिशतभन्दा बढी हुने भएकाले भारतको नयाँ बजेटपछि तस्करीको सुन भारत पुग्न छाडेको व्यवसायीको भनाइ छ ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष एवम् श्री महालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगबानीले बिजमाण्डूलाई भने, ‘नेपालले भारतको राजस्वप्रणालीबाट सिक्नुपर्ने धेरै विषय छन्। भारतमा राजस्व वृद्धिका लागि त्यहाँको सरकारले आयात महसुल क्रमशः घटाउँदै लगेको छ। नेपालमा बढ्दो क्रममा छ। अधिक महसुलले तस्करी मौलाउने र कानुनी आयातनिर्यात कम हुने कुरा भारतले बुझेको छ। नेपालका शासक र सरकारी अधिकारीले अहिलेसम्म बुझेका छैनन्।’
उद्योगी बेगवानीले भारतले आयात महसुल ६ प्रतिशत बनाएपछि त्यहाँ सुनचाँदीको ग्रे मार्केट बन्द भएको बताए। तर सीमापारि गएर सुनचाँदी र त्यसका गहना खरिद गर्ने नेपालीको संख्या बढ्न थालेको उनको भनाइ छ।
बेगबानीले बिजमाण्डूसँग भने, ‘झापातिरका नेपाली आफूलाई नजिक पर्ने पश्चिम बंगालको सिलीगुडी जान थालेका छन्। मोरङ–सुनसरीका सर्वसाधारण जोगबनीबाट ३२ किलोमिटर दक्षिणमा पर्ने फारवेसगन्ज वा ९० किलोमिटर दक्षिणको पूर्णिया जान थालेका छन्।’
फारबेसगन्जमा भारतको चेन ज्वेलरी कल्याण ज्वेलर्सले भर्खरै आफ्नो स्टोर खोलेको छ। भारतभरि कल्याणका १३७ वटा स्टोर छन् । त्यस्तै पूर्णियामा भारतको प्रसिद्ध औद्योगिक घराना टाटाको तनिस्क ज्वेलरी सञ्चालनमा आएको छ। भारतभरि तनिस्कका ४१० रिटेल काउन्टर छन्।
यसरी नेपाली सुन खरिद गर्न भारतीय बजार पुग्नु परेपछि भारुको मागमा वृद्धि भएको हो र मागमा वृद्धिसँगै यसको मूल्यमा वृद्धि भएको हो।
उद्योगी बेगवानीले भने, ‘नेपालले पनि अब सुनको आयात महसुललाई भारतसित बराबरजस्तो हुने गरी तुरुन्त समायोजन गर्नुपर्छ । अन्यथा नेपालका पसलमा अब सुन खरिद गर्ने होइन विक्री गर्नेको मात्र भिड लाग्छ।’
उनले नेपाल सरकारले आयात महसुल १० प्रतिशत बनाउने हो भने उपयुक्त हुने बताए। उनको भनाइ थियो, ‘महसुल १० प्रतिशत बनाउँदा भारततर्फ अवैध निर्यात पनि हुँदैन र उताबाट पनि यता आउन पाउँदैन।किनकि नेपालको महसुल ४ प्रतिशत मात्र महँगो हुन्छ र महसुलको यति सानो अन्तरमा तस्करी हुनसक्तैन।’