सुरक्षा प्रणाली ६०% भन्दा कम भएका कम्पनीका जहाज ग्राउण्डेड गरिंदै, कुन कम्पनी कस्ता ?



वसन्तराज उप्रेती
२०८१ साउन १५ गते ०६:१७ | Jul 30, 2024
सुरक्षा प्रणाली ६०% भन्दा कम भएका कम्पनीका जहाज ग्राउण्डेड गरिंदै, कुन कम्पनी कस्ता ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कमजोर सुरक्षा प्रणाली भएका वायुसेवा प्रदायक कम्पनीका जहाजलाई ग्राउण्डेड गर्ने भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि क्यानले सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम भएका कम्पनीका जहाज ग्राउण्डेड गर्ने भएको हो।

Tata
GBIME
Zonsen

क्यान कमजोर सुरक्षा प्रणाली अपनाएर यात्रुको जीवनमाथि खेलवाड गर्ने कम्पनीलाई चल्न नदिने रणनीतिमा छ। क्यान उच्च स्रोतका अनुसार ती कम्पनीको साउनभरीमा सुरक्षा व्यवस्थापन प्रणाली(एसएमएस) अध्ययन हुनेछ। अध्ययनमा जुन कम्पनीले ६० प्रतिशतभन्दा कम अंक पाउँछ, त्यसलाई प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर ग्राउण्डेड गरिनेछ।

मुलुकमा दर्ता रहेका हवाईजहाज र हेलिकप्टर गरि कुल २० वटा वायुसेवा कम्पनीको एसएमएस पुनरावलोकन सुरु गरिसकेको क्यानका उच्च अधिकृतले जानकारी दिए।

उनका अनुसार यसका लागि क्यानले एउटा जहाज कम्पनीका लागि अधिकतम ३ दिन र हेलिकप्टर कम्पनीका लागि अधिकतम दुई दिनको समय छुट्टाएको छ।

अघिल्लो वर्ष गरिएको अध्ययन अनुसार फिक्स विङ्सतर्फ सबैभन्दा कमजोर श्री एयरलाइन्स छ। यो कम्पनीको सुरक्षा प्रणाली ४६. ६७ प्रतिशत मात्रै छ। त्यस्तै नेपाल वायुसेवा निगमको ५५ प्रतिशत छ। हेलिकप्टरतर्फ मुस्ताङको २३.४० प्रतिशत मात्र थियो।

क्यानले एउटा थ्रेसहोल्ड बनाएर मापदण्ड पुगेका र नपुगेका वायुसेवा कम्पनीका लागि आवश्यक कारवाही अगाडि बढाउन लागेको छ। जस अन्तर्गत सेफ्टी एक्सन ग्रुप, एक्जिक्युटिभ ग्रुप, सेफ्टी कमिटी लगायत तीनवटा कमिटीले चरणवद्ध रुपमा काम गरिरहेको ती उच्च अधिकृतले जानकारी दिए।

कमिटीको अध्ययन पछि हाइ लेवल सेफ्टी कोर्डिनेसन कमिटीले कारबाहीको निर्णय गर्नेछ। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सेवा दिंदै आएका छन्। आन्तरिकतर्फ बुद्ध, यती, श्री, सीता, समिट, तारा, नेपाल वायुसेवा निगम लगायतले उडान सेवा दिने गरेका छन्।

हेलिकप्टरतर्फ कैलाश, मनाङ, मुस्ताङ, अन्नपुर्ण, एयर डाइनेष्टी, सिम्रिक, प्रभु, हेलि एभरेष्ट, अल्टिच्युड, माउन्टेन, श्री लगायतले उडान सेवा दिंदै आएका छन्। 

यस्तो छ २०२३ मा गरिएको परीक्षणमा वायुसेवाको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) दर    

वायुसेवा  कम्पनीको नामसुरक्षा व्यवस्थापन प्रणाली दर
बुद्ध एयर७७.१२
हिमालय एयरलाइन्स९०.६०
नेपाल वायुसेवा निगम५५.३२
सौर्य एयरलाइन्स५५.३२
श्री एयरलाइन्स४६.६७
सीता एयर६१.२१
समिट एयर६०.१९
तारा एयर५९.१७
यती एयरलाइन्स६६.६७
एयर डाइनेष्टी६६.६२
अल्टिच्युड एयर७२.३४
अन्नपुर्ण हेलिकोप्टर३४.०४
फिस्टेल एयर६६.६४
हेलि एभरेष्ट८१.६०
कैलाश हेलिकोप्टर५९.१९
मनाङ एयर५३.१९
माउन्टेन हेलिकोप्टर६०.१२
मुस्ताङ हेलिकोप्टर२३.४०
प्रभु हेलिकोप्टर५०.२४
सिम्रिक एयर६८.०९