काठमाडौं। सौर्य एयरलाइन्सको पोखरामा नियमित उडान छैन। तर, कम्पनीको ९ एन-एएमई कलसाइनको सीआरजे जहाज बुधबार बिहान पोखरा जाने क्रममा थियो।
११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोडेको केही सेकेन्डमै जहाज दुर्घटनामा पर्यो। क्याप्टेन मनिषरत्न शाक्य बाहेक सबैले ज्यान गुमाए।
नियमित उडान नभएकाले जहाजमा एयरलाइन्सका कर्मचारी थिए। एयरलाइन्सले जहाजमा सवार सबैलाई आफ्ना कर्मचारीका रुपमा चिनाए पनि अहिलेसम्म २ जना भने एक कर्मचारीका परिवारका सदस्य भएको खुलेको छ।
आखिर जहाज पोखरा किन उडेको थियो त?
जहाजको इन्जिनमा २/३ दिनदेखि समस्या देखिएको थियो। तर, सि-चेक (विस्तृत मर्मत सम्भार) गर्न हतार भइसकेको थिएन। जहाजको उडान अवधि ११९ घण्टा बाँकी नै थियो।
तैपनि कम्पनीले सि-चेक गराउन चाह्यो। सि-चेकका लागि केही दिन लाग्छ। त्रिभुवन विमानस्थलमा कम्पनीको आफ्नै ह्याङ्गर छैन। मर्मतमा लामो समय लाग्ने भएकाले कम्पनीले पोखरा रोज्यो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरकै ह्याङ्गर छ। अर्को ह्याङ्गर नेपालगंज विमानस्थलमा पनि छ। तर, पोखराको बढी फराकिलो भएकाले कम्पनीले जहाज त्यता लान खोजेको थियो।
तर, विमानस्थलबाट उडान गर्ने क्रममा जहाज दाहिनेतिर मोडिन गइ रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुग्यो। मौसमी प्रतिकूलता थिएन।
त्यसो भए जहाज दुर्घटना के कारण भयो? यो त छानबिनबाट खुल्ने विषय हो। छानबिनका लागि जहाजको ब्ल्याक बक्सलाई आधार मानिन्छ। यसमा जहाजका क्याप्टेन पनि ठूलो आधारका रुपमा छन्। दुर्घटनाको अवस्था किन आयो भन्ने उनले बताउन सक्नेछन्।
आँखा लगायत विभिन्न भागमा चोट लागेका शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनलाइ इमर्जेन्सीबाट आइसीयू कक्षमा सारिएको छ। उपचारमा संलग्न चिकित्सकहरुले इमर्जेन्सीमा रहँदा शाक्यले सामान्य कुराकानी गरेको बताएका छन्।
उनलाई ११:३४ मा सुरक्षाकर्मीले उद्धार गरेका थिए। ‘अनुकूल मौसम र उडान अवधि पर्याप्त रहेको अवस्थामा जहाज दुर्घटना हुनु अनौठो भएको छ,’ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकृतले भने, ‘क्याप्टेन जीवितै रहेका कारण दुर्घटनाको कारण पत्ता लगाउन सहज हुनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाको जानकारी लिए छानबिन आयोग गठनका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नेपाली आकाशमा भएको यो पहिलो दुर्घटना होइन। प्राय: दुर्घटनामा मौसम र ज्याउन गुमाउने क्याप्टेनलाई दोष दिने गरिएको थियो। यसपालि अनुकूल मौसम र क्याप्टेन जीवितै रहेकाले सरकारले गठन गर्ने छानबिन आयोगको प्रतिवेदन चासोको विषय बन्ने देखिएको छ।