काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन्।
व्यवस्थापनले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी बुधबारदेखि ब्यानर तथा कालोपट्टि बाँधेर विरोधमा उत्रिएका हुन्। चार दिनसम्म पहिलो चरणअन्तर्गत कर्मचारीहरु ब्यानर तथा कालोपट्टि बाँधेर विरोधमा उत्रिएका छन्।
पछिल्लो पटक १० दिनभित्र आफ्ना माग सुनुवाई हुनुपर्ने माग गर्दै प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले अल्टिमेटम दिएको थियो। अल्टिमेटम मंगलबार सकिए पनि प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीसहित व्यवस्थापनले कर्मचारीले राखेका माग बेवास्ता गरेपछि आन्दोलन सुरु भएको छ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार बुधबारदेखि चार दिनसम्म पहिलो चरणअन्तर्गत कर्मचारीहरु कालो ब्यानर तथा कालोपट्टि बाँधेर विरोधमा उत्रिएका छन्। सो अवधिमा पनि माग पूरा नभए दोस्रो चरणमा कर्मचारीहरुले दुई दिनका लागि कार्यालयको फर्स्ट हाफ (३ घण्टा) पेन डाउन गर्ने छन्।
त्यसैगरी, तेस्रो चरणअन्तर्गत एक हप्तासम्म डिजिटल सिग्नेचर व्यवस्थापन समक्ष बुझाउने र प्राधिकरणको कार्य सम्पूर्णरुपमा ठप्प पारी अध्यक्षको कार्यकक्षमा धर्ना दिने कार्यक्रम युनियनले सार्वजनिक गरेको छ। चोथो चरणमा भने कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी युनियनको छ।
युनियनले यसअघि पनि पटकपटक माग पूरा गराउन व्यवस्थापनलाई अल्टिमेटम दिएको थियो। कर्मचारीहरुले देशको दूरसञ्चार क्षेत्र अस्तव्यस्त हुँदा पनि नियामक जस्तो संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेतृत्वको आलोचना गर्दै आएको छ।
सेवा प्रदायकहरुलाई जोगाउँदै दूरसञ्चार बजारलाई प्रतिस्पर्धी र बलियो नियमनमा ल्याउनुपर्ने भएपनि वर्तमान अध्यक्षसहितको नेतृत्व त्यसमा चुकेको आरोप कर्मचारी युनियनको छ। उनीहरुले दूरसञ्चार क्षेत्र सुधार गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसमेत राख्दै आएका छन्। त्यसमा प्राधिकरण व्यवस्थापन सहमत छैन।
कर्मचारीहरुले प्राधिकरणको आफ्नै स्वामित्वको घर/जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न माग गर्दै आएको छ।
ललितपुरको खुमलटारमा रेडियो नेपालको स्वामित्वमा रहेको ४२ रोपनी जग्गा खरिद गरेर त्यहाँ प्राधिकरणको भवन बनाउने योजना रहेपनि अहिलेसम्म प्राधिकरणको नाममा सो जग्गा नामसारी भएको छैन।
मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई सो जग्गा प्रति आना ४० लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरिसकेको छ। तर, रेडियो नेपालले भने सबै जग्गा एकैचोटि प्राधिकरणको नाममा पास गर्न नसकिने बताउँदै आएको छ। रेडियो नेपालले आफूसँग २५ रोपनीको मात्रै प्रमाणित पुर्जा रहेको र बाँकी जग्गा आफ्नो नाममा दर्ता हुनै बाँकी रहेको दाबी गर्दै आएको छ।
त्यसैगरी, प्राधिकरणका कर्मचारीसँग सम्बन्धित नीति, नियम, गुरुयोजना, पदपूर्ति तथा ओएण्डएम सर्वेलगायतका विषयहरुमा कर्मचारीहरुको हकहित, उत्प्रेरणा, पूर्वानुमान योग्य वृत्ति विकास सुनिश्चितता हुनुपर्ने उनीहरुको माग छ। त्यसका लागि तुरुन्तै काम अघि बढ्नुपर्ने कर्मचारीहरुको भनाइ छ।