बुलिस ट्रेन्डले नेप्सेमा तीन वर्ष अघिको झल्को, बजारमा कहाँबाट आइरहेको छ पैसा?

सुनिल कुँवर
२०८१ साउन ६ गते ०६:२७ | Jul 21, 2024
बुलिस ट्रेन्डले नेप्सेमा तीन वर्ष अघिको झल्को, बजारमा कहाँबाट आइरहेको छ पैसा?

काठमाडौं। सेयर बजारमा २०७८ भदौ १३ गतेपछि गत बिहीबार सर्वाधिक कारोबार भयो। नेप्से परिसूचक ५९.६८ अंकले बढ्दा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो, नेप्से तीन वर्षअघिको विन्दु नजिक पुग्यो।

Tata
GBIME
NLIC

यसअघि नेप्से ३१०२ विन्दुमा पुग्दा १५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। पछिल्लो दुई साता बजारले लगातार उचाइ लिएका कारण सेयर किनबेचको रफ्तार अकासिँदै गएको हो। नेप्से २४२४.३४ विन्दुमा पुगेको छ।

असार १७ देखि उकालो लागेको नेप्से २७ महिनायताकै उच्च अंकमा छ। नेप्से यसअघि २०७९ चैत २४ गते २४६४ विन्दुमा थियो।

असार १७ पछि १४ कारोबार दिनमध्ये १२ दिन नेप्से बढेको छ। दुई सातामा नेप्सेले ३७०.९४ अंकको उचाइ लिएको छ। परिसूचक मात्रै नभएर कारोबार पनि ठूलो भोलुममा भइरहेको छ।

असार १७ गते ३ अर्बको सेयर किनबेच भएकामा त्यसयता लगातार बढेर कारोबार रकम बिहीबार साढे १५ अर्ब नाघेको हो। अघिल्लो दिन १२ अर्ब र साउन १ गते ९ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो।

दुई वर्षदेखि १८००-२२०० विन्दुमा घुमिरहेको नेप्सेले यसपटक भने त्यसलाई तोडेको छ भोलुमसहित।

अहिले बजारमा कर्जाको माग नभएर लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ। नयाँ लगानी बढ्न सकेको छैन। आर्थिक गतिविधि सुस्त छ भने माग घटेकाले उद्योगधन्दा पूर्ण क्षमतामा चलेका छैनन्।

सेयर बजारमा भने लगानीकर्ताको मनोबल एकाएक बढेको छ। बजार अनुकूल हुने खालका वित्तीय सूचक पनि छन्। बैंकमा अधिक तरलता, न्यून ब्याजदर लगानीका लागि अनुकूल मानिन्छ।

सत्ता समीकरण फेरिएपछि लगानीकर्तामा बढेको मनोबलले बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन्। कन्फिडेन्स बढ्दा लगानीकर्ताले आफूसँग भएको रकम लगानी गर्न थालेको ब्रोकरहरुको भनाइ छ।

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्याल मनोबल बढेकाले लगानीकर्ताले गोजीको पैसा सेयरमा हाल्न थालेको बताउँछन्। ‘राजनीतिक अवस्था फेरिएको छ। बजारमैत्री अर्थमन्त्री आएका छन्। त्यसले लगानीकर्ताको कन्फिडेन्स बढाएको छ,’ उनले भने, ‘बजार बढ्ने कन्फर्मेसन नभइ लगानीकर्ताहरु पैसा हाल्न तयार थिएनन्। तर, अहिले सबै कुराले काम गरेको छ। त्यही भएर गोजीको पैसा लगानी गरिरहेका छन्।’

बैंकरहरुका अनुसार अहिले पनि कर्जाको माग बढ्न सकेको छैन। बजारमा देखिएको कारोबारको उत्साह अनुसार सेयर धितो कर्जा प्रवाह भएको भने देखिँदैन।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष जेठसम्म लगानीकर्ताले ८७ अर्ब ११ करोड रुपैयाँ सेयर धितो कर्जा लिएका छन्। त्यसमध्ये करिब ११ अर्ब रुपैयाँ ऋण गत वर्ष लिएका हुन्।

लगानीको उपकरण नपाएर थुप्रिएको पैसा मानिसहरुले बजारमा लगानी गर्न थालेको मर्चेन्ट बैंकरहरु बताउँछन्। ‘लगानी नभएर पैसा थुप्रिएको छ। मानिसहरुले लगानीको उपकरण खोजिरहेका छन्। त्यो पैसा बजारमा आएको हो,’ एक मर्चेन्ट बैंकका सीइओले भने, ‘राजनीति फेरिएपछि बजारमा केही फरक हुन्छ भन्ने लगानीकर्तामा परेको देखिन्छ।’

असार १७ गते संसद्का सबैभन्दा ठूला दल कांग्रेस र एमालेबीच सत्ता पलटको सहमति भएपछि बजारमा देखिएको उत्साहले निरन्तरता पाइरहेको छ।

अर्थमन्त्रीका रुपमा पौडेल सेयर बजारले रुचाएका पात्र हुन्। उनी अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकले बजार अनुकूल मौद्रिक नीति लिने लगानीकर्ताको बुझाइ छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमाले निकट मानिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको र यस्तो बेला मौद्रिक नीति कठोर खालको हुन नहुने अभिव्यक्ति दिएका छन्।