‘रेलवे टू नोह्वेयर’ प्रदर्शन गर्दै आजबाट मण्डला थिएटरमा ‘म्याडफेस्ट २०२४’ सुरु

प्रवीण रानाभाट
२०८१ असार २१ गते १८:३५ | Jul 5, 2024
‘रेलवे टू नोह्वेयर’ प्रदर्शन गर्दै आजबाट मण्डला थिएटरमा ‘म्याडफेस्ट २०२४’ सुरु


काठमाडौं। मण्डला थिएटरका पूर्व विद्यार्थीहरूले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सुरु भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘रेलवे टू नोह्वेयर’ मञ्चन गर्दै महोत्सवको उत्घाटन गरिएको छ।

Tata
GBIME
NLIC

‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षकजस्तै युवाहरूको जोश-जाँगरले नै महोत्सव सम्भव बनेको बताए।

‘सुरुमा एउटा आइडिया मात्र थियो। सबैजना जोडिएपछि यो महोत्सव सम्भव भयो। दामी-दामी नाटकहरू तयार भएका छन्। फेस्टिभलको नाम पनि म्याड, यो खासमा एउटा पागलपन नै हो,’ उनले भने।

उनले थपे, ‘हामीले हाम्रा लागि अवसर खोजौं न भन्ने हेतुले यो फेस्ट सुरु गरेका हौं।’

अभिनेत्री पशुपति शर्माले युवा रंगकर्मीलाई यस किसिमको महोत्सवलाई निरन्तरता दिन उत्साह दिइन्।

कार्यक्रमकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले काठमाडौंसँग रंगमञ्चको सम्बन्ध पहिलेदेखि रहेको हुँदा ‘म्याडफेस्ट’को निरन्तरताका लागि हौसला थपिन्।

‘काठमाडौंसँग रंगमञ्चको सम्बन्ध नजिकको छ। काठमाडौंमा पहिलेदेखि डबलीमा नाटक हुने गर्थ्यो। यस किसिमको नाटक महोत्सव भइरहनुपर्छ। म्याडफेस्ट गर्ने म्याडनेस बढ्दै जाओस्,’ डंगोलले भनिन्, ‘यस किसिमको महोत्सवमा सहकार्य गर्न काठमाडौं महानगरपालिका सँधै तयार छ।’

मण्डलाका कलाकारहरूको खानपिनमा सहयोग गरेका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो। आफूले खाना खुवाएका कलाकारले गरेको यस्तो महोत्सवमा सहभागी हुँन पाउँदा उनी खुशी देखिए।

‘मकहाँ खाना खाने साना-साना भाइबहिनी ठूला भएर यस्तो ठूलो कार्यक्रम गर्ने भइसकेछन्,’ पराजुलीले भने।

रंगकर्मी केदार श्रेष्ठले त मामाले मण्डलाका कलाकारलाई पुर्‍याएको योगदानको कदर गरिनुपर्ने बताए।

‘मण्डलाका अहिलेका कलाकारलाई संघर्षको बेला एक छाक खान गाह्रो पर्दा मामाले सँधै खाना खुवाउनुहुन्थ्यो। र पैसा छैन भन्दा उहाँले कमाएर तिर्नु भन्नुहुन्थ्यो,’ केदारले भने।

असार २३ गतेसम्म चल्ने यो महोत्सवमा ६ वटा नाटक देखाइनेछ। ‘रेल्वे टु नोह्वेर’सँगै अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी’, प्रवीण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा’, प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन्।