हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीइओबाट हटे शाह, श्रेष्ठलाई निमित्तको जिम्मेवारी

बिजमाण्डू
२०८१ असार १३ गते १०:०३ | Jun 27, 2024
हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीइओबाट हटे शाह,  श्रेष्ठलाई निमित्तको जिम्मेवारी
अन्जु श्रेष्ठ र विजयबहादुर शाह ।

काठमाडौं। विजयबहादुर शाहले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड छाडेका छन्। २०७८ फागुनमा नियुक्त शाहले दुई वर्ष कार्यकाल बाँकीछँदै प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका हुन्।

Tata
GBIME

उनको राजीनामापछि कम्पनी सञ्चालक समितिले अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। श्रेष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुन्। सञ्चालक समितिको बुधबारको बैठकले उक्त निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ।

यो कम्पनी साबिकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स गाभिएर एकीकृत कारोबार २०७९ साउनबाट सुरु गरेको हो।

‘मिति २०८१/०३/१२ मा सञ्चालक समितिका अध्यक्षज्यूको निर्देशन बमोजिम पुल्चोक ललितपुरमा दिउँसो ३:३० बजे बोलाइएको सञ्चालक समितिको बैठक नम्बर ३२९ को निर्णय बमोजिम मिति २०८२/०३/१३ गते देखि लागु हुने गरि श्री विजयबहादुर शाह प्रमुख कार्यकारी अधिकृत पदमा बहाल नरहनु हुने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ,’ कम्पनीको जानकारी पत्रमा भनिएको छ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको पनि पत्रमा छ।