
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रोश व्यक्त गर्न छोडेको छैन। सहकारीको रकम हिनामिनामा लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो। उक्त समितिका बैठकहरु बसिरहेका छन्। तर, कांग्रेस लामिछानेविरुद्ध अझै आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।
गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको आइतबारको छलफलमा कांग्रेस सांसद हृदयराम थानीले लामिछानेले काम गर्न नसकेको टिप्पणी गरे।
‘तपाईंले आफ्नो हुटहुटी अनुसार काम गर्न सक्नु भयो कि भएन?,’ उनले भने।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष तथा सहकारी ठगीको आरोप लागेका जिबी राईलाई तत्काल लामिछानेले समात्ने बताएको तर अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।
लामिछानेले पहिलाको सरकारले जिबी राईलाई भगाएको भन्ने अभिव्यक्ति दिएको र त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएकाले अहिले नारायणकाजी लामिछानेसँगै बसिरहेको बताएका थिए। थानीको उक्त टिप्पणी सुनेर परराष्ट्रमन्त्री श्रेष्ठ हाँसेका थिए। थानीले विभिन्न फाइल खोल्न लामिछानेलाई चुनौती दिएकाा छन्।
‘तीन वटा फाइल के हो? तपाईंले भन्नुपर्छ। तपाईं सक्नु हुन्छ तपाईंको शक्तिले भ्याउछ कि भ्याउदैंन। के कारणले तपाईं सुतिरहनुभएको छ? तपाईंको क्रियाकलापले थाहा भइहाल्यो नि,’ उनले भने।
लामिछानेले कांग्रेसलाई धम्काइरहेको आरोप लगाएका छन्। ‘तपाईं कसलाई धम्काइरहनुभएको छ। सत्तामा बसेकाले सल्लाह गर्नुभएको छ। तपाईंले धम्काएको कांग्रेसलाई होला,’ उनको आरोप थियो।
गिरीबन्धु प्रकरणको छानबिन गर्न उनले लामिछानेलाई चुनौतीसमेत दिए। ‘गिरीबन्धुको छानबिन गर्न सिंहको मुटु छ? क्यान्टेनमेन्टको छानबिन गर्न सक्नु हुन्छ? यति र ओम्नीको छानबिन गर्न सक्नुहुन्छ?,’ थानीले प्रश्न गरे।