काठमाडौं । भारतबाट कोटा अनुसारको चिनी आयात नभएपछी उद्योग विभागले पुन: सुचना जारी गरेको छ।
विभागले चिनी कच्चा पर्दाथको रुपमा प्रयोग गर्ने इच्छुक उद्योगले ७ दिनभित्र भौतिक र डिजिटल माध्यममार्फत आवेदन दिन भनेको छ।
चालु आर्थिक वर्षको लागि भारतको नेसनल को-अपरेटिभ एक्सपर्ट लिमिटेडबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने व्यवस्था गरिएको थियो। उक्त कोटा मध्ये हालसम्म जम्मा ६ हजार मेट्रिक टनमात्र चिनी आयात भएको छ।
पुरानो कोटा १९ हजार मेट्रिक टन आयात बाँकी भएपछि चिनी आयात गर्ने इच्छुक उद्योगहरुलाई पुन: सुचना जारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरेका अनुसार पुरानो कोटाको चिनी आयात नभएकोले पुन: सुचना जारी गरिएको हो।
तोकिएको कोटा अनुसार चिनी आयातका लागि ३ वटा कम्पनीहरुले आवेदन दिएका थिए। जसमध्ये एउटा कम्पनीले मात्र चिनी आयात गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।
उक्त कम्पनीले पनि कोटा सिस्टम भन्दा कम परिमाणमा चिनी आयात गरेको छ। अन्य दुईवटा कम्पनीले चिनी आयात गरेको छैन।
चाडपर्व नजिकिँदै गरेकोले बजारमा चिनीको आपूर्ति सहज गराउन आयात गर्नुपर्ने हुनसक्छ। त्यसका लागि पुरानो कोटा नसकिए नयाँ कोटाको लागि पहल गर्न नमिल्ने उनको भनाई छ।