बेल्जियम फुटबल टोली स्लोभाकियासँग पराजित भएको छ। यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह ‘इ’ को खेलमा बेल्जियम स्लोभाकियासँग १-० गोलअन्तरले पराजित भएको हो।
खेलमा बेल्जियमले अधिकांश समय पकड बनाए पनि स्लोभाकियाले खेलको सुरुमै बनाएको अग्रतालाई टिकाइ राख्न सफल भयो। स्लोभाकियाका लागि खेलको ७ औँ मिनेटमा इभान स्क्रान्जले गोल गरे। यो नै उनीहरुका लागि जितका लागि पर्याप्त बन्यो।
यसअघि समूह ‘इ’ कै खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको थियो।
योसँगै यो समूहमा रोमानिया र स्लोभाकिया समान ३ अंकसहित शीर्ष दुईमा छन् भने अंकविहीन बेल्जियम र युक्रेन तेस्रो र चौथो स्थानमा छन्।
त्यस्तै गएराति नै सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रियामाथि जित निकाल्यो।
जर्मनीको डुसेलडर्फस्थित मेर्कुर स्पीएल एरेना स्टेडियममा सम्पन्न खेलमा आत्मघाती गोलको सहायतामा फ्रान्सले १-० गोलको जित निकालेको हो। खेलको ३८ औँ मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेको क्रसमा अस्ट्रियाका म्याक्स वुभरले आत्मघाती गोल गर्न पुगेका थिए।
यो समूहको अघिल्लो दिन सम्पन्न खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २-१ गोलअन्तरले हराएको थियो योसँगै समूह ‘डी’ मा नेदरल्याण्ड्स र फ्रान्स शीर्ष दुईमा ३ अंकसहित छन् भने अंकविहीन पोल्याण्ड र अस्ट्रिया तेस्रो र चौथो स्थानमा छन्।