स्थिर ब्याजदरको घर कर्जा स्किम देखियो प्रभावकारी, कुन बैंकबाट पाइन्छ सस्तोमा ?

आकाश बोगटी
२०८१ असार ३ गते १६:१२ | Jun 17, 2024
स्थिर ब्याजदरको घर कर्जा स्किम देखियो प्रभावकारी, कुन बैंकबाट पाइन्छ सस्तोमा ?

काठमाडौं। अपेक्षा अनुसार ऋणको माग नभएपछि वाणिज्य बैंकहरुले ल्याएको स्थिर ब्याजदरमा घर कर्जाको स्किम प्रभावकारी देखिएको छ।

Tata
GBIME

निरन्तर ब्याजदर घटाउँदा पनि ऋणको माग नबढिरहेका बेला स्थिर ब्याजदरको स्किम व्यक्तिगत आवासीय कर्जा बढ्न पुगेको छ। गत असार मसान्तपछिको १० महिनामा व्यक्तिगत आवासीय घर कर्जा ११.८० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर ३.१ प्रतिशत मात्र थियो।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय निक्षेपकाे वृद्धि अनुसार कर्जा प्रवाहमा सुधार नभएकाले बैंकहरुले सस्तो ब्याजदरको स्किम ल्याइ त्यसलाई निरन्तरता दिइरहेको बताउँछन्।

‘पछिल्लो समय कर्जाको ब्याजदर घट्दो क्रममा छ। स्थिर ब्याजदरको स्किम त छँदैछ, त्यसबाहेक पनि घर कर्जा बेसरेटमा २ देखि ३ प्रतिशत मात्रै जोडेर दिइरहेका छौं। जसले गर्दा घर कर्जा बढ्न थालेकाे हाे।’

अहिले अधिकांश बैंकले केही महिनायता स्थिर ब्याजदरमा घर कर्जाको स्किम चलाइरहेका छन्। स्थिर ब्याजदरको अर्थ ऋण चुक्ता नहुन्जेलसम्म बैंकहरुले ब्याजदर घटबढ गर्दैनन्।

घर कर्जाको जोखिमभार घटाएको राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा डेढ करोडबाट बढाएर २ करोड पुर्‍याएका कारण लगानी बढ्न पुगेको हो। यो वर्ष १० महिनामा बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब १९ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जामा लगानी गरेका छन्। त्यसमध्ये ३३ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुले प्रवाह गरेका हुन्।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली प्रणालीमा लगानीयोग्य रकम थुप्रिएका कारण बैंकहरुले स्थिर ब्याजदरमा घर कर्जाका स्किमलाई निरन्तरता दिइरहेको बताउँछन्।

‘बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर घट्दो क्रममा छ। तैपनि कर्जाको माग बढेको छैन,’ उनले भने, ‘सीडी रेसियो ८० प्रतिशतमा आएको छ। घर कर्जाको जोखिमभार पनि कम भएका कारण हामीले स्किम ल्याइ त्यसलाई निरन्तरता दिइरहेका हौं।’

कुन बैंकको घर कर्जा स्किम कस्तो ?

नेपाल बैंक

नेपाल बैंकले ५ वर्षे अवधिको सुलभ आवास कर्जा ९.९५ प्रतिशत ब्याजदरमा दिइरहेको छ। ५ वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने गरी बैंकले स्किम चलाइरहेको छ। लामो अवधिको घर कर्जाको हकमा भनेे बैंकले १४.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

नेपाल बैंकले १० महिनामा आवासीय कर्जा १२.५२ प्रतिशत अर्थात १ अर्ब ४ करोड रुपैयाँ बढाएको छ।

नबिल बैंक

नबिल बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ। बैंकले ७ वर्ष अवधिको नबिल ढुक्क घर कर्जा ८.९९ र १० वर्ष अवधिको कर्जाको स्थिर ब्याजदर ९.४९ प्रतिशत तोकेको छ।

नबिलले १० महिनामा व्यक्तिगत आवासीय कर्जा २१.६८ प्रतिशतले बढाएको छ। उसले साउनदेखि वैशाखसम्म ४ अर्ब ४९ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेको छ।

प्रभु बैंक

प्रभु बैंकले स्थिर ब्याजदरमा दुई किसिमको घर कर्जा प्रवाह गरिरहेको छ। बैंकले ५ वर्ष र सोभन्दा बढी अवधिका लागि फरक फरक ब्याजदरको स्किम चलाइरहेको छ। दुवै स्किममा ब्याजदर स्थिर हो। बैंकले ५ वर्षे अवधिको घर कर्जा ९.९९ र त्यसभन्दा बढी अवधिको कर्जा ११.९९ प्रतिशतमा दिइरहेको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकमा पनि ५ वर्ष अवधिको घर कर्जाको ब्याजदर एकल अंकमा छ। उसले ५ वर्षे घर कर्जा ९.९९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको हो।

बैंकले ५ भन्दा बढीदेखि १० वर्ष अवधिको हकमा १०.९९ देखि ११.४९ र १० वर्षभन्दा बढी अवधिको घर कर्जाका लागि ११.४९ देखि ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ। ग्लोबल आइएमईले १० महिनामा ३ अर्ब २१ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा दिएको छ।

एनएमबि बैंक

एनएमबि बैंकबाट एकल अंकको स्थिर ब्याजदरमा ७ वर्षका लागि आवासीय कर्जा पाइन्छ। व्यक्तिगत आवासीय कर्जा लिनेले बैंकलाई ९.९९ प्रतिशतका दरले ब्याज बुझाउनुपर्छ। बैंकले १० वर्ष अवधिको घर कर्जामा भने स्थिर ब्याजदर १०.४९ प्रतिशत तोकेको छ। बैंकले साउनदेखि वैशाखसम्म आवासीय कर्जा ८.१७ प्रतिशत अर्थात १ अर्ब १४ करोड रुपैयाँ विस्तार गरेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ५ वर्षे अवधिको घर कर्जा १२ प्रतिशत दिइरहेको छ। यो बैंकमा ५ भन्दा बढी र १० वर्षे अवधिको आवासीय कर्जाको ब्याजदर १३ तथा १० वर्षमाथिको कर्जाको ब्याजदर १४ प्रतिशत छ। बैंकले १० महिनामा २७ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह गरेको छ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले आवासीय कर्जामा दिने ब्याजदर महँगो छ। तैपनि उसले यस्तो कर्जा १० महिनामा १४.७५ प्रतिशतले विस्तार गरेको छ। यो बैंकमा व्यक्तिगत आवासीय कर्जाको ब्याजदर ३ वर्षका लागि १३.५०, ३ वर्षभन्दा बढीदेखि ५ वर्षसम्मका लागि १४.५०, ५ वर्षभन्दा बढीदेखि १० वर्षसम्मका लागि १५ प्रतिशत तथा १० वर्षभन्दा बढी अवधिका लागि १५.५० प्रतिशतका दरले ब्याज तिर्नुपर्छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले १५ वर्षसम्मका लागि स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आइरहेको छ। बैंकले अवधि अनुसार यस्तो कर्जाको ब्याजदर ९.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ। बैंकले यस्तो कर्जा भने बढाउन सकेको छैन। गत असार मसान्तको तुलनामा वैशाखमा आइपुग्दा १ अर्ब २३ करोड रुपैयाँ घटेको देखिन्छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकमा व्यक्तिगत आवासीय कर्जाको स्थर ब्याजदर दोहोरो अंकमा छ। बैंकले अवधि अनुसार ११ देखि १३ प्रतिशत ब्याजदर तोकेको छ। ब्याजदर तुलनात्मकरुपमा महँगो भए पनि बैंकले यो वर्ष १० महिनामा आवासीय कर्जा ८.९० प्रतिशतले बढाएको छ।

हिमालयन बैंक

हिमालयन बैंकले यो वर्ष आवासीय कर्वा विस्तार गर्न सकेको छैन। उसले ७ वर्षे अवधिका लागि घर कर्जाको स्थिर ब्याजदर ११.२५ प्रतिशत तोकेकामा १० महिनामा कर्जा ९.३७ प्रतिशतले घटेको छ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले स्थिर ब्याजदरमा फरक फरक अवधिका लागि घर कर्जा दिइरहेको छ। ५ वर्षे अवधिको घर कर्जाको ब्याजदर १०.२५, ५ वर्षभन्दा बढी र १० वर्षसम्मको कर्जाको ब्याजदर १०.५० प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकले १० महिनामा व्यक्तिगत आवासीय कर्जा ८.९० प्रतिशतले बढाएको छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकमा बैंकले ७ वर्षे अवधिको घर कर्जाको स्थिर ब्याजदर ९.९९ प्रतिशत छ। बैंकले ६ देखि १० वर्ष अवधिको कर्जाको ब्याजदर ११.२५, ११ देखि १५ वर्ष अवधिको कर्जाको ब्याजदर ११.६० र १६ वर्षभन्दा बढी अवधिको कर्जाको ब्याजदर १२ प्रतिशत तोकेको छ। उसले १० महिनामा यस्तो कर्जा १०.१० प्रतिशतले बढाएको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। यस बैंकले ७ वर्ष अवधिको घर कर्जा ९.५० प्रतिशतमा दिइरहेको छ। तर उसले यस्तो कर्जा खासै बढाउन सकेको छैन। गत असारको तुलनामा चालु वर्षको वैशाखमा आइपुग्दा बैंकले व्यक्तिगत आवासीय कर्वा १ करोड रुपैयाँ मात्र बढाउन सकेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले ५ वर्षे अवधिको घर कर्जा ९.४९ प्रतिशत दिइरहेको छ। बैंकले ५ भन्दा बढी र १० वर्षे अवधिको कर्जाका लागि ९.९९ तथा १० वर्षभन्दा बढी अवधिको कर्जाका लागि १०.५५ प्रतिशत स्थिर ब्याजदर तोकेको छ।

यो बैंकले चालु वर्ष १० महिनामा २७.७९ प्रतिशत अर्थात २ अर्ब ४३ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेको छ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकमा भने व्यक्तिगत आवासीय कर्जा एकल अंकको ब्याजदरमा पाइँदैन। बैंकले ५ वर्षे अवधिको घर कर्जा ११, ५ भन्दा बढी र १० वर्ष अवधिको ११.७५ तथा १० वर्षभन्दा बढी अवधिको कर्जा १२.५० प्रतिशतमा दिइरहेको छ।

ब्याजदर महँगो भएकाले गत असारको तुलनामा वैशाखमा आइपुग्दा उसको व्यक्तिगत आवासीय कर्जा खुम्चिन पुगेको छ।

कुमारी बैंक

कुमारी बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। यो बैंकबाट आवासीय कर्जा ७ वर्षका लागि लिन पाइन्छ। त्यसबापत ९.४९ प्रतिशत स्थिर ब्याजदर छ। बैंकले १० महिनामा व्यक्तिगत आवासीय कर्जा ११.३३ प्रतिशत अर्थात १ अर्ब १८ करोड रुपैयाँ बढाएको छ।

सानिमा बैंक

सानिमा बैंकले स्थिर ब्याजदरमा तीन किसिमका घर कर्जा प्रदान गर्दै आइरहेको छ। बैंकले ५ वर्षे अवधिको घर कर्जा ११, ५ भन्दा बढी १० वर्ष अवधिको ११.७५ र १० वर्षभन्दा बढी अवधिको कर्जा १२.५० प्रतिशतमा दिइरहेको छ।

उसले चालु वर्ष १० महिनामा व्यक्तिगत आवासीय कर्जा १७.६० प्रतिशतले बढाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने व्यक्तिगत आवासीय कर्जा बढाउन सकेको छैन। असारको तुलनामा वैशाखमा आइपुग्दा बैंकको यस्तो कर्जा ७९ करोडले घटेको छ। उसले ३ वर्षे अवधिको घर कर्जाको ब्याजदर १२ र ७ वर्ष अवधिको कर्जाको ब्याजदर १२.७५ प्रतिशत तोकेको छ। ब्याजदर भने स्थिर हो।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेको छ। यो बैैंक चालु वर्ष सबैचन्दा धेरै व्यक्तिगत आवासीय कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडि छ। उसले १० महिनामा १७ अर्ब ५ करोड रुपैयाँ घर कर्जा दिएको छ।