
काठमाडौं। नेपाली क्रिकेट टोली बंगलादेशसँग पराजित भएको छ। आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो।
सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल ग्राउण्डमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनायो। जबाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट हुँदा पराजय व्यहोर्न पुग्यो।
१०७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले सुरुवातबाटै राम्रो गर्न सकेन। ओपनर आशिफ शेखले १७ रन बनाउँदा कप्तान रोहित पौडेल र सन्दीप जोरा समान १ रनमा आउट भए। त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल ४ रन र अनिल साह डकआउट हुन पुगे।
नेपाल ६.६ ओभर पुग्दा २६-५ को अफ्ठ्यारो अवस्थामा पुगिसकेको थियो। यस्तोमा नेपालको इनिङ्स माथि लग्न कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले महत्त्वपूर्ण भूमिका खेले। यी दुईले ५८ बलमा ५२ रनको साझेदारी गरे। १६.४ ओभरमा कुशल मल्लको विकेट गुम्दा नेपाल ७८-६ को अवस्थामा पुगेको थियो। मल्लले बनाएको २७ रन नेपालका लागि सर्वाधिक रन बन्यो।

मल्लपछि आएका गुल्सन झा डकआउट हुँदा नेपाल फेरि दबाबमा आयो। अन्तिम ओभर बाँकी छँदा दीपेन्द्रसिंह ऐरी पनि मुस्तफिजुर रहमानको बलमा आउट भए। उनले ३१ बलमा २५ रन बनाए। त्यस्तै, सोमपाल कामी पनि अन्तिम ओभरको पहिलो बलमा गोल्डेन डकआउट हुन पुगे।
बलिङतर्फ बंगलादेशका तान्जिम हसनले मात्र ७ रन दिएर ४ विकेट लिँदै नेपालको ब्याटिङ धराशायी बनाए। त्यस्तै, मुस्तफिजुर रहमानले ३, सकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।
बंगलादेशको इनिङ्स
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभर पूरा हुन ३ बल बाँकी छँदा १०६ रनमा अलआउट भएको थियो। टी-२० विश्वकपमा बंगलादेशले कुनै पनि एसोसिएट टोलीविरुद्ध बनाएको यो सबैभन्दा कम स्कोर हो।
सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल स्टेडियममा इनिङ्सको पहिलो बलमै विकेट लिँदै सोमपाल कामीले नेपालको पक्षमा मोमेन्टम बनाउन सफल भएका थिए। बंगालादेशी ओपनर तान्जित हसन रोयल डकआउट हुँदा अर्को ओपनर लिट्टोन दास १० रन बनाएर सोमपाल कामीकै बलमा आउट भए।
त्यसअघि ४ रन बनाएका कप्तान नजमुल हुसैन शान्तोलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरेका थिए।

बंगलादेशका लागि सर्वाधिक रन अनुभवी सकिब अल हसनले बनाए। उनले २२ बलमा १७ रन बनाएर नेपाली कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लु आउट भए। उनीबाहेक महमदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाउँदा जाकेर अलीले १२ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले समान २ विकेट लिए।
सकियो नेपालको विश्वकप यात्रा
योसँगै नेपालको टी-२० विश्वकप यात्रा सकिएको छ। नेपालले समूह ‘डी’ मा नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग हार व्यहोर्दा श्रीलंकासँगको खेल वासआउट भएका कारण अंक बाँड्यो। यो समूहबाट दक्षिण अफ्रिका र बंगलादेश सुपर-८ मा पुगेका छन्।