आन्तरिक उत्पादन बढेसँगै भारतबाट हुने बिजुली आयात रोकियो, कसरी भइरहेको छ लोड व्यवस्थापन ?

जनक वली
२०८१ असार ३ गते ०६:५३ | Jun 17, 2024
आन्तरिक उत्पादन बढेसँगै भारतबाट हुने बिजुली आयात रोकियो, कसरी भइरहेको छ लोड व्यवस्थापन ?

काठमाडौं। खोला र नदीमा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादनबाट लोड व्यवस्थापन गर्न थालेको छ। सुक्खायाममा आन्तरिक उत्पादन घट्ने र माग बढ्ने भएका कारणले प्राधिकरणले भारतबाट बिजुली आयात गरेर लोड व्यवस्थापन गर्दै आएको छ।

Tata
GBIME

बर्सातको समय सुरु भएपछि पछिल्लो केही हप्तायता नेपालमा बिजुली उत्पादन बढेर १८ सय मेगावाट पुगेको छ। अहिलेको उत्पादनले आन्तरिक लोड व्यवस्थापनमात्र पुग्ने गरेको प्राधिकरणका प्रवत्ता चन्दनकुमार घोषले बताए।

आन्तरिक उत्पादन बढेपनि प्राधिकरणलाई लोड व्यवस्थापनमा सहज छैन। ट्रान्समिसन लाइन अभावका कारण पश्चिममा प्राधिकरणले हाल टनकपुरबाट मात्र बिजुली आयात गरिरहेको छ।

बाध्यात्मक अवस्थाका कारण बिजुली आयात गर्नुपर्ने अवस्था रहेको प्रवत्ता घोषले बताए। सोही अनुसार अहिले प्राधिकरणले टनकपुरबाट भुरीगाँउ र कोहलपुरसम्मका लागि दैनिक ३० देखि ५० मेगावाटसम्म आवश्यकताअनुसार बिजुली आयात गरिरहेको छ। उत्त क्षेत्रका लागि प्राधिकरणले चमेलियाँ करिडोरमा उत्पादन भएको बिजुली आयात गर्नु परेको घोषले जानकारी दिए।

यस बाहेक अन्य ट्रान्समिसन लाइनबाट आयात रोकिएको छ। आन्तरिक उत्पादन बढेपनि उपभोक्तादेखि उद्योगीहरूले माग अनुसारको बिजुली भने पाइरहेका छैनन्।

अहिले केही ठाउँहरूमा लोड समेत कटौती भइरहेको छ। प्रसारण लाइनको क्षमताको अभावले लोड व्यवस्थापनमा समेत समस्या भएका प्राधिकरणको भनाइ छ।

‘लोडसेडिङ नै त छैन। तर कतिपय उद्योगहरूमा केही क्षेत्रमा माग अनुसार आपूर्ति भएको छैन,’ घोषले भने।

हाल पौरानीपुर क्षेत्रमा प्राविधिक कारणले नै रोकिएको थियो। त्यो आजभोलि मर्मत हुने लोड व्यवस्थापन गरिने उनले बताए। यस्तै, हेटौँडा सबस्टेसनमा मागअनुसार बिजुली आपुर्ति हुन सकिरहेको छैन।

अहिले हेटौँडा सबस्टेसनमा नयाँ हेटौँडा सबस्टेसन र पुरानो सबस्टेसनको लिङ्क गर्ने काम भइरहेको छ। जस कारण एक हप्तादेखि माग अनुसार बिजुली आपूर्ति हुन सकेको छैन। मर्मत सम्भार सकिएपछि बिजुली आपूर्ति सहज हुने घोषले बताए।

यस्तै सुनवल, नेपालगञ्ज, कोहलपुर लगायत पश्चिममा पनि समस्या छ।

पूर्वबाट बिजुली पश्चिममा पुर्‍याएर लोड व्यवस्थपापन गर्न नसकिने प्राधिकरणको भनाइ छ। पश्चिममा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्नका लागि पश्चिममै उत्पादन हुनु पर्ने हुन्छ तर अहिले पश्चिममा उत्पादन नभएका कारण लोडसेडिङ हुने गरेको छ।

रणनीतिअनुसार छैन निर्यात

नेपालले भारत बिजुली निर्यात गर्न सुरु गरेपनि पछिल्लो समय भने बिजुली निर्यात भएको छैन।

नेपालले जेठ दोस्रो साताबाट भारत बिजुली निर्यात गर्न सुरु गरेको थियो। तर पनि केही समयदेखि निर्यात रोकिएका थियो।

‘हामीले रणनीतिअनुसार निर्यात गर्न सकिरहेका छैनौँ। कतै अप्रत्यासित लोड घटेर खेर जाने अवस्थामा मात्र निर्यात गर्ने हो। अर्कोतर्फ भन्ने विषय पूर्वतयारी अनुसार हुँदैन, आन्तरिक माग घटेर खेर जाने अवस्था आएमा मात्र तत्कालै निर्णय गरेर निर्यात गर्छौ,’ घोषले भने।

कति बेला, कस्को लोड कसरी घट्छ भन्‍ने कुरा निश्चित नहुने उनले भनाइ छ।