डिजिटल कारोबारका अन्तर्य : सुरक्षित भुक्तानी कारोबारका लागि सतर्कता अझ आवश्यक

बिजमाण्डू
२०८१ असार २ गते ०६:२७ | Jun 16, 2024
डिजिटल कारोबारका अन्तर्य : सुरक्षित भुक्तानी कारोबारका लागि सतर्कता अझ आवश्यक

नेपाल राष्ट्र बैंकका अनुसार मुलुकमा गत चैतमा क्युआर कोडमार्फत ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा वैशाखमा बढेर ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ लेनदेन भएको छ। एकै महिनामा क्युआर कोडमार्फतको भुक्तानी १५.४८ प्रतिशतले बढेको छ। यसको सोझो अर्थ हो- लेनदेनका लागि कागजी नोट नै चाहिन्छ भनेर अड्को थाप्ने जमाना अब रहेन।

Tata
GBIME

भुक्तानीमा डिजिटल प्रविधिका हामीकहाँ उपलब्ध धैरैथरि माध्यममध्ये क्युआर कोड एउटा हो। मोबाइल बैंकिङ, इ-बैंकिङ, मोबाइल वालेट आदि अरु पनि छन् माध्यम। डिजिटल भुक्तानी कारोबारमा नेपाली अभ्यस्त हुने क्रमसँगै नगद बोक्नैपर्ने बाध्यता जसरी हट्दैछ, त्यसरी नै बैंक तथा वित्तीय संस्था र नियामक निकायमा कारोबारको यो माध्यमलाई अझ सुरक्षित र विशिष्टीकृत गर्दै लैजानुपर्ने दायित्व बढेको छ।

भौतिक मुद्राको उपस्थितिविना नै इन्टरनेट तथा विद्युतीय उपकरणहरु जस्तै मोबाइल, अनलाइन प्रणाली लगायतका विभिन्न भुक्तानीका माध्यमबाट समाजमा हुने लेनदेनहरुलाई सामान्यरुपमा डिजिटल भुक्तानी वा कारोबार भन्ने गरिन्छ। संसारभर डिजिटल भुक्तानीका माध्यमहरुका कारणले परम्परागत लेनदेनका परिपाटीहरुमा परिवर्तनसँगै नवप्रवर्तनमा आधारित वित्तीय सेवाहरुको पहुँच विस्तार र प्रयोगमा तीव्रता आएको छ।

विशेषतः पछिल्लो समयमा बैंकिङ सेवा उपयोगकर्ताहरुमा नगद भुक्तानी पद्धति, रकम प्राप्त गर्ने तरिका, कर्जा लिने तथा बचत गर्ने व्यवहार आदिमा आमूल परिर्वतन आएको छ। बिगतमा पनि डिजिटल भुक्तानीको विकास एवं विस्तार नभएको भने होइन। तर, कोरोनाको कहरका बीचमा स्थापित सामाजिक दुरीमा आधारित नयाँ जीवनशैलीबाट यसको लोकप्रियता ह्वात्तै बढेको हो।

परम्परागत बैंकिङलाई तीव्र गतिमा नयाँ क्षितिजतिर डोर्याइरहेको डिजिटल कारोबारका नवप्रर्वतनहरुले समग्र विश्व अर्थतन्त्रमा नयाँ मोड सृजना गरेका छन्। केही समय अगाडि नगदरहित कारोबारको कुरा गर्दा उडन्ते गफ मान्नेहरु पनि क्रमिकरुपमा आफ्ना आधारभूत आवश्यकता परिपूर्ति डिजिटल कारोबारहरुमार्फत नै गर्न अभ्यस्त बन्नुले यसको लोकप्रियता तथा सहजतालाई प्रष्टाउँछ। लोकप्रियता एवं चलनचल्तीको बाहुल्यतालाई हेर्दा वर्तमान समयमा निम्नानुसारका उपकरणहरु प्रचलनमा रहेका भेटिन्छन्।

  • डेविट कार्ड
  • क्रेडिट कार्ड
  • मोबाइल बैंकिङ तथा वालेटहरु
  • अनलाइन बैंकिङ
  • पियर टु पियर रकम ट्रान्सफर
  • भौतिक सम्पर्कविना नै कारोबार गर्न सकिने कार्डहरु
  • क्युआर कोडमा आधारित भुक्तानीहरु

कारोबारगत सहजता, बढ्दो वित्तीय साक्षरता एवं जागरण आदि जस्ता पक्षहरुका कारणले डिजिटल भुक्तानीको विस्तार एवं विकासमा ऊर्जा थपेको छ भने क्रिप्टो करेन्सीको उदय तथा डिजिटल भुक्तानीका कारोबारहरुकै आधारमा विनाधितो कर्जा सुविधा उपलब्ध हुन सक्ने नवीन प्रयोगहरुले यसको आकर्षण बढेको छ।

डिजिटल भुक्तानी प्रणाली विभिन्न किसिमका प्रविधि, प्लेटफर्म तथा प्रक्रियाको एक इकोस्टिम हुने भएकाले आबद्ध व्यक्ति तथा व्यवसायहरुका प्रयोगगत क्रियाकलापहरु तथा लेनदेनहरुले यसमा समयसापेक्ष अवसर तथा चुनौतीहरु सृजना गरिरहेका हुन्छन्। डिजिटल भुक्तानी प्रणालीमा आबद्ध उपकरण एवं संयन्त्रले निम्नानुसारका पक्षहरुसँगै नियमितरुपमा अन्तरक्रिया गरिरहेका हुन्छन्।

  • प्रयोगकर्ता वा उपभोक्ताहरु
  • उद्यमी, व्यवसायी वा व्यापारीहरु
  • डिजिटल भुक्तानीका उपकरण जारीकर्ता
  • डिजिटल भुक्तानीसँग सम्बन्धित सेवा प्रदायकहरु
  • डिजिटल भुक्तानीका माध्यमबाट रकम प्राप्तिकर्ता

डिजिटल भुक्तानीको संयन्त्रमा संलग्न पक्षहरु बीचमा सञ्चालनगत, कारोबारगत तथा प्रक्रियागत संरचनालाई सुचारु राख्न तथा सृजना हुन सक्ने जोखिमहरु व्यवस्थापन गर्नका लागि नियामक निकायबाट विभिन्न किसिमका नीतिनियमहरु तर्जुमा गरि कार्यान्वयनमा ल्याइएको हुन्छ भने सम्बन्धित सेवा प्रदायकहरुले पनि आफ्ना आन्तरिक प्रयोजनका लागि विभिन्न कार्यविधि, म्यानुअल आदि बनाउने गर्दछन्। चरणबद्धरूपमा डिजिटल भुक्तानीको कारोबारको सुरुवातदेखि समाप्तिसम्मका गतिविधिहरु नियाल्दा मुख्यरुपमा निम्नानुसारका क्रियाकलापहरु समावेश भएका देखिन्छन्। 

  • सुरुवातः ग्राहकले जब वस्तु तथा सेवाहरु खरिद गरि रकम भुक्तानी गर्दा डिजिटल भुक्तानीका उपकरणहरु जस्तै डेविट-क्रेडिट कार्ड, क्युआर कोड, मोबाइल बैंकिङ आदि प्रयोग गर्ने गर्दछन्। त्यसपछि चलनचल्तीमा भुक्तानीको प्रथम क्रियाकलापको सुरुवात हुने गर्छ।
  • प्रमाणीकरणः डिजिटल भुक्तानीको उपकरणमार्फत प्रयोगकर्ताले सुरु गरेको भुक्तानी आदेशलाई भुक्तानी दिने पक्षको खातामा रहेको रकम पर्याप्तता तथा कारोबारगत सुरक्षा प्रणाली आदि तथा भुक्तानी प्राप्त गर्ने पक्षको विवरणहरु सम्बन्धित बैंक तथा सेवा प्रदायकहरुका प्रणालीमार्फत प्रमाणीकरण हुने गर्दछ। पूर्वनिर्धारित सर्तहरु जस्तै- नगद मौज्दात पर्याप्त नहुनु, पिन नम्बर वा गोप्य सूचनाहरु गलत हुनु, भुक्तानी प्राप्त गर्नेको विवरण मेल नखानु आदि जस्ता कुराहरुले भुक्तानीको आदेश प्रमाणीकरणमा बाधा सृजना भइ इच्छित कारोबारहरु सफल हुन सक्दैनन् भने आवश्यक सर्तहरु प्रमाणीकरण भएपछि भुक्तानी प्रक्रियाले अर्को चरणमा प्रवेश पाउँछ।
  • प्रशोधनः कारोबारको प्रमाणीकरण भइसकेपछि आबद्ध भुक्तानी नेटवर्क वा प्रोसेसरले डिजिटल भुक्तानीको सुरुवातकर्ता वा आवेदनकर्ताको खाता डेविट गरि आवश्यक लेनदेन प्रक्रिया सुरु गर्ने गर्दछ। विशेषतः आवेदनकर्ता, बैंकहरु, भुक्तानी नेटवर्कहरु, व्यापारी तथा सेवा प्रदायकहरुसहित विभिन्न पक्षहरु बीच हुने सञ्चार एवं समन्वयहरु यस प्रक्रियामा समावेश हुन्छन्। यस्ता समन्वय तथा सञ्चारहरु प्रायः स्वचालित पद्धतिमा आधारित हुने गर्दछन्।
  • रकमान्तरणः यस चरणमा भुक्तानीकर्ताको बैंक खातामा रहेको नगदलाई सम्बद्ध रकम प्राप्तिकर्ताको खातामा स्थानान्तरण गर्ने कार्य समावेश हुने गर्दछ। रकमान्तरण गर्ने प्रक्रिया, पद्धति तथा समयमा एकरुपमा ल्याउन सम्बन्धित सेवा प्रदायकहरुले विभिन्न नियमहरु बनाएका हुन्छन् भने नियामक निकायले पनि निश्चित मापदण्ड कायम गरिदिएको हुन्छ।
  • पुष्टीकरणः कारोबारको रकम रकमान्तर भइसकेपछि रकम पाउने तथा दिने दुवैले आफ्ना खाताहरुमा भुक्तानी दिने तथा पाउने रकम आए नआएको परीक्षण गरि विद्युतीय कारोबारको पुष्टीकरण गर्ने गर्दछन्।

माथिका यी चरणहरु यति छिटो सम्पादन हुने गरि स्वचालित बनाइएको हुन्छ की डिजिटल भुक्तानीकर्ताले सम्बन्धित उपकरणमार्फत भुक्तानी आरम्भ गर्दावित्तिकै एसएमएसमार्फत आफ्नो बैंक खातामा रकम घटेको जानकारी पाउँछ भने रकम प्राप्तिकर्ताले पनि उत्तिनै खेर आफ्नो खातामा रकम प्राप्त भएको सन्देश प्राप्त गर्दछ।

बिङ एआईबाट जेनेरेट गरिएको तस्बिर।

कतिपय आबद्ध नेटवर्कहरुमा देखिने समस्याहरुका कारणले पहिला कारोबार हुने पछि सन्देश जाने त कहिले सन्देश आउने रकम पछि मात्रै प्राप्ति हुने जस्ता प्रवृत्तिहरु समेत देखिन सक्छन्। डिजिटल भुक्तानीमा आबद्ध भुक्तानीकर्ता तथा रकम प्राप्तकर्ता बीचमा देखिन सक्ने विवादहरुको निदान गर्नका लागि पनि बैंक वा सेवा प्रदायकहरुले छुट्टै संयन्त्रसमेत विकास गरेका हुन्छन्। जसका लागि पीडित पक्षले आफ्नो बैंक वा सेवा प्रदायकलाई समक्ष निवेदन दिई आवश्यक समाधान खोज्न सक्छन्।

विद्युतीय भुक्तानीलाई सहज एवं लोकप्रिय बनाउन विभिन्न किसिमका प्रविधिहरुले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। पछिल्लो समयमा अधिक प्रचलनमा रहेका प्रविधिहरु यस्ता छन्। 

  • यन्त्रिक सिकाइ तथा कृत्रिम बौद्धिकताः डिजिटल भुक्तानीमा आबद्ध लेनदेनका ढाचा तथा धोखाघडी निगरानी गर्न, व्यवहारको विश्लेषणमार्फत प्रयोगकर्ताहरुको सकरात्मक अनुभव प्रवर्धन गर्ने सबालमा विशेषतः यन्त्रिक सिकाइ तथा कृत्रिम बौद्धिकता(एआई)को अधिकतम प्रयोग भएको पाइन्छ।
  • निकट क्षेत्र सञ्चार (एनएफसी) : कोरोनाको कहरबाट स्थापित सामाजिक दुरीको अभ्यासकै बीचमा लोकप्रियता हासिल गरेको एनएफसी प्रविधिमा आधारित भुक्तानी पद्धतिले नजिकमा रहेका यन्त्रहरुसँग डिजिटल भुक्तानीको उपकरणले सुरक्षितरूपमा सञ्चार स्थापित गरि कन्ट्याक्टलेस लेनदेनलाई सम्भव बनाएको छ। वर्तमान समयमा हामीहरुले डेविट कार्डबाट ५,००० हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पोस मेसिनमा पिन नम्बर टाइप गर्न नपर्नुको कारण पनि एनएफसी प्रविधि नै हो।
  • चुम्बकीय सुरक्षित प्रसारण (एमएसटी) : यो एक किसिमको कन्ट्याक्टलेस भुक्तानीमा आधारित डिजिटल भुक्तानीको विकल्प हो। जसमार्फत स्मार्टफोन जस्ता यन्त्रहरुले कार्डमा जडित चुम्बकीय स्ट्रिपको जस्तै सञ्चारको संकेत सृजना गरी भुक्तानीलाई सम्भव बनाउने गर्दछ। यसबाट प्रयोगकर्ताहरुले चुम्बकीय स्ट्रिपमा र चिपमा आधारित कार्डहरुले जस्तै कारोबारहरु आफ्नो मोबाइल फोनबाट सजिलै गर्न सक्छन्। नेपालमा पनि विभिन्न बैंकहरुले कार्डरहित भुक्तानीको स्वरुपमा यो पद्धतिलाई भित्र्याइसकेका छन्।

डिजिटल भुक्तानीको कारोबारगत आयतन तथा नवप्रवर्तन दैनन्दिन बढ्दो छ। यन्त्रिक सिकाइ, कृत्रिम बौद्धिकता, प्रयोगकर्ताहरुमा देखिएका जीवनशैलीगत परिवर्तन आदिले आगामी दिनमा डिजिटल भुक्तानीको परिपाटीलाई झनै विशिष्टिकृत गर्दै लैजाने देखिन्छ। जसबाट तलका प्रवृत्तिहरुको विकास एवं विस्तारमा झन दबाब सृजना हुने छ।

  • वास्तविक समय भुक्तानीः चौबिसै घण्टा सातै दिन अनवरत कारोबार भइराख्ने तथा तुरुन्तै कारोबारको रकम प्राप्ति हुने पद्धतिको विकास अबका दिनमा अझै प्रभावकारी हुँदै जाने देखिन्छ। यसबाट परम्परागत बैंकिङका मापदण्डहरु पुनः परिभाषित हुनेछन्। जसबाट सञ्चालनगत अभ्यासहरुलाई सरलीकृत गर्दै लैजानु पर्ने हुन्छ भने व्यवसायीहरुले आफ्नो नगद प्रवाहलाई अनुकूल बनाउने नौलो अनुभव तथा अवसर प्राप्त गर्ने छन्।
  • खाता बाट खातामा भुक्तानी (ए टु ए) : विद्युतीय भुक्तानीको अभ्यासलाई विविधीकरण गर्न तेस्रो पक्ष र बैंकहरु बीचमा अनुप्रयोग प्रोगामिङ इन्टरफेस (एपीआई) को माध्ययमबाट सूचनाहरु आदानप्रदान गर्ने खुला बैंकिङको अभ्यासमा आएको बढोत्तरीले विशेषतः खाताबाट खातामा सोझै भुक्तानीका प्रवृत्तिहरुमा उल्लेखनीयरूपमा वृद्धि गराउने छ। यसमा देखिएको मितव्ययी प्रवृत्ति, छरितोपन, जोखिम प्रतिरोधिता आदि जस्ता पक्षहरुलाई हेर्दा अबका दिनमा लेनदेनको वर्तमान पद्धतिमा एक नयाँ उचाइ कायम हुने देखिन्छ।  
  • केन्द्रीय बैंकका डिजिटल मुद्राः केन्द्रीय बैंकबाट जारी गरी प्रचलनमा ल्याउने देशको राष्ट्रिय मुद्राको डिजिटलस्वरुप यस अन्तर्गत पर्ने गर्दछ, जुन केन्द्रीकृत हुनुका साथै वैध पनि हुने गर्दछ। वित्तीय समावेशिता प्रवर्धन गर्ने, लेनदेन लागत कम गर्ने तथा मौद्रिक नीति कार्यान्वयनमा प्रभावकारिता थप गर्ने भएकै कारणले वर्तमान समयमा यी विधिले लोकप्रियता हासिल गरिरहेका छन्। विद्युतीय भुक्तानीको विस्तारमा रफ्तार ल्याउनमा केन्द्रीय बैंकका डिजिटल मुद्राहरुले आगामी दिनमा अझै अहम् भूमिका खेल्ने देखिन्छ। 
  • बायोमेट्रिक प्रमाणीकरणः डिजिटल भुक्तानीसँग सम्बन्धित कारोबारहरु प्रमाणीकरणका लागि आवश्यक गोप्य सूचना (पिन कोड, पासवर्ड)हरु क्रमिकरुपमा उपकरणहरुमा अंगुठाको छाप लगाउने, अनुहार तथा आवाज पहिचान जस्ता बायोमेट्रिक प्रमाणीकरणका विधिहरुद्धारा प्रतिस्थापित हुँदै छन्। सहजता तथा सुरक्षाको सबालमा बायोमेट्रिक प्रमाणीकरण पद्धति अब्बल रहने भएकै कारण अबका दिनमा डिजिटल भुक्तानीमा यो क्रमिकरुपमा हाबी हुँदै जाने देखिन्छ।
  • अन्तर्निहीत वित्तीय सेवाहरुः  डिजिटल भुक्तानीको विविधीकरण तथा विस्तारसँगै एकीकृत वित्तीय सेवाहरुलाई विभिन्न प्रकारका गैरवित्तीय प्लेटफर्महरु जस्तै ई-कमर्स वेबसाइट, राइड सेयरिङ एप, मोबाइल भुक्तानी एप, सोसल मिडिया प्लेटफर्म आदि समावेश गरि रणनैतिक व्यावसायिक गठबन्धन बनाउने प्रवृत्तिहरु आउदो दिनहरुमा बढ्दै जान सक्छन्। यस्ता प्रबन्धहरुबाट उपभोक्ताहरुले जीवनशैलीमा आधारित विभिन्न किसिमका वित्तीय तथा गैरवित्तीय सेवाहरु एउटै प्लेटफर्मबाट उपयोग गर्न सक्ने नौलो प्रकारको इकोसिस्टमको विकास हुँदै जाने देखिन्छ।
  • जोखिममा नयाँ स्वरुपहरुः वर्तमान समयमा वित्तीय अपराधमा संलग्न व्यक्तिहरुले फिसिङ, भिसिङ, टाढैबाट पहुँच, नगद भुक्तानीका झुठा आश्वासन, पहिचानगत जोखिम आदि जस्ता क्रियाकलापहरुबाट गर्ने धोखाघडीहरुलाई बढाउदै लैजान सक्छन्। बढ्दो डिजिटल कारोबार तथा प्रयोगकर्ताहरुमा देखिन सक्ने अन्योललाई आधार बनाइ धोखाघडीका नयाँ उपायहरु विकास गर्न सक्ने देखिन्छ।

समय सापेक्ष विकास एवं विस्तारको तीव्र गतिमा अगाडि बढिरहेको डिजिटल भुक्तानीको विकास एवं विस्तारलाई थप प्रभावकारी बनाउन संलग्न सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आन्तरिक संचालनगत तथा प्राविधिक सबलतालाई सतर्कतापूर्वक ध्यान दिनुपर्छ।

प्रणाली पुनरावलोकन एवं अद्यावधिक गरेर विद्यमान नियामकीय व्यवस्थाहरुको विवेकशील अनुपालनको सुनिश्चिता गर्दै वित्तीय साक्षरता प्रर्वद्धनमा सक्रियरुपमा लाग्नु पर्ने देखिन्छ। प्रयोगकर्ताहरुले सम्भावित जोखिमहरुबाट बच्न डिजिटल भुक्तानीमा आधारित कारोबारहरु गर्नुपूर्व अत्यन्तै चनाखो हुनु आवश्यक छ।

(उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)