तयारी पोसाक उद्योगलाई दक्ष जनशक्ति अभाव, पर्याप्त कामदार नहुँदा कम क्षमतामा चल्दै

सरला सुवेदी
२०८१ असार १ गते १५:२५ | Jun 15, 2024
तयारी पोसाक उद्योगलाई दक्ष जनशक्ति अभाव, पर्याप्त कामदार नहुँदा कम क्षमतामा चल्दै

काठमाडौं। तयारी पोसाक (गार्मेन्ट) उद्योगहरूमा दक्ष जनशक्तिको अभाव हुन थालेको छ। कोभिडले चलायमान बनाएका उद्योगहरूमा दक्ष जनशक्ति पलायन हुन थालेपछि अभाव भएको हो।

Tata
GBIME
NLIC

नेपालका तयारी पोसाक उद्योगहरूमा स्वदेशीसँगै भारतीय कालिगढले काम गर्दै आएका थिए। कोभिड महामारी प्रभावित वर्षहरूमा विदेशबाट आयातमा ढिलाइ हुँदा र उधारो कारोबार समेत हुने भएपछि व्यवसायीले स्वदेशी गार्मेन्टमा उत्पादन बिक्री गर्दै आएका थिए।

चाडपर्वमा तयारी लुगा-कपडा खपत बढी हुने भएकाले गार्मेन्टहरूमा असार-साउनदेखि अर्डर आउने गरेको थियो। यसपटक पुराना र दक्ष कालिगढहरू धैरै जना वैदेशिक रोजगारीमा गएपछि दक्ष जनशक्तिको अभाव भएको स्थानीय गार्मेन्ट संघका अध्यक्ष किशोर नेपालले बताए।

‘बजारबाट माग आइरहेको छ तर हामीसँग काम गर्ने दक्ष कामदारको अभाव छ,’ उनले भने। ठूला चाडपर्वको समय सुरु हुन तीन महिना बाँकी छ। यसपटक दक्ष कामदार अभावले अर्डरअनुसार काम गर्न उद्योगीहरूलाई गाह्रो परिरहेको उनले बताए।

उनका अनुसार स्थानीय गार्मेन्टहरूमा कामदारको संख्या घट्दै गएका छन्। ‘उद्योगहरूमा पहिलाभन्दा करिब ५० प्रतिशत मात्र कामदार छन्,’ अध्यक्ष नेपालले भने। उनका अनुसार ठूला उद्योगहरूमा ५ सयभन्दा बढी कालिगढले काम गर्दै आएका थिए।

‘अहिले सबै कारखानामा कालिगढको अभाव छ। धेरैले छोडेर जान थालेपछि यस्तो अवस्था आएको हो,’ उनले भने। कारखानाहरूले कामदार टिकाउन बस्ने-खाने सुविधा पनि दिने गरेका छन्। तर, घर गएका भारतीय कामदारमध्ये धेरै फर्किएनन्, स्वदेशी कामदार पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि उत्पादन नै प्रभावित भइरहेको छ।

उद्योगीहरूका अनुसार बजारमा उधारो बढ्दा केही उद्योगमा कामदारले तलबसुविधाको भुक्तानी पाउन ढिलाइ हुँदै आएको थियो। तलब ढिला हुन थालेपछि बिदामा घर गएका भारतीय कामदार निकै कम मात्रै पुनः काममा फर्किए।

संघका अनुसार मुलुकमा कानुनी रुपमा दर्ता भएका तयारी पोसाक उद्योग करिब तीन सय वटा छन्। दर्ता नभएका साना गार्मेन्टहरू एक हजारभन्दा बढी रहेको संघले जनाएको छ। कोभिडको समयमा चिनियाँ कपडाको आयात कम भएपछि स्वदेशी गार्मेन्टहरूले राम्रो अवसर पाएका थिए। बजारमा ९० प्रतिशत स्वदेशी उत्पादन कपडा नै बिक्री हुन्थ्यो।

बजारमा कपडाको माग भएपछि एउटा सटरमा ५ वटासम्म मेसिन राखेर काम गर्ने साना गार्मेन्टहरू धेरै खुलेका थिए। अहिले  काम नपाएर सिजनअनुसार मात्र गार्मेन्टस संचालन हुँदै आएका छन्। थोरै लगानीमा सञ्चालित गार्मेन्टहरूले ठूला उद्योगलाई अर्डर अनुसारको लुगा तयार गर्न सघाउने गरेका छन्।

थ्रेड गार्मेन्टसका संचालक कृष्णराज तिमिल्सिनाका अनुसार जनशक्तिको अभावले गार्मेन्ट उद्योगहरू कम क्षमतामा चलिरहेको बताए। ‘ठूलो परिमाणमा कपडाको अर्डर आएको छैन। आएको खण्डमा पनि उत्पादन गरेर दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘बजारमा अझै आर्थिक मन्दी छ। खुद्रा बजारमा कारोबार राम्रो देखिए पनि थोक बजारमा व्यापार निकै कम छ।’

उनका अनुसार तयारी पोसाक उद्योग क्षेत्रका करिब ५० प्रतिशत कामदार पलायन भएका छन्। थोरै जनशक्तिले उद्योग मुस्किलले चलिरहेको उनले बताए।

‘भारतीय कालिगढहरू आउन छाडेका छन्। यहाँ भएका कालिगढहरूको माग धेरै छ,’ उनले भने। यसले गर्दा हाल संचालनमा रहेका गार्मेन्टहरूले उत्पादनको साटो आयात व्यापारमा सिफ्ट हुनुपर्ने अवस्था देखिन थालेको उनले बताए।

उद्योगीहरूका अनुसार एकातिर पर्याप्त संख्यामा दक्ष कामदार नहुनु, अर्कातिर कपडा पनि महँगो हुँदा तयारी पोसाक उद्योग दोहोरो मारमा परेको छ। ‘हामीलाई चाहिने कपडाको आयातमा भन्सार दरबन्दी बढिरहँदा उत्पादन लागतमै प्रभाव परेको छ,’ उनले भने, ‘महँगो भए नबिक्ने, सस्तो दिनै नसकिने अवस्थाले अर्डर घट्दै छन्।’

महिलालाई तालिम दिँदै

कामदार अभाव टार्न स्थानीयस्तरमा जनशक्ति उत्पादनको प्रयास पनि भइरहेको छ। यसका लागि उद्योग आसपासका महिलालक्षित सिलाइबुनाइको तालिम संचालन भइरहेको स्थानीय गार्मेन्ट संघले जनाएको छ। 

अबको करिब दुई वर्षमा स्वदेशी दक्ष जनशक्ति तयार गर्नलाई मुलुकका विभिन्न क्षेत्रका महिलालक्षित सिलाइबुनाइ तालिम दिन थालिएको अध्यक्ष नेपालले बताए।