
काठमाडौं। अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टेड ५ उम्मेदवारहरुलाई अन्तर्वार्ता र व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाएको छ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले छनोट सूचीमा परेकाहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि आइतबार बोलाएको हो। धितोपत्र बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको व्यवसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ता असार २ गते आइतबार बिहान ९ बजेबाट राष्ट्रिय योजना आयोगको सभाहलमा संचालन हुने जारी सूचनामा उल्लेख छ।
अध्यक्षका लागि आवेदन दिएकामध्ये गत चैत २५ मा जारी सूचनाअनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ ‘सर्ट लिस्टेड’ भएका थिए। अब उनीहरुलाई अन्तिम अन्तर्वार्ताका लागि बोलाएर ३ जनाको नाम छनोटको तयारी छ। जसमध्ये एक जनालाई सरकारले नियुक्ति दिनेछ।
अध्यक्ष नियुक्तिका लागि उम्मेदवार छनोटको प्रक्रिया अघि बढेपछि अर्थमन्त्री वर्षमान पुनले रोकेका थिए। त्यसयता गत पुस २० मा रमेशकुमार हमालको कार्यकाल सकिएदेखि बोर्ड अध्यक्षविहीन छ। यसले आइपीओ निष्कासन, एफपीओ, ऋणपत्र, हकप्रदलगायत धितोपत्रका अनुमति प्रक्रिया रोकिएका छन्।
नेतृत्वदायी पद सरकारले खाली राख्दा धितोपत्र बजार प्रभावित भएर आलोचना हुन थालेपछि दुई साताअघि मन्त्री पुनले बोर्डमा मन्त्रालयबाट सहसचिव नरेन्द्रकुमार रानालाई पठाएका छन्।