
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकारले आइटी क्षेत्रमा लगाएका करका दर ५ वर्षसम्म हेरफेर नगर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा उनले सूचना प्रविधि क्षेत्रका करका दर नचलाउने प्रतिबद्धता नै जनाए।
आर्टिफिसियल इन्टेलिजेन्स निर्माणले स्वयं संस्थापकहरु डराइरहेको अवस्थामा यसको उपयोग गर्दै मानव सभ्यता विकासमा लगाउनुपर्ने उनले बताए। सम्मेलनलाई सम्बोधन गर्दै उनले एआइको बढ्दो प्रयोगमा सतर्कता जरुरी रहेको औंल्याए।
एआई निकै चुनौतीपूर्ण आविष्कार भएको बताउँदै मानव जीवनलाई सहज बनाउन यसको उपयोग गर्नुपर्ने उनले बताए। सैन्य लगानी बढी भएका र शक्ति राष्ट्रहरुले एआइलाई प्रतिष्पर्धी रुपमा प्रयोग गर्दा यसले मानवतालाई नै संकटमा पुर्याउने त होइन भन्ने संशय व्यक्त गरे।
विश्वमा मान्छेभन्दा मेसिनमार्फत लडाई गर्ने क्रममा एआईको दुरुपयोग रोक्नुपर्ने चुनौती आउन सक्ने बताए। पाँचौं चरणको आर्थिक क्रान्तिको रुपमा सूचना प्रविधिको विकासलाई व्याख्या गर्दै अर्थमन्त्री पुनले यसैको उपयोग गरेर नेपालले पनि समृद्ध रास्ट्रहरुलाई भेटाउने सक्ने बताए।
आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधिलाई प्रोत्साहन गर्ने महत्त्वाकांक्षी नीति लिएको उनले स्मरण गराए।